भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले आफ्नो मुलुकको सीमा सुरक्षा गर्छ । उसको सीमासँग नेपाललगायत पाकिस्तान, चीन, भूटान, बङ्गलादेश, मालदिभ्स, बर्मा, श्रीलङ्कालगायत मुलुक जोडिएका छन् । सम्भवतः ती मुलुकसँग भन्दा नेपालसँग उसको सम्बन्ध ऐतिहासिक, सांस्कृतिक, धार्मिक, सामाजिक रूपमा प्रगाढ छ । उसले आफै पनि भन्दै आएको छ कि नेपालसँगको सम्बन्ध रोटीबेटीसँग छ । खैर, यो रोटीबेटीको कुरा छाडौं । नेपाल र भारतबीचको सम्बन्ध यसकारण सीमाहीन बनेको छ कि दुई मुलुकबीच छुट्याउने कुनै काँडेतार छैन, कुनै पर्खाल छैन, आवत–जावतका लागि पासपोर्ट चाहिन्न ।

भारतीय नागरिक नेपाल आउन चाहे जुनसुकै बेला जस्तोसुकै अवस्थामा पनि आउन सक्छ र भारत जान चाहे कुनै पनि नेपाली नागरिक जतिसुकै बेला जान सक्छ अर्थात्, खुला सिमाना छ दुई मुलुक बीचमा । यस्तो त युरोपियन मुलुकबीच हुने गरेको छ । यद्यपि, नेपाल र भारतबीच जस्तो अतिभन्दा अति खुला सिमाना सायद विश्वमा छैन । खुला सिमाना भएपछि सीमा इलाकामा बस्ने समुदायमा वा सीमा नजिकका दुवै मुलुकका शहर बजारका नागरिकहरूमा कुनै रोकतोक वा छेकथुन हुँदैन भन्ने मनोविज्ञानले स्थान बनाएको छ । यो मनोविज्ञान वर्षौंदेखि स्थापित भएको छ । यही मनोविज्ञानको आधारमा भारतीय बजार पुगेर किनमेल गर्छन् नेपाली नागरिकहरू र भारतीयहरू नेपालका बजारमा आइपुग्छन् । तर, जहिले पनि नेपाली नागरिकका लागि एसएसबी भिलेन बनेर बीचमा उभिन्छ । जब कि सीमाक्षेत्रमा बसोबास गर्ने भारतीय नागरिकका लागि नेपालको सीमा सुरक्षा बल भिलेन बनेको इतिहास छैन । भारतीय एसएसबीले नेपाली नागरिकमाथि जुनसुकै बेला दुःख दिनु भनेको भारतको अहम् भावना हो । यसको पछिल्लो उदाहरण झापाको भद्रपुर गललिया नाकाबाट औषधि ल्याउन रोक लगाउनु हो । यदि भारतीय बजारबाट दुई–चार सयको औषधि, दुई–चार किलो चिनी ल्याउँदैमा सीमामा दुःख दिने हो भने उसले पर्खाल किन नलगाएको ?

भारतीय अर्थतन्त्र, प्रशासन, राजनीति, सांस्कृतिक र धार्मिकरूपमा त सबैभन्दा पीडित नेपाली नागरिक भइरहेका छन् । आधिकारिक कागज–पत्र चाहिने, राहदानी नै चाहिने नै भएपछि यो खुला सिमानाको के अर्थ रह्यो ? हो, दुई मुलुकको हितविपरीत कसैले आतङ्ककारी गतिविधि वा हतियार ओसार–पसार गरेमा, आर्थिक क्षेत्रमा भन्सार छली गरेमा या लागूपदार्थ ओसार–पसार गरेको भेटिएमा त्यस्तालाई रोक्नु एसएसबीको मात्र जिम्मेवारी होइन, नेपाली सीमा सुरक्षा बलका प्रहरीको पनि कर्तव्य हो । तर, सीमा क्षेत्रमा बसेका सामान्य नागरिकलाई नेपाली भएकै कारण के निहुँ पाउँ... शैलीमा दुःख दिनु भनेको भारतको हेपाहा प्रवृत्ति नभएर अरू केही होइन । औषधि लिन गएका नेपाली नागरिकलाई खाली हात फर्काएको समाचारले भारतको रवैया स्पष्ट भएको छ । कोरोनाकै बहानामा अत्यावश्यक वस्तु ल्याउन नदिनु झन् बेतुकको कुरा हो । कोरोना सङ्क्रमित त नेपालमा पहिला खासै नभएको बेला जब भारतीय नागरिक लुकिछिपी आए त्यसपछि नेपालमा फैलिएको हो । यद्यपि भारतमा भन्दा नेपालमा कोरोना सङ्क्रमित कम छन् । अर्को कुरा, कुनै पनि मुलुक एकापसमा क्षेत्रफलको हिसाबमा ठूलो–सानो हुन सक्छ । आर्थिक शक्ति र राजनीतिक सत्ता फरक–फरक हुन सक्छ । कुनै पनि मुलुक गरिब या धनी हुन सक्छ । तर, सार्वभौम सत्ता उस्तै रहन्छ । नेपाल पनि एउटा देश हो भन्ने कुरा भारतीय एसएसबीले बुझ्नु पर्छ । यदि नेपालको ठाउँमा शक्ति सम्पन्न तर, सानो मुलुक जापान भएको भए भारतीय एसएसबीले यति धेरै दुःख सायदै दिन सक्थ्यो ।