अपराध कर्ममा लागेकाहरू नेपाली भूमिलाई प्रयोग गर्दै आइरहेको तथ्य नौलो होइन । खुल्ला सीमाको फाइदा उठाउँदै हिजोदेखि नै नेपाली भूमि प्रयोग गर्दै आइरहेका थिए । यतिसम्मकी कुनै बेला नेपालको अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रवेश गर्दै ‘प्लेन हाइज्याक’ सम्म गरिएको घटना हामी सामु लुक्न सकेको छैन । अन्तर्राष्ट्रिय स्तरमा पनि नेपालको सुरक्षालाई लिएर बारम्बार प्रश्न उठ्दै आएको छ । हाम्रो भूमिका विदेशी नागरिकहरूले थुप्रै खाल्का आपराधिक घटनाहरू गराउँदै आएको सर्वविदितै छ । त्यसो त, कुख्यात अपराधी चाल्र्स शोभराज जस्ताहरू नेपालमै पक्राउ परेको घटना पनि छ । जो अहिले जेल जीवन बिताइरहेका छन् ।

तीनतिर खुल्ला भारतीय सीमा पर्ने कारण पनि अपराधीहरू सहजै प्रवेश गर्ने गरेका छन् । आपराधिक गतिविधिमा संलग्न भएर नेपालमा लुक्नेसम्म गरेका छन् । पछिल्लो समय नेपालका भूमिहरूमा सङ्गठित अपराधहरू हुने गरेको उदाहरणहरू पनि भेटिन्छ । भारतीय नागरिकहरू नेपालको भूमिमा आएर अपराध कर्म गर्ने अनि भारततर्फ प्रवेश गर्ने गरेका छन् । नेपालका व्यापारीहरूलाई चन्दा आतङ्क, अपहरण, फिरौतीजस्ता कार्य गरेर पुनः भारतीय भूमिका प्रवेश गर्नेहरूको कमी छैन । यस्ता सङ्गठित अपराध कर्ममा लाग्नेहरूलाई नेपाल प्रहरीले विभिन्न समयसमयमा पक्राउ गरेर कारबाही गरेको घटनाहरू पनि प्रसस्तै छन् । यसै मेसोमा भारतीय नागरिक राजु साह पनि एक हुन् । सङ्गठित अपराध कर्ममा लागेका उनलाई प्रहरीले पक्राउ गरिसकेको छ । सीमित साधन स्रोतका बावजुद पनि नेपाल प्रहरीले यस्ता थुप्रै घटनाका आरोपीहरूलाई पक्राउ गर्नुले नेपाल प्रहरीको दक्षता प्रदर्शन हुन्छ ।

समाजमा भएको अपराध न्यूनीकरण गर्न जसरी उनीहरू अहोरात्र खटिएका छन् । त्यसका कतिपयमा सफल पनि भएका छन् । एकाध घटनाका अरोपी पक्राउ गर्न नसकेको हुन सक्छ । समाजमा हुने अपराधमा अन्य देशका नागरिकहरू जोडिएको खण्डमा विभिन्न दबावहरू पनि नआउने गरेका होइनन् । तर, पनि आफ्नो कर्ममा सदैव खटिएका प्रहरीले सङ्गठित अपराधको जालो तोड्न सफल भएको मान्नुपर्छ । अपराध समाजमै हुने घटना हो । यसबाट कुनै न कुनै समुदाय तथा नागरिकहरू पीडित भइरहेका हुन्छन् । अपराध समाजमै हुन्छ । समाजमा हुने अपराधलाई न्यूनीकरण गर्न प्रहरीको मात्रै दायित्व हो भनेर छाडिदिनु हुँदैन । अपराध न्यूनीकरणमा नागरिकको दायित्व पनि अहम् हुन्छ । अपराधीहरूले चन्दा, फिरौती मागेमा तत्काल प्रहरीलाई सूचित गराएर सतर्क हुने हो भने धेरै घटना हुनु अगावै नियन्त्रणमा आउँछ । समुदायले पनि शङ्का लागेका व्यक्तिहरू समाजमा देखिएमा त्यस्ता व्यक्तिविरुद्ध तत्काल प्रहरीमा खबर गरेर सहयोग गर्नुपर्छ । ताकि हुनसक्ने सम्भावित दुर्घटनाबाट बच्न सकियोस् । अपराध मनोवृत्तिका मान्छे जहिले पनि प्रहरीभन्दा अगाडि हुन्छ । समुदायमा कसै न सकैसँग त्यस्ता आपराधिक मनोवृत्तिका मान्छे जोडिएका हुन्छन् । समुदाय सचेत भएमा अपराध हुनबाट जोगिन सकिन्छ । नागरिक सचेत भए प्रहरीलाई पनि अपराध न्यूनीकरण गर्न थप सजिलो हुन्छ । यसका लागि प्रहरीलाई सहयोग गर्नु एकमात्रै विकल्प हो । कतिपय अवस्थामा प्रहरी पनि अपराध कर्ममा लागेकाहरूसँग जोडिएको घटनाहरू सुन्न पाइन्छन् । त्यसतर्फ प्रहरी सङ्गठन सचेत हुने हो भने आफूमाथि लागको आक्षेपलाई धुन सकिन्छ । अपराधीसँग साँठगाँठ गर्ने प्रहरीलाई विभागीय कारबाही मात्रै नभई निलम्बित गर्ने गर्ने प्रावधान राखेमा प्रहरीको छबी पनि धुमिल हुन पाउँदैन कि १