कोरोना भाइरस सङ्क्रमितको ग्राफ दैनिक दुई हजारमाथि पुगेको छ । यो शुभ सङ्केत होइन । नेपालीको महान् चाड दशैं, तिहार नजिक आउँदै छ । बजारमा चहल–पहल र भीडभाड बढ्दो छ । सावधानी अपनाउनेतर्फ धेरैले ध्यान दिएको देखिँदैन । अझ किनमेल गर्ने दिनहरू नजिकिँदै छन् । यस्तो बेलामा थप सङ्क्रमित बढ्ने निश्चित छ । यो बेलामा नागरिक नै सचेत नहुने हो भने कोरोना भाइरस सङ्क्रमणको दर कम्तीमा डेढ गुणा नबढ्ला भन्न सकिन्न । सरकारले लकडाउन खोलेलगत्तै दुई अङ्क हुँदै तीन र अहिले चार अङ्कमा कोरोना सङ्क्रमित बढेका छन् । साउन ७ गतेयता सरकारले लकडाउनलाई पूर्णतः खुल्ला गरेको छ । अझ असोज ५ गतेदेखि सवारी साधन पनि खुल्ला गरिए । जसको परिणाम अहिले हरेक शहरमा कोरोना सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेको छ । अझै कति बढ्ने हो, निश्चित छैन । नेपालले चीन र जापानलाई समेत उछिनिसकेको अवस्था छ । हाम्रो जस्तो ३ करोड १५ लाख जनता भएको मुलुकमा करिब एक लाख नजिक सङ्क्रमित पुग्नु ठूलै विषय हो ।
लकडाउन विकल्प होइन भन्ने कुरा बारम्बार विज्ञहरूले बताउँदै आइरहेका छन् । तर, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २५ हजार सक्रिय सङ्क्रमित भएको अवस्थामा पुनः लकडाउन गरेर जानुपर्ने विषय उठाउँदै आइरहेको छ । अहिले झण्डै २२ हजारको हाराहारीमा सक्रिय सङ्क्रमित रहेका छन् । स्वास्थ्य मन्त्रालयले तोकेको आँकडा पुग्न अब केही दिन पनि लाग्दैन । अब फेरि लकडाउन गरेर देशलाई थप आर्थिक व्ययभारमा पार्न सरकार चाहँदैन । यस्तो अवस्थामा नागरिक नै पहिलो शर्तमा सचेत हुनुपर्ने देखिन्छ । भौतिक दूरी कायम गरेर आफूलाई कुनै आवश्यकीय सामग्री चाहिएको अवस्थामा मात्रै बाहिर निस्कने हो भने मात्रै केही हदसम्म कोरोनालाई जित्न सकिएला । अहिले त सरकारले पनि स्वाब सङ्कलनका लागि चाहिने किट र रिएजेण्ट अभाव भएको भन्दै आपूर्ति नगर्दा तोकिएका अस्पतालमा आफै खर्च गरेर पीसीआर परीक्षण गर्नुपर्ने अवस्था छ । यस्तो बेलामा नागरिक सुरक्षित रहनुको विकल्प छैन । अहिले जसरी भुसको आगोजस्तै कोरोना फैलिँदै गएको छ, यसमा सरकारभन्दा पनि नागरिकको भूमिका अहम् हुन सक्छ । नागरिकहरूले जथाभावी रूपमा हिँडडुल गर्ने कार्यलाई रोक्नुपर्छ ।
अहिले कोभिड अस्पतालहरूमा पनि उपचारमा त्यति चासो देखाइएको देखिँदैन । जसले गर्दा बिरामीहरू मृत्युको मुखमा पुगिरहेका छन् । कोरोनाका बिरामीलाई चिकित्सकहरूले पनि उपचार गरिरहेको पाइँदैन । अवस्था गम्भीर हुँदा मात्रै उपचार गरेजस्तो गर्ने प्रवृत्ति चिकित्सकहरूमा छ । यता दैनिकजसो बिरामी बढ्ने कारण आइसोलेसन तथा क्वारेण्टिनको अभाव उस्तै छ । जसले गर्दा कोरोना सङ्क्रमितहरू घरघरमै आइसोलेसनमा बस्नुपर्ने अवस्था छ । यही अवस्था रहे भोलि थप विकराल अवस्था नआउला भन्न सकिन्न । हरेक दिन दुई अङ्कमा मृत्यु भइरहेको छ । कोरोनाबाट मृत्यु हुने अवस्था दिनानु दिन बढिरहँदा पनि सचेतता अपनाइएको पाइँदैन । तीनै तहका सरकारले पनि यो बेलामा कुनै निर्णय गरेको देखिँदैन । केन्द्रीय सरकारले २५ हजार सक्रिय सङ्क्रमित भएको अवस्थामा मात्रै लकडाउन गर्नुपर्नेतर्फ सङ्केत गरेको छ । तर, कम्तीमा स्थानीय सरकारले आफ्नो ठाउँको अवस्थालाई मध्यनजर गरेर लकडाउन या अन्य कुनै विकल्पहरू खोजी गरिनुपर्छ । नागरिकलाई अतिआवश्यकीय कामबाहेक बाहिर ननिस्कनका लागि उर्दी जारी गरिनुपर्छ । सुनसरीमै दैनिक कोरोना सङ्क्रमितको सङ्ख्या बढिरहेको छ । यो नियन्त्रणबाहिर जाने अवस्थामा छ । चाडपर्व नजिक आइरहेको सन्दर्भमा थप सङ्क्रमित बढ्ने देखिन्छ । यस्तो बेलामा अहिले नै सजगता अपनाइएन भने भोलि थप जटिलता आउने निश्चित छ । त्यसैले पनि स्थानीय सरकार ‘अलर्ट’ हुनुका साथै जनतालाई ‘अलर्ट’ गराउन आवश्यक देखिन्छ ।