हाम्रो समाज गलत दिशातिर गइरहेको पछिल्लो घटनाक्रमले प्रमाणित गरिरहेको छ । मङ्गलबार झापाको मेचीनगर नगरपालिका–१२ मा गर्भवती महिलासहित दम्पतीमाथि भएको आक्रमणले त्यही पुष्टि गर्छ । कोरोना भाइरस फैलाउन लागेको भन्ने आरोपमा जसरी निर्घात कुटपिट भएको छ, यसले समाजका आयामहरू बदलिएको सङ्केत गरेको छ, यो राम्रो सङ्केत होइन । केही समयअघि स्वास्थ्यकर्मीमाथि पनि सामाजिक दुव्र्यवहारका घटना सार्वजनिक भए । जसमा राजनीतिक दलका शीर्षस्थ नेताहरूले पनि घटनाको घोर निन्दा गरे । स्वास्थ्यकर्मी जो अहिले अग्रभागमा खटिएर कोरोना सङ्क्रमितलाई नै जोगाइरहेका छन्, उनीहरूमाथि नै सामाजिक दुव्र्यवहार हुनु पूर्वीय समाजको मानक होइन । यस्ता घटनाको जति नै निन्दा गरे पनि कम हुन्छ । यो एक प्रकारले भन्ने हो भने अक्षम्य अपराध हो । यसलाई निरुत्साहित पार्न राज्यका सुरक्षा संयन्त्र नै सत्तिसाल झैं खडा हुनुपर्छ । यस्ता अमानवीय घटनाहरू समाजमा घट्नु कुनै पनि हकमा राम्रो सङ्केत होइन । हाम्रा नैतिक मूल्य र मान्यतामाथिको प्रहार हो । मेचीनगरमा भएको आक्रमण झनै अक्षम्य अपराध हो । त्यसै पनि कसैमाथि बिनाकारण हात हाल्नु, कुटपिट गर्नु कानूनतः अपराध हो । त्यसमा पनि कोरोना महामारीको बेला विभिन्न लाञ्छना लाएर आक्रमण गरिनु भनेको दुईवटा कानून आकर्षित हुनु हो । कुटपिटमा संलग्न मेचीनगर–१२ का दुर्गा श्रेष्ठ र विष्णुमाया प्रधानलाई कडाभन्दा कडा कारबाही गरिनुपर्छ ।

मानिस सृष्टिको सबैभन्दा उत्तम प्राणी हो अर्थात् चेतनशील प्राणी । सृष्टिकालदेखि नै हामी विभिन्न परिवेश, भूगोल, स्थानमा जन्मिए पनि सामूहिकतामा रमायौं । चेतनाका कारणले एक–अर्काको अस्तित्वलाई स्वीकार ग¥यौं । सह–अस्तित्व नै पूर्वीय सभ्यताको मानक हो । यो सह–अस्तित्व यति प्रगाढ छ कि साना–साना कुराले हामीलाई केही फरक पार्दैन तर, कोरोना भाइरसपछि देखिरहेको यो परिदृश्य के को सङ्केत हो ? हामीले यति चाँडै हाम्रो सभ्यता, इतिहास, हाम्रो समाजको संरचनालाई भुल्यौं ? सह–अस्तित्वकै कारण नेपाल विश्वमा नमूना देशको रूपमा परिचित छ । यहाँ १२३ जातजाति, भाषाभाषी भएर पनि एउटै सूत्रमा बाँधिएका छौं । हरेक भूगोलमा तपाईं जानुभयो भने फरक–फरक जाति र भाषीका मानिसहरू भेट्नुहुन्छ । यो अन्य देशमा कहाँ पाउनुहुन्छ ? तर, कोराना महामारीपश्चात् जति पनि घटनाक्रमहरू हुँदैछन् । यो सामाजिक रूपमा गलत हुँदै हो, कानूनी रूपमा पनि गलत हो । यस्ता अपराध कर्ममा होमिन खोज्ने र होमिएकाहरूमाथि कानूनका दफा, उपदफाहरू प्रयोग गरेर कारबाहीको भागीदार बनाउनुपर्छ । पीडित दम्पतीमाथि सामाजिक अन्याय त हुँदै हो । आक्रमण गरेर गम्भीर घाइते बनाएर अर्को अपराध गरिएको छ । कोरोनाको नाममा विभेद गरिएको छ । विभेदमा पनि कारबाहीको भागीदार बनाउनुपर्छ । राज्यका कानूनहरूले देशका नागरिकलाई बराबरीको अधिकार प्रदान गरेको छ । र, बराबरी कारबाहीको भागीदार बनाएको पनि छ । अपराध, अपराध नै हो । त्यो ठूलो–सानो भन्ने हुँदैन । त्यसैले दम्पतीमाथि हातपात गर्नेहरूलाई हदैसम्मको कारबाहीको भागीदार बनाइयोस् ।

कोरोना महामारीले देश आक्रान्त छ, यसबाट नेपालमात्रै आक्रान्त बनेको होइन । विश्व नै आक्रान्त बनेको सन्दर्भमा हामी थुप्रै खालका समस्याबाट गुज्रिरहेका छौं । यस्तो बेलामा हरेकलाई सान्त्वनाको आवश्यकता छ । अझ सङ्क्रमितहरूलाई उच्च मनोबल प्रदान गर्नुपर्छ । ता कि समाजले दिएको उच्च मनोबलले उनीहरूले रोगलाई जित्न सकून् । अग्रभागमा खटिने स्वास्थ्यकर्मीहरूलाई पनि समाजले उच्च मनोबल प्रदान गर्नुपर्छ । सीमित स्रोत र साधनका बावजुद पनि उनीहरू जसरी अग्रपङ्क्तिमा रहेर सङ्क्रमितको उपचारमा दिलोज्यान दिएका छन् । उनीहरूलाई त सल्यूट गर्नुपर्छ । उनीहरू नहुने हो भने कयौं रोगीहरू उपचार अभावमै ज्यान गुमाउन पुग्थे । विज्ञानको भाषामा भन्ने हो भने उनीहरू वर्तमान समयमा भगवान् हुन् । उनीहरू सम्मान गर्नलायक हुन् । यस्तो बेलामा निरुत्साहित होइन, उत्साहित गर्नुपर्छ । उनीहरूमाथि निरुत्साहित गर्नेहरू पनि समाजका अर्का अपराधीहरू हुन् । उनीहरूलाई पनि कानूनी कठघरामा उभ्याउन सरकार र सरकारी संयन्त्र चुक्नु हुँदैन । विभेद पनि ठूलो अपराध हो । यसैबाट थुप्रै खालका घटना भएको तथ्यहरू हामीले यसअघि पनि देखिरहेका, सुनिरहेका र भोगीरहेका छौं । त्यसैले सानोभन्दा सानो गल्तीलाई छुट दिँदै जाने हो भने अपराध बढ्दै जान्छ । अझ मानवीय संवेदना हराउँदै जानु भनेको कता पुग्ने सङ्केत हो ?