अहिले आफ्नो गाउँ–ठाउँ बनाउन आफ्नो गाँस कटाएर पनि सहयोग गर्न पछि पर्दैनन् भन्ने उदाहरण प्रस्तुत गरेका छन् वराहक्षेत्र नगरपालिका–३ का बासिन्दाले । वडा कार्यालयको भवन निर्माण गर्न स्थानीयले जग्गा मात्रै दिएनन्, भवन निर्माण गर्नका लागि रकमसमेत जुटाउँदै दुई महिनामै भवन ठड्याएर नमूना प्रस्तुत गरेका छन् । यसबाट के प्रष्ट हुन्छ भने गाउँवासी आफ्नो ठाउँको विकास तीव्र रूपमा भएको हेर्न चाहन्छन् । भवन निर्माणका लागि झण्डै २४ लाख १० हजारभन्दा बढी रकम गाउँवासी, विदेशमा पुगेका गाउँवासी र सामाजिक सङ्घ–संस्थाहरूले सहयोग गरे । भवन निर्माणमा हाल २२ लाख रुपैयाँ खर्च भइसकेको भवन निर्माण समितिले बताएको छ । यो जनसहभागिताको उच्चतम् अभ्यास हो । यो अभ्यास पछिल्लो समय देशभरि चलिरहेको छ । आफ्नो गाउँ–ठाउँको विकास भएको हेर्ने चाहना उत्कट छ भन्ने सन्देश पनि हो । जनता विकासको भोका छन्, उनीहरू आफ्नो गाँस कटाएर पनि आफ्नो गाउँ–ठाउँ विकास भएको हेर्न चाहन्छन् । यो यसैको परिणाम हो । आज दुई महिनामा २४ लाख रुपैयाँभन्दा बढी सङ्कलन भएर भवन ठडिनुले पक्कै पनि नयाँ सन्देश प्रवाह गरेको छ ।
भवन निर्माण हुनुपूर्व स्थानीय सरकार वराहक्षेत्र नगरपालिका र वडाबीचमा ‘वडा कार्यालय स्थापना गर्ने विषयमा’ जुन विवादहरू सतहमा आए । त्यसले नगरवासीमा राम्रो सन्देश गएन । नगरपालिकाको चाहना एक ठाउँमा र वडावासीको चाहना अर्को ठाउँमा भएकै कारण केही समय वडा कार्यालय बन्ने कि नबन्ने भन्ने प्रश्नमा रुमल्लिरह्यो । हरेक विकास निर्माणमा राजनीतीकरण गरिनु राम्रो होइन । आमनागरिकको चाहना र उनीहरूको मनोभावलाई बुझ्न सक्नु चाहिँ जनप्रतिनिधिहरूको चतु¥याइँ हो । राजनीति देश सञ्चालन गर्ने संयन्त्र हो । तर, त्यही राजनीति विकासको बाधक बनिदियो भने त्योभन्दा गलत केही पनि होइन । जहाँ बने पनि वडावासी विकास चाहन्छन्, उनीहरू विकासका भोका छन् । झण्डै २० वर्षपछि प्राप्त गरेको जनप्रतिनिधिबाट पहिलो शर्त विकास नै चाहन्छन्, त्यसपछि मात्रै अन्य कुराहरू । हाम्रा जनप्रतिनिधिहरूले जनताको मनोभावलाई बुझ्ने गरी काम गर्नुचाहिँ दूरदर्शिता हो । आज नगरपालिकाले सहयोग नगर्दा पनि त भवन दुई महिनामै ठडियो । भोलि त्यहाँका जनताले राजनीतिज्ञको नालायकीपनको हिसाबकिताब राख्नेछन्, यसतर्फ पनि सचेत बन्नु पर्छ ।
वडा कार्यालय जहाँ बने पनि वडावासीका लागि त्यत्रो फरक पर्ने कुरा होइन । किनकि एउटा वडाको क्षेत्रफल कति नै होला र ? जहाँ आफ्नो सेवा लिन असहज होस् । जनताले नबुझेका विषयमा बुझाउने दायित्व पनि जनप्रतिनिधिहरूको हो । उनीहरूलाई कुनै समस्या हुन्छन् भने घुम्ती कार्यक्रमहरू राखेर पनि सेवासुविधा दिन सकिन्छ । त्यसबारेमा जनप्रतिनिधि चनाखो हुनुपर्छ । वडा कार्यालयले दिने सेवासुविधाका लागि वडाबासीले आफ्नो वडा कार्यालय पायक पर्ने स्थानमा होस् भन्ने चाहना राख्नु गलत होइन । त्यसमा स्थानीय सरकारले सबैको पहुँच हुने क्षेत्रमा निर्माण गर्नुचाहिँ ठीक हो । वडाध्यक्षले पनि आफू पायक क्षेत्रमा मात्रै राख्न खोज्नु पनि मूर्खता हो । जसरी अहिले वडावासीकै सहयोगमा भवन खडा हुन सकेको छ, त्यसमा वडाध्यक्षले भोलिका दिन वडावासीलाई दिने सेवाका विषयमा बढीभन्दा बढी संवेदनशील बन्नुपर्नेछ । वडावासीले आज भवन बनाएको हिसाबकिताब भोलि चुकाउनेछन् । वडा कार्यालयले कसरी सेवा प्रवाह गर्छ, त्यसको पनि हिसाब राख्नेछन् । आज भवन बन्नमा जसरी उनीहरूले मेहनत र लगानी गरेका छन् । त्यसका लागि वडाले वडाको विकासमा पनि त्यस्तै नमूना बन्न सक्नुपर्छ ।