आफूले सखुवाको रुख काटेको दोष स्वीकारेपछि धरान–२० विष्णुपादुकास्थित भालढुङ्गा सामुदायिक वन उपभोक्ता समितिका कोषाध्यक्ष भीम बस्नेत जेल जाने पक्का भएको छ । उनलाई वन विभागले पक्राउ गरेर कारबाही प्रक्रिया पनि अगाडि बढाइसकेको छ । यो विवाद र बहसको केन्द्रमा मेयर तिलक राई थिए । तर, दुई सातापछि घटनाले मोड फेरेको छ । विवादको सुरुवातमा उपमहानगरका मेयर तिलक राईले आफ्नो आमाका लागि काठैकाठको घर निर्माण गर्न समितिमा काठको माग गर्दै निवेदन दिएका थिए । समितिले पनि ढलापडा काठ दिने भनेकै थियो । तर, एक दिनअगाडि नै चारजना कामदार लिएर विद्युतीय आराका साथ कोषाध्यक्ष बस्नेतसँग मेयर राई वनमा प्रवेश गरेको र सखुवा गिँडिएको चर्चा भएको थियो ।
त्यसमा स्थानीय मिडियाहरूले लगतातार फलोअप गर्न थालेपछि वन विभागले कान हल्लाएजस्तो गरेको थियो । जब वन विभागले चासो लिएजस्तो ग¥यो, तब सेटिङका सिलसिला सुरु भए । मेयर राईले त आफूले समितिसँग काठ माग्दै निवेदन नै नदिएको भन्न पछि परेनन् । उता समितिका आठ सदस्यले ओपन सेक्रेट शैलीमा ‘थाहा नभएको’ बताएर सदस्य हुन पनि अयोग्यताको नमुना प्रदर्शन गरे । आफ्नो वनमा कसैले रुखै ढालेर १२ टुक्रा पारुञ्जेल पनि थाहा नपाउने हो भने उपभोक्ता समितिको कार्यकारिणी सदस्यमा बसिरहनुको औचित्य स्वत समाप्त हुन्छ । विद्युतीय औजार प्रयोग गरेर रुख काट्ने चारजना पक्राउ परे पनि उनीहरूले मेयरलाई लक्षित नगरी कोषाध्यक्षलाई दोषी ठहर गरेको बयान दिएर रिहा पनि भए । जब कि उनीहरू मेयरकै गाडीमा विद्युतीय औजार लिएर वनमा प्रवेश गरेका थिए । मेयरले आफूलाई काठ चाहिएको भनेर बोलेको अडियो रेकर्ड पनि सार्वजनिक भएको थियो । तर, जिम्मा लिए कोषाध्यक्ष बस्नेतले । पक्राउ परेकामध्ये दुई जनाले दोषी देखाएको आधारमा बस्नेतलाई वन विभागले पक्राउ गरेको छ । तर, यसअघि समितिका आठजना सदस्यले थाहा नभएको र मुख्य जिम्मेवार अध्यक्षले किटानीका साथ दोषीउपर कारबाही गर्न माग गर्दै दिएको उजुरी पत्रलाई भने वन विभागले नजरअन्दाज किन गरेको हो ? यो प्रश्नको जवाफ कसैसँग छैन ।
अरूलाई थाहा नभए पनि अध्यक्ष वा अध्यक्षको ठाउँमा अरू नै कुनै उपभोक्ताले किटानीकासाथ उजुरी दिँदा धरान क्षेत्र हेर्ने वन विभागका पदाधिकारीले कारबाही प्रक्रिया अगाडि बढाउन सक्दैन भन्ने नजिर यो घटनाले देखाएको छ । यही नजिरलाई स्थापित गरेर अरू सामुदायिक वनमा पनि यस्तै घटना भयो भने आश्चर्य नमाने हुन्छ । अर्को कुरा, घटनाको दुईसाता पछिमात्र किन बस्नेतले रुख कटान काण्ड आफ्नो थाप्लोमा आफै पारे ? यो प्रश्नको जवाफ भविष्यमा अवश्य प्राप्त हुने नै छ । वनमा प्रवेश गरेर अनधिकृत रूपमा सखुवाको रुख ढालेमा ज्यान मारे जतिकै दण्ड जरिवानासहित जेल सजाय हुन्छ । यी कुरा त दोषको भागिदार बनेका बस्नेतलाई अवश्य थाहा होला । त्यसो भए यो सबै एउटा सेटिङ मान्नुपर्ने हुन्छ । यो सेटिङमा मेयर, सुनसरी वन विभागका अधिकारी, उपभोक्ता समितिका आठ सदस्य र कोषाध्यक्षबीच मिलिभगत भएको गन्ध फैलिन थालेको छ । सर्वसाधारणले सखुवाको काठ काटेका भए यतिबेला जेलको हावा खाइरहेको हुन्थ्यो । तर, पद र प्रतिष्ठाको आडमा गरिएको सेटिङले विष्णुपादुका वनको रुख कटान काण्डलाई गलत अवतरण गराइएकोमा वन विभाग सधैँका लागि दोषी रहिरहनेछ ।