कोरोनाको महामारीले जनजीवन मात्र होइन, व्यापार–व्यवसाय, उद्योगधन्दा, यातायातदेखि आर्थिक रोजगार र शैक्षिक क्षेत्रमा पनि उत्तिकै प्रभाव पारेको छ । नेपालमा शैक्षिक क्षेत्र एउटा उद्योग व्यवसायको रूपमा फस्टाएकोबेला कोरोनाले चौपट बनाएको छ । प्रविधिमैत्री केही संस्थागत स्कुलहरूले अनलाइनमार्फत् पठन–पाठनलाई निरन्तरता दिने प्रयास जारी राखेका छन् । विद्यार्थी वा अभिभावकसँग इन्टरनेट, ल्यापटप, स्मार्ट मोबाइल नहुनाले यस्तो पठन–पाठन प्रभावित भएको छ । जुम, स्कुल एप्स वा ई–डिजिटल नेपालसँग लिङ्क गर्न नजान्नु व्यक्तिगत समस्या त छँदैछ, त्यसमाथि नेपालमा यो अनलाइन शिक्षा नौलो पनि हो । सरकारले शैक्षिकसंस्था सञ्चालन गरिहाल्ने आँट गरेको छैन । कतिपय जिल्लाका विद्यालयहरूले पठन–पाठन सुरु गर्ने भने पनि प्रशासनले दिएको छैन । यो अवस्थामा अनलाइन कक्षा विद्यार्थीहरूलाई पाठ्यपुस्तक हेर्ने बानी बसाल्ने शिक्षकसँग भर्चुअलरूपमा भए पनि सानो प्रयास भने भएको छ । तर, अभिभावकहरू बोर्डिङ स्कुलद्वारा सञ्चालित अनलाइन कक्षा लिएबापत शुल्क नतिर्ने भनिरहेका छन् । खासमा अनलाइन शिक्षा प्रभावकारी नभएको भन्दा पनि अहिलेको बहस स्कुल नलाग्दा किन शुल्क तिर्ने भन्ने नै हो ।
बोर्डिङ स्कुलहरू नाफामुखी व्यावसायिक शैक्षिक संस्था हुन् । ती संस्थाहरूले अर्काको विद्यार्थीलाई अनलाइनमार्फत् पढाए सिकाए बापत शुल्क असुल्ने त हरप्रयास गर्छन् नै । अरूबेला जस्तो शुल्क लिने कि त्योभन्दा फरक परिस्थिति भएकाले कम लिने भन्ने पनि सोचिनु पथ्र्यो । तर, बोर्डिङ स्कुलहरूले पहिलेकै जसरी शुल्क असुल गर्ने प्रयास गर्नु बेइमानी हुन्छ । हुन त अनलाइन कक्षा भए पनि शिक्षकलाई तलब, भत्ता आदि सुविधा त दिनै प¥यो । व्यावसायिक शैक्षिक संस्था भएकाले शिक्षकलाई दिने रकम विद्यार्थीबाटै असुल्न खोज्नु कुनै अनौठो होइन । अब रह्यो अनलाइन शिक्षा प्रभावकारी नभएको भन्ने विषय । हो, नेपालमा यो विल्कुलै नयाँ अवधारणा भएकाले कोरोनाको महामारी र त्रासका बीच सुरु भएको बेला प्रभावकारी हुन्छ भनेर अभिभावकले अपेक्षा गर्नु बेकार छ । हालैमात्र युनिसेफले बालबालिका तथा परिवारबारे गरेको अध्ययन प्रतिवेदन अनुसार स्कुल जाने १० मध्ये ३ बालबालिकाको मात्रै टेलिभिजन, रेडियो र इन्टरनेटमा आधारित सिकाइमा पहुँच रहेको बताइएको छ । युनिसेफका अनुसार दूरशिक्षामा चासो भए पनि उपलब्धि भने न्यून रहेको छ । यो तथ्य समग्र नेपालको सन्दर्भमा हो । शहरीक्षेत्रका प्रायः अभिभावक र मावि तहभन्दा माथिका अधिकांश विद्यार्थीसँग मोबाइल र इन्टरनेटको पहुँच छ । धरानका ३१ हजार विद्यार्थीहरूमध्ये ५० प्रतिशत विद्यार्थी पनि अनलाइनको पहुँचमा नभएको बताइएको छ । नेपालको जनसङ्ख्याभन्दा बढी मोबाइल इन्टरनेट उपभोग गर्नेको सङ्ख्या छ । तर, किन अनलाइन शिक्षा प्रभावकारी भएन भन्ने सन्दर्भमा थप खोज अनुसन्धान हुन जरुरी छ ।
घरमा मोबाइल र इन्टरनेटको व्यवस्था भए पनि विद्युत् गइरहनु, विद्युत् भए पनि अनलाइन कक्षाका लागि उपयुक्त मोबाइल, ल्यापटप उपलब्ध नहुनु, इन्टरनेटको गति ढिलो भएर विद्यार्थी र शिक्षकबीचको संवाद राम्ररी सुन्न नसक्नु, कक्षामा शिक्षकको उपस्थितिमा प्रत्यक्ष पठन–पाठन हुने प्रचलन विपरीत अनलाइन कक्षामा शिक्षक र विद्यार्थी आमने सामने नहुँदा विद्यार्थीले गम्भीररूपमा नलिनु, अभिभावक पनि साना बालबालिकाका लागि व्यवहारिक रूपमा प्रविधिमैत्री हुन नसक्नु, कतिपय शिक्षकहरू पनि प्रविधिमैत्री हुन नसक्दा बुझाउन नसक्नुजस्ता यावत् कारणले अनलाइन शिक्षा प्रभावकारी हुन सकेको छैन । यिनै सन्दर्भमा अभिभावक र बोर्डिङ स्कुलबीच जुहारी चलिरहेको छ । एउटै विद्यालयका कुनै कक्षाका विद्यार्थीले अनलाइन कक्षा लिइरहेको छ भने मोबाइल, ल्यापटप र इन्टरनेटको व्यवस्था गर्न नसक्ने विद्यार्थीको हकमा के हुने भन्ने कुराको जवाफ भने व्यावसायिक शैक्षिक संस्थाहरूले दिन सक्नुपर्छ । अन्यथा शिक्षामा विभेद गरेको ठहर्छ ।