उपभोक्तालाई दैनिक उपभोग्य वस्तुको भोक, व्यापारी र बिचौलियालाई नाफा बढी कमाउने भोक । उपभोक्ताको भोक र आवश्यकतालाई बढी नाफा कमाउने माध्यम बनाउनु व्यपारी र बिचौलियाको धन्दा बनेको छ । विचरा उत्पादक कृषकलाई यहाँ दोष दिने ठाउँ नै छैन । उत्पादक (कृषक) व्यापारी र उपभोक्ताबीचको सम्बन्ध एक प्रकारको आर्थिक इकोसिस्टम हो । तर यो इकोसिस्टममा एउटा युनिटले गड्बड गर्दा सबैभन्दा बढी मारमा उपभोक्ता पर्छन् र त्यसपछि उत्पादक (कृषक) । मालामाल व्यापारी र बिचौलिया हुन्छन् । उत्पादक कृषकको भूमिका उपभोक्तालाई लक्षित गरेर खाद्यान्न, फलफूल र तरकारी आफ्नो खेतबारीमा उत्पादन गर्नु हो । उसले उत्पादन गरेको वस्तु लागतमूल्यको आधारमा केही नाफा राखेर व्यापारी र बिचौलिया (एजेण्ट) लाई बिक्री गर्छ ।

व्यापारीको भूमिका ढुवानी गरेर बजारसम्म ल्याई उपभोक्तालाई बिक्री गर्नु हो । तर उपभोक्ताले बजारमा व्यापारीमार्फत् किन्दा लगाएको मूल्यको कति प्रतिशत मूल्य कृषकले प्राप्त गर्दो होला ? अवश्य पनि निकै कम प्रतिशतमात्र पाउँछ । बरु उत्पादक कृषकभन्दा पनि व्यापारी र बिचौलियाले बढी प्रतिशत मूल्य प्राप्त गरिरहेको हुन्छ । जब कि उसले त तयार भएको वस्तु होलसेलमा किनेर बजारसम्म ढुवानी गरेर ल्याई उपभोेक्तालाई थोक वा खुद्रामा बिक्री गर्नेमात्र हो । उत्पादनका लागि २ महिनादेखि ६ महिनासम्म घामपानी, भोकतिर्खा नभनी शारीरिक र मानसिक श्रम गर्नुपर्छ । यी काम व्यापारी र बिचौलियाले त गर्दैनन् । कोरोनाको महामारी, लकडाउन, निषेधित क्षेत्र घोषणाले त्रसित, आक्रान्त भइरहेको बेला उपभोक्ताको भान्सामा दैनिक प्रयोग हुने फलफूल तरकारीजन्य वस्तुमा बिचौलियाको आँखा पर्नु दुर्भाग्य भएको छ । धनकुटाको विभिन्न ठाउँका कृषकहरूले उत्पादन गरेको टमाटरको होलसेल (थोक) मूल्य नै हालसम्मकै उच्च विन्दुमा पुगेपछि महँगो हुनुको कारण खोज्दै जाँदा तीनदेखि ६ तहका बिचौलियाहरू बढी नाफा (कमिसन) कमाउन सक्रिय हुँदा यस्तो अवस्था सिर्जना भएको पत्ता लाग्यो ।

अहिलेको अवस्थामा प्रतिकिलो बढीमा ८० देखि ८५ रुपैयाँसम्म पर्ने टमाटर धरानका बिक्रेताले थोक मूल्यमै प्रतिकेजी १ सय १० रुपैयाँमा बिक्री गरेको पाएपछि अनुगमन समितिले टमाटर उत्पादन हुने क्षेत्रमा पुगेर अध्ययन गर्दा ‘बिचौलियाको बिगबिगी’ का कारण मूल्य उच्च भएको निष्कर्ष निकाल्यो । ‘टमाटरको पकेट क्षेत्र’ धनकुटाको बेलहारा, पात्लेखोला, हिले क्षेत्रमा प्रतिकेजी ८० रुपैयाँमा बिक्री भइरहेको भेटिएपछि त्यही टमाटर बिचौलियामार्फत् धरानका थोक व्यापारीकोमा आइपुग्दा प्रतिकेजी १ सय १० रुपैयाँ हुनु भनेको बिचौलियाले मात्र प्रतिकिलो अतिरिक्त ३० रुपैयाँ नाफा खाएको देखिन्छ । अनि, थोकबाट खुद्रा व्यापारीको पसलमा पुग्दा प्रचलित ऐनअनुसार प्रतिकिलो २० प्रतिशतसम्म नाफा राखेर बिक्री गर्दा उपभोक्ताले ८० रुपैयाँ पर्ने टमाटरलाई १ सय ३५ रुपैयाँ हाराहारी तिर्नु पर्छ । हो, यही भएको छ ब्रम्हलुट । टमाटर उत्पादन हुने पकेट क्षेत्रका स्थानीय तहसँग धरान उपमहानगर, उद्योग वाणिज्य सङ्घ र धरानका फलफूल तथा तरकारीका थोक व्यापारीबीच सिधै समन्वय भए उपभोक्ताले सस्तोमा खरिद गर्न सक्ने छन् । अनुगमन समितिले त्यहाँका कृषकहरूलाई टमाटरमात्र नभएर अन्य मौसमी फलफूल र तरकारी, सागसब्जी सिधै धरान पठाउन सक्ने वातावरण बनाउने प्रतिबद्धता पनि गरेको छ । हेरौं, बिचौलियाहरूको बिगबिगी र उनीहरूले बनाएको सञ्जाललाई अनुगमन समितिले भत्काएर उपभोक्तालाई सस्तोमा फलफूल र तरकारी उपलब्ध गराउन सक्छ कि सक्दैन ।