प्रा.डा. ज्ञानेन्द्र गिरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिको रूपमा नियुक्त भएको करिब ६ महिनामात्र भएको छ । प्रतिष्ठानको बेथितिलाई सुधार्ने जिम्मा पाएका गिरीले अपनाएको रवैयाका कारण आफ्नो कार्यकालको प्रारम्भिक चरणमै विवाद र आर्थिक अनियमितताको शङ्काको घेरामा परेका छन् । प्रतिष्ठानको इतिहासमै सायद पहिलो पटक ३ सयजनाको सङ्ख्यामा रहेको फ्याकल्टी चिकित्सकहरूले सामूहिक रूपमा उपकुलपति गिरीको राजीनामा माग गरेका छन् । उनले राजीनामा नदिए आफूहरूले एकसाथ सामूहिक राजीनामा दिने चेतावनी पनि दिएका छन् । कोभिडको महामारीमा यतिबेला प्रतिष्ठानमा फ्याकल्टी चिकित्सकहरूको दैनिक आन्दोलन चलिरहेको छ । उपकुलपति गिरी कोरोना सङ्क्रमित भएकाले आफ्नै क्वार्टरमा आइसोलेट भएर बसेको करिब १२ दिन बितेको छ ।
प्रतिष्ठानका सिनियर चिकित्सकहरूको छातासंस्था चिकित्सा तथा दन्तचिकित्सा कल्याण समाजमा आबद्ध चिकित्सकहरू अढाई वर्षदेखि रोकिएको बढुवा प्रक्रिया सुरु गर्नुपर्ने, सरकारले वृद्धि गरेको तलब उपलब्ध गराउनु पर्ने माग राखेर दैनिक आन्दोलनमा उत्रिएका छन् । चिकित्सक समाजले माग गरेका सबै बुँदा प्रतिष्ठानको हितमा छ तर, उपकुलपतिले चासो नै नदिएपछि राजीनामासमेत मागिएको हो । समाजले सरकारले दिएको निर्देशनअनुसार सर्वसाधारणको हितमा हुने गरी प्रतिष्ठान आफैले औषधि बिक्री कक्ष फार्मेसी सञ्चालन गर्नुपर्ने, चिकित्सकहरूलाई दिइने नियमित टिचर्स ट्रेनिङ र रिसर्च ट्रेनिङको कार्यक्रम जारी राख्नुपर्ने, प्रतिष्ठानबाट निस्कने मेडिकल फोहोरमैलालाई वैज्ञानिक रूपमा व्यवस्थापन गर्नुपर्ने माग राख्नु सोह्रैआना जायज हो । यस्तै समाजले प्रदेश १ र २ बाट बिरामी रिफरल हुनेगरी सरकारले बनाएको रिफरल चेनलाई चुस्तदुरुस्त पार्नुपर्ने, कोभिड अस्पतालमा नेगेटिभ प्रेसर आइसियु, प्रयोगशाला, रेडियोलोजी र अप्रेसन कक्षसहितको स्वास्थ्यकर्मी तथा बिरामीको यथेष्ट सुरक्षाको प्रत्याभूति हुनुपर्ने, हरेक महिना फ्याकल्टीसँग शुल्क असुल्न नबिर्सने प्रशासनले आवासको नियमित मर्मत नगरी उठाएको शुल्कको खर्च पारदर्शी हुनुपर्ने पनि माग राखेका छन् ।
कुनै पनि मेडिकल कलेज, युनिभर्सिटी वा प्रतिष्ठानजस्तो स्वास्थ्य शैक्षिक संस्थामा फ्याकल्टी शिक्षक, चिकित्सक प्रमुख मेरुदण्डको रूपमा लिइन्छ । तर, अढाई वर्षदेखि बढुवा प्रक्रिया नै रोकेर राख्दा उनीहरू सँंगैका अन्य स्वास्थ्य शैक्षिक संस्थाका समकालीन चिकित्सकहरू प्रोफेसर वा माथिल्लो स्तरमा बढुवा भइसकेका हुन्छन् । यता प्रतिष्ठानको उपकुलपतिको रवैयाले सामान्य बढुवा प्रक्रिया सुरु नगर्दा चिकित्सकहरूको करिअर, आर्थिक, सामाजिक, शैक्षिक क्षेत्रमा पनि असर पर्ने हन्छ । तर, उपकुलपति गिरी भने मनोमानीरूपमा आफू अनुकूलका कर्मचारीलाई मेडिकल उपकरण बिक्री वितरण गर्ने माफियाको सेटिङमा सरुवा गर्ने, प्रतिष्ठानको नियमावलीमै नभएको पद सिर्जना गरेर जागिरका लागि नियुक्ति दिने, सेटिङमा असहमति राख्ने कर्मचारीलाई दबाव दिएर अर्कै विभागमा पठाउने जस्ता काममा मात्र व्यस्त देखिएका छन् । प्रतिष्ठानलाई दुहुनो गाई बनाउन आएका हुन् भने चिकित्सक समाजले मागेको राजीनामालाई जायज मान्न सकिन्छ । प्रतिष्ठान धराने जनताले २७ वर्षअघि अनेक पटक आन्दोलन गरेर स्थापना भएको हो । कुनै पदाधिकारीले प्रतिष्ठानलाई कमाइखाने भाँडो बनाउँछ भने चिकित्सक समाजसँगै स्थानीय सरोकारवाला, बुद्धिजीवी, जनप्रतिनिधि र धरान उपमहानगरपालिका मौन भएर कहिलेसम्म बस्ने ?