नेपालीमा एउटा प्रख्यात भनाइ छ–पैसाका अगाडि महादेवका पनि तीन नेत्र । पैसा अभावलाई टार्ने माध्यम त हो नै । त्योभन्दा पनि बढी पछिल्लो समय ‘पैसा’ सँग जोडिएर आपराधिक गतिविधि बढ्न थालेको छ ।

पैसाले व्यक्तिको मानसिकतामा लोभ पैदा गरिदिन्छ । जसको परिणाम हालै मोरङको पथरीशनिश्चरेमा भएको नाताले काका पर्नेले १४ वर्षीया भतिजीलाई अपहरण गरेको घटना । २ लाख रुपैयाँका लागि उनले भतिजीलाई अपहरण गरेर काठमाडौं लाँदै गर्दा भदौ १७ गते काभ्रेको साँगाबाट पक्राउ परे । उनलाई सहयोगी भूमिका निर्वाह गरेका दुई एम्बुलेन्स चालक पनि पक्राउ परे ।

एम्बुलेन्स चालकले प्रहरीमा दिएको बयानको आधारमा २०–२० हजार रुपैयाँ भाडा दिने शर्तमा उनीहरूले लिएर गएका थिए । प्रहरीको भनाइलाई आधार मान्दा काका भनाउँदा २१ वर्षीय सुजन रणपहेली यो घटनाको मुख्य आरोपी हुन् । अन्य मतियार देखिएका छन् ।

प्रहरीको तथ्याङ्कले भन्छ–धेरै आपराधिक घटनामा आफन्त नै जोडिएका हुन्छन् । यो घटनामा पनि त्यस्तै देखियो । आफन्त अर्थात् काका सुजनले भतिजीलाई दबाव तथा ज्यान मार्ने धम्की दिएर जुन हर्कत देखाएका छन्, त्यो आपराधिक मनोवृत्तिको सङ्केत हो । अनुसन्धानका क्रममा प्रहरीले सुजन लागूऔषध दुव्र्यसनमा फसेको पनि जनाएको छ ।

उनलाई आपराधिक कर्म गर्नका लागि लागूऔषध दुव्र्यसनले पनि प्रेरित गरेको देखिन्छ । उनको अपराध कर्ममा सहयोगी एम्बुलेन्स चालकद्वय पनि प्रलोभनको सिकारमा परेको देखिन्छ । यो बेलामा सामान्यतः एम्बुलेन्स भेटिँदैन । कोरोना महामारीका कारण चालकहरू विभिन्न बहानाबाजी गरेर तर्किने गरेका छन् ।

तर, यहाँ एउटी अबोध बालिकालाई जबर्जस्ती गरेर लैजाँदासमेत उनीहरूले प्रहरीलाई सहयोग गर्नुको सट्टा अपराधीलाई सहयोग गरेको देखिन्छ । यस मानेमा उनीहरू कानूनी कठघरामा उभिएका हुन् । सामान्यतः समाजमा कुनै घटना, दुर्घटना वा त्यस्ता गतिविधि भएको शङ्का उपशङ्का लागेको हकमा प्रहरीलाई खबर गर्नुपर्छ । पछिल्लो समय प्रहरीले सूचित गर्नका लागि विभिन्न हटलाइन तथा फोन नम्बरहरू आदान–प्रदान गर्दै आएको छ ।

समाजमा अपराध रोक्ने भूमिका प्रहरीको मात्रै होइन, नागरिकको कर्तव्य पनि हो । नागरिकले सूचित नगरेको खण्डमा प्रहरी स्वयम्ले आफै जान्ने कुरा पनि हुँदैन । आशङ्का लागेको हकमा प्रहरीले गोप्य सूचना दिन सकिन्छ । यहाँ चालकद्वयले त्यो भूमिका निर्वाह गर्न सक्ने प्रशस्तै आधारहरू थिए । किनकि उनीहरूले मोबाइलमार्फत् म्यासेज गरेर पनि प्रहरीलाई यसबारे सूचित गर्न सक्थे ।

त्यो नगर्दाको परिणाम तपाईं हामीले देखिहाल्यौं । अपराध रोक्न समाज सक्रिय हुनुपर्छ । आपराधिक गतिविधि गर्नेहरू जहिल्यै लुकेर काम गर्छन् भन्ने मनोविज्ञान हामीले भुल्नु हुँदैन । त्यसलाई निमिट्यान्न पार्नका लागि जति प्रहरीको भूमिका हुन्छ, त्यति नै समाजको भूमिका हुन्छ । त्यसैले त हरेक प्रहरी कार्यालयमा पछिल्लो समय ‘सामुदायिक प्रहरी’ को अवधारणा विकास भएको छ ।

अझ ‘प्रहरी मेरो साथी’ कार्यक्रमहरू आएका छन् । हिजो पञ्चायतकालमा तपाईं हामीले प्रहरीको नापनक्साबारे थाहा पाएकै हौं । त्यो बेलामा प्रहरीको भूमिका कस्तो रहन्थ्यो र अहिले कस्तो छ । त्यसकारण अपराध समाज विकासको बाधक हो भन्ने नागरिकहरूले बुझ्नुपर्छ । पछिल्लो चरणमा अपराधका शैली तथा तौरतरिकाहरू फरक बन्दै गएका छन् ।

प्रविधिको विकाससँगै अपराधको ढङ्ग पनि परिवर्तन भएको छ । यसकारण हरेक मान्छेसँग निश्चित दूरी राखेर काम गर्नुपर्छ । कुनै पनि नयाँ मानिसले परिचय बढायो भने को हो ? के हो ? किन यसले निकटता बढाउन खोजिरहेको छ भन्ने बुझ्नुपर्छ । शङ्का लागेमा आफ्ना अभिभावक तथा नजिकका इष्टमित्रलाई त्यो विषयमा शेयर गर्नुपर्छ । थप शङ्का लागेमा प्रहरीलाई खबर गरेर सहयोगको अपेक्षा गर्नुपर्छ ।

अनि मात्रै अपराधलाई केही हदसम्म न्यूनीकरण गर्न सकिन्छ । यसका लागि पहिलो सर्त नै नागरिक सचेत बन्नुपर्ने हुन्छ ।