कोरोना भाइरसको महामारीले सबैलाई थिलथिलो बनाइरहेको सर्वविदितै छ । यो अवस्थामा नेपालमा दैनिक दुई अङ्कमा मानिसहरूले ज्यान गुमाइरहेका छन् । समुदायस्तरमा फैलिएलगत्तै मृत्यु दर र सङ्क्रमित दर दैनिक बढिरहेको छ । सङ्क्रमित दर बढिरहँदा अहिले देशमा भएका साधन, स्रोत अपुग हुने अवस्था सिर्जना हुँदै छ । हाल भएका साधन स्रोतले जतिसक्दो उपचारविधि अपनाइँदै छ । दैनिकजसो कोरोना सङ्क्रमित बढिरहेको अवस्थामा धरान उपमहानगरपालिकाभित्र नयाँ अभ्यासको थालनी गर्ने तयारी गरेको छ । सङ्क्रमितहरू घरकै आइसोलेसनमा बसेकाहरूलाई लक्षित गर्दै ‘धरान मेडिकल समूह’ ले नयाँ अभ्यासको थालनी गर्न खोजेको छ । यो अभ्यासको साँच्चै थालनी भएमा बिरामी र बिरामीका आफन्तको मनोबल उच्च हुनेछ । मेडिकल समूहले ‘एक बिरामी, एक स्वास्थ्यकर्मी’ अवधारणा ल्याएको छ । यो लागू भएमा बिरामीलाई धेरै नै राहत हुनेछ । जो घरको आइसोलेसनमा बसेर राज्यलाई सहयोग गरिरहेका छन् । उनीहरूलाई उचित परामर्श दिने कार्य साँच्चिकै उदाहरणीय छ ।

धरानमा हिजोको मितिसम्म १ सय ७३ जना सङ्क्रमित देखिएका छन् भने ६ जनाले ज्यान गुमाइसकेका छन् । ६२ जनामात्रै कोरोनामुक्त बनेर घर फर्किएका छन् । अन्य सबै बिरामी घर तथा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत छन् । आँकडा अनुसार सुनसरीमा सबैभन्दा बढी धरानमै सङ्क्रमितको सङ्ख्या रहेको छ । आखिर सुनसरीको धरानमा यतिधेरै मात्रामा सङ्क्रमित कसरी बढे भन्ने विषय निकै पेचिलो छ । साउनको १४ गतेबाट समुदायस्तरमा फैलिएको कोरोनाले आजको मितिसम्म आइपुग्दा जुन रफ्तार लिएको छ, त्यसले अबका दिनमा हाम्रो अस्पतालले पनि नभ्याउने अवस्था छ । स्थानीय साधन, स्रोतको अभाव हुँदै गएको अवस्थामा बिरामीलाई घरकै आइसोलेसनमा उपचार हुने व्यवस्थाका लागि अवधारणा ल्याइनु सत्कर्म हो । यो सत्कर्म यस मानेमा पनि हो कि यसले बिरामीको मनोबललाई मात्रै उच्च बनाउँदैन, त्यो घरपरिवारको मनोबललाई पनि बढाउने काम गर्छ । त्यसले कोरोना सङ्क्रमितमा एक खालको प्रतिरोधात्मक क्षमता बढेको अनुभूति गर्छ । सामाजिक अपहेलनाको शिकार भइरहेको अवस्थामा यसले ‘औषधि’ को काम गर्नेछ । पक्कै पनि धरान मेडिकल समूहले गर्न लागेको कार्य सत्प्रयासको एउटा नमूना हो । यसमा अन्य सङ्घ–संस्था तथा निकायले पनि सहयोग गरेर जानुपर्छ । साधन स्रोतको अभावका बावजुद पनि मेडिकलसँग सम्बन्धित व्यक्तिहरूले गरिरहेको प्रयासलाई थप उच्च बनाउनका लागि सहयोग आवश्यक छ । त्रासका बीच पनि उनीहरूले जुन प्रयास गरिरहेका छन्, यसको जति नै प्रशंसा गरे पनि कमै हुन्छ ।

सङ्क्रमित हुनु अपराध होइन, यसलाई अपराधी मानसिकताबाट हेर्नु हुँदैन । अपराधी मानसिकताबाट हेर्ने नजर चाहिँ एकप्रकारको अपराध हो । यो बेला सङ्क्रमित मात्रै होइन, गैरसङ्क्रमितका लागि पनि उच्च मनोबलको आवश्यकता छ । आफू मात्रै जोगिने अरूलाई जेसुकै होस् भन्ने जुन सामाजिक प्रवृत्ति हाबी हुँदैछ, यो एकदमै आत्मश्लाघामा रमाउने प्रवृत्ति हो । कोरोना ढिलोचाँडो सबैले सामना गर्नुपर्ने अवस्था आउँदैछ । त्यसैले अहिले मेडिकल समूहले गर्न लागेको कार्यमा सहयोग र साथ दिएर जाने हो भने भोलि हामीलाई पर्दा पनि थप सहयोग प्राप्त हुन्छ । जो सङ्क्रमित घरमै बसेर राज्यलाई सहयोग गरिरहेका छन् । उनीहरूलाई थप बल प्रदान गर्न पनि हाम्रो भूमिका एकदमै आवश्यक छ । मानवीय चेतलाई सदैव कायम राख्नका लागि समाजमा हाम्रो भूमिका पनि आवश्यक छ । यस्तो बेलामा सङ्क्रमितलाई थप ऊर्जा प्रदान गर्ने वातावरणको विकास गरौं, मेडिकल समूहले गरिरहेको सत्प्रयासलाई खुलेर सहयोग गरौं । धरान उपमहानगरपालिकाले जुन सहकार्य गरेको छ, त्यसप्रति नतमस्तक बन्दै मेडिकल समूहका अधिकारीहरूलाई के कसरी सहयोग गर्न सकिन्छ भन्ने विषयमा गम्भीर बनौं । ता कि उनीहरूको मनोबल पनि उच्च होस् ।