आफैले आफैलाई गरिने हत्या अर्थात् आत्महत्यामा पछिल्लो ‘ट्रेण्ड’ (प्रवृत्ति) हेर्दा निकै खतरापूर्ण देखिँदै गएको छ । यो प्रवृत्ति घट्दो होइन, बढ्दो अवस्थामा छ । विश्वले सेप्टेम्बर १० तारिखका दिन ‘आत्महत्या रोकथाम दिवस’ मनाएको ठीक तीन दिनपछि धरान–१ मा १० वर्षीया बालिका झुण्डिएको विषयले धेरैलाई झस्काएको छ । पहिलो पटक यति कम उमेरकी बालिका झुण्डिएको अवस्थामा भेटिँदा ‘हत्या वा आत्महत्या’ के हो भन्ने दुविधामा पारेको छ । तर, अनुसन्धानमा खटिएका प्रहरी अधिकारीले घटनाको प्रकृति मुचुल्का र त्यहाँको वातावरणलाई आधार मानेर अध्ययन गर्दा ‘आत्महत्या’ तर्फ सङ्केत गरेको बताएका छन् । फेरि पनि पोष्टमार्टम रिपोर्ट आउन बाँकी छ । अन्तिम छिनोफानो त्यही रिपोर्टले गर्नेछ, जसको पर्खाइमा छौं । केही सयमअघि मात्रै धरान–४ मा पनि १२ वर्षीया ममता राईले आत्महत्या गरेको विषयले निकै चर्चा पाएको थियो । यति सानो उमेरमा कसरी आत्महत्या गर्न सक्छ भन्ने प्रश्नहरू पनि पीडितका आफन्तले गरेका थिए । अन्ततः उनी आफैले आफैलाई मारेको पोष्टमार्टम रिपोर्ट आएपछि भने आफन्त ढुक्क भए । पछिल्लो केही दशकयता बालबालिकाहरूले पनि आत्महत्या गर्न थालेपछि यो विषय गम्भीर हो भन्ने बुझ्न कठिनाइ पर्दैन ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का अनुसार १५ देखि २९ वर्ष उमेर समूहका युवाहरूले सबैभन्दा बढी आत्महत्या गर्ने गरेको तथ्याङ्क सार्वजनिक गर्दै आएको छ । विश्वमा सातौं मृत्युको कारण आत्महत्या रहेको छ । तर, पछिल्ला दशकहरूमा नाबालकहरूले अर्थात् १५ वर्षभन्दा मुनीका बालबालिकाले पनि आत्महत्या गर्न थालेपछि भने ‘नयाँ विषय’ ले प्रवेश पाएको छ । विगतमा भएका आत्महत्याको तथ्याङ्कलाई केलाउँदा अधिकांश घटना हुनुका पछाडिको कारण आर्थिक हुने गरेको थियो । त्यसो हो भने १० वर्षीया बालिकालाई त्यस्तो के आर्थिक समस्या आइलाग्यो होला ? के उनले आर्थिक कारणले नै मृत्युवरण गरिन् होला ? यस्ता विषयहरू गम्भीर तवरले अनुसन्धान नगरिने हो भने अबका दिनमा आत्महत्या अहिले जुन रूपमा छ, थप भयावह नहोला भन्न सकिन्न । बालबालिकाहरूको मनोविज्ञानलाई बुझ्न अब सामाजिक मनोपरामर्शको आवश्यकता पर्दै गएको अनुभूति हुन थालेको छ । प्रहरीको तथ्याङ्कमा पनि कम उमेर समूहका मानिसहरूले आत्महत्या गर्न थालेको देखाएको छ । हरेक वर्ष यसको ‘ग्राफ’ बढ्दो अवस्थामा छ । निरुत्साहित गर्न राज्य तथा राज्यका निकाय साथै बालबालिकाको क्षेत्रमा काम गर्ने सङ्घ–संस्थाहरूले पनि ध्यान दिएको पाइँदैन ।

मनोविद्हरूका अनुसार १० देखि २४ वर्ष उमेर समूहमा मृत्युको तेस्रो कारण आत्महत्या हुने गरेको उल्लेख गर्छन् । हिजोभन्दा अहिले आत्महत्या थप भयावह बन्दै गएकाले पनि सजग हुनुपर्ने मनोविद्हरूले औंल्याउन थालेका छन् । नागरिकको जिउधनको सुरक्षा गर्न राज्य नै अगाडि बढ्नुपर्छ । राज्यले सामाजिक मनोपरामर्श दिने र आत्महत्याको विषयमा व्यापक जनचेतना नजगाउने हो भने भोलि थप जटिल बन्ने स्थिति सिर्जना हुँदै छ । बेलैमा सचेत हुनुपर्ने अवस्था छ । हिजोसम्म ११ वर्षभन्दा मुनीका बालबालिकाहरूले आत्महत्या गरेको तथ्याङ्क थिएन वा पनि न्यून मात्र थियो । तर, अहिले बढ्दै जानु त्यसमा पनि कम उमेरमै आत्महत्या गर्ने प्रवृत्ति बढ्नुले खतराको सङ्केत गरेको छ । यो राम्रो सङ्केत होइन । अब राज्यले बालबालिकाको मनोविज्ञान बुझ्नका लागि छुट्टै नयाँ कार्यक्रम ल्याउन जरुरी छ । बालबालिकाको क्षेत्रमा काम गर्ने गैरसरकारी तथा अन्य सङ्घ–सङ्गठनहरूले पनि बजेट पचाउने काम मात्रै नगरेर बालबालिकाको मनोसामाजिक परामर्शमा ध्यान दिन थाल्नु पर्छ । नत्र थप भयावहको शिकारमा पर्दै जाने निश्चित छ ।