समाजमा पछिल्लो समय सामान्य विषयमा झै–झगडादेखि हत्यासम्मका घटना हुने गरेको प्रहरीको तथ्याङ्कबाट प्रष्ट हुन्छ । सामाजिक अपराध बढ्दै जानु समाजका हरेक नागरिकदेखि नीति निर्माण तहमा रहनेहरूसम्मका लागि चिन्ताको विषय हो । सामाजिक अपराध नियन्त्रण गर्न हाम्रा नीतिहरूमै खोट रहेका छन् वा के कारणले यस्ता घटना बढिरहेका छन् भन्ने विषयमा नीति निर्माताहरूले चिन्तन मनन् गर्नु आवश्यक छ । पछिल्ला केही वर्षको तथ्याङ्क हेर्ने हो भने सुनसरीमा प्रेम सम्बन्ध, मदिरा सेवन, आवेग, रिसइबी जस्ता कारणले हत्यासम्मका घटना भइरहेको देखिन्छ । यस्ता घटनामा अञ्जान र टाढाका मान्छेभन्दा पनि घरपरिवारभित्रकै मान्छे, साथीभाइ, कतिपय घटनामा त श्रीमान् श्रीमती, सासू, ससुरासम्म संलग्न हुनुले हाम्रो समाज गलत बाटोमा गइरहेको प्रष्ट पार्छ ।
यस्ता घटनाका कारण पहिल्याएर बेलैमा निराकरणको उपाय नखोज्ने हो भने समाजको भद्रगोल अझै कति बढ्ने हो अहिले अनुमानसमेत गर्न कठिन छ । प्रहरीको तथ्याङ्कअनुसार सुनसरी जिल्लामा आर्थिक वर्ष २०७४/०७५ मा २२ जनाको हत्या भएको थियो भने २०७५/०७६ मा २७ जनाको हत्या भयो । त्यस्तै आर्थिक वर्ष २०७६/०७७ मा १५ जनाको हत्या भएको थियो । चालू आर्थिक वर्षमा ३ जनाको हत्या भइसकेको छ । यो हिसाबले सुनसरीमा आर्थिक वर्ष २०७४/०७५ देखि हालसम्म ६७ जनाको हत्या भएको प्रहरीको तथ्याङ्कबाट देखिन्छ । ती घटनामा १ सय १२ जना आरोपी पक्राउ परे पनि अझै ३३ जना फरार छन् । उनीहरूलाई पक्राउ गर्न विशेष प्रहरी परिचालन गरिए पनि उनीहरू पक्राउ पर्न नसक्नुले पनि अपराधीको मनोबल बढेको हुनसक्छ । त्योभन्दा पनि महत्वपूर्ण कुरा चाहिँ हाम्रो समाज किन यसरी झै–झगडादेखि हत्याजस्ता जघन्य अपराधलाई पनि सामान्य रूपमा लिँंदैछ ? यो चिन्ताको विषय हो ।
प्रहरी अधिकारीहरूले नै भन्ने गरेका छन्, सामाजिक अपराध अब प्रहरीले मात्र नियन्त्रण गर्न सक्ने अवस्था छैन । त्यसको अर्थ सामाजिक अपराधका घटना नियन्त्रणका लागि समाज नै लागिपर्नु पर्ने अवस्था आएको छ । देशैभरका घटनाक्रम र आपराधिक प्रवृत्ति हेर्ने हो भने हत्याजस्ता जघन्य अपराधलाई सामान्यीकरण गर्ने क्रम बढ्दो छ । यो समाजको मानसिक अवस्थासँग पनि सम्बन्धित विषय हो । आपराधिक घटनाक्रम नियन्त्रणमा कसले ध्यान दिने भन्ने अन्योल होला तर यो समाजको विषय भएकाले समाजका हरेक व्यक्तिले चासो लिनुपर्ने विषय हो । सामाजिक रूपमा बढिरहेको यो मानसिक विकृति रोक्न सबैभन्दा बढी स्थानीय तहहरूले चासो देखाउनु र नीति निर्माण गर्नु आवश्यक छ । समाजसँग प्रत्यक्ष सरोकार राख्ने स्थानीय तहहरूले समाजमा बढ्दो यो समस्याको निराकरणको उपाय खोज्नु आवश्यक छ । सामाजिक अपराध नियन्त्रणका लागि समाजका हरेक जिम्मेवार व्यक्तिले सोच्नु पर्ने बेला आएको छ ।