‘गाउँछ गीत नेपाली ज्योतिको पङ्ख उचाली, जय जय हे नेपाल सुन्दर शान्त विशाल’ यो हरफलाई नसुन्ने, नगाउने, थाहा नपाउने नेपालीहरू सायदै होलान् । यतिमात्र होइन, स्वर साम्राज्ञी तारादेवीको सुरिलो स्वरले गाएको ‘फूलको थुङ्गा बगेर गयो’ स्वर सम्राट नारायण गोपालले गाएको ‘आजै र राति के देखेँ सपना’ जस्ता अविष्मरणीय गीतका रचनाकार समन्वयवादी कवि माधवप्रसाद घिमिरे अब भौतिक रूपमा यो संसारमा रहेनन् । उनको भौतिक शरीरले ०७७ भदौ २ गते काठमाडौं लैनचौरस्थित आफ्नै निवासमा १ सय १ वर्षको उमेरमा सदाका लागि विश्राम लिए पनि उनका कालजयी कविता र गीतका कृतिहरूले युगौंयुगसम्म जीवित मात्र राख्ने छैन, कविता मन पराउने हरेक व्यक्तिको मनमनमा सदा छाइरहनेछन् । कविता विधामा प्रखर घिमिरेलाई राज्यले राष्ट्रकविको उपनाम नै दियो । कविता सिर्जना हो । सिर्जना आफैमा चित्ताकर्षक, सन्देशमूलक, प्रेरणादायी, घतलाग्दो हुन्छ, हुनुपर्छ । उनले पनि जीवनको १ सय १ वर्षको अवधिमा यस्तै अनेक कविताको रचना गरेर नेपाली साहित्यको फाँटमा बयेली खेले । कतिलाई कविता सुनाएरै रुवाए, कतिलाई हँँसाए र कतिलाई आत्मविश्वास भरे ।

अनि राष्ट्रलाई कविता साहित्यको धनी बनाए । भनिन्छ, घिमिरेले १४ वर्षको किशोरवयमा ‘ज्ञानपुष्प’ शीर्षकको कविता रचना गरेर गोरखा पत्रमा पहिलोपटक छपाएपछि निरन्तर कविता लेखनमा सक्रिय रहे । उनले कविता छापेको समय थियो वि.सं. १९९२ मा । हुन त उनी २००५ सालमा त गोरखापत्रकै जागिरे पनि भए सह–सम्पादकको रूपमा । उनको तलब थियो मासिक ४० रुपैयाँ । भारतको वनारसबाट शास्त्री उत्तीर्ण गरेकाले भाषानुवाद परिषद्मा मासिक २५ रुपैयाँ तलबमा लेखक पदमा पनि जागिर खाए । महाकवि लक्ष्मीप्रसाद देवकोटा अध्यक्ष रहेको काव्य प्रतिष्ठानमा चार वर्ष सेवा पनि गरे । उनी कवि मात्र थिएनन् शिक्षक पनि थिए । लम्जुङको एक विद्यालयमा प्रधानाध्यापक भएर शिक्षाको सेवा पनि गरे । २०१४ सालमा तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको सदस्य भएपछि आजीवन सदस्य भए । त्यसपछि उपकुलपति र कुलपति भएर प्रज्ञाप्रतिष्ठानमा लामो समयसम्म नेपाली कविता साहित्यमा सक्रिय भएका माधवप्रसाद घिमिरेको जन्म वि.सं. १९७६ असोज ७ गते लमजुङको पुस्तुन गाउँमा भएको थियो । भारतको वनारसको क्विन्स विश्वविद्यालयबाट सर्वदर्शनमा शास्त्री गरेका घिमिरे बहुमुखी प्रतिभा लिएर जन्मेका थिए । कविता साहित्यमा स्वच्छन्दतावादी शैलीमा रमाउने उनी परिष्कारवादी कवि पनि हुन् । उनले लेखिरहेको महाकाव्य ‘ऋतम्भरा’ अधुरो रहे पनि जनजनले कवि घिमिरेलाई पूर्ण सम्झनेछन् ।

नेपाली साहित्यको भण्डार भर्न उनले अनेक कविता, खण्डकाव्य, गीतिनाटक, अनुवाद गरे । उनको पहिलो कविता कृति ‘नवमञ्जरी’ (वि.सं. १९९४) हो । घामपानी (वि.सं. २०१०), नयाँ नेपाल (वि.सं. २०१३), किन्नर–किन्नरी (वि.सं.२०३३) जस्ता कवितासङ्ग्रह सङ्कलित छन् । उनको ‘गौरी’ शोककाव्य हो । मालती मङ्गले गीतिनाटक, चारु चर्चा निबन्ध पनि लेखे । उनको निधनले नेपाली काव्यक्षेत्रको एउटा युगको अन्त्य भएको छ । माधव घिमिरेलाई समालोचकहरूले समन्वयवादी कवि भन्न रुचाउँछन् । भानुभक्त आचार्यको सहजता, लेखनाथको परिष्कार, देवकोटाको स्वच्छन्दतावादलाई एकै ठाउँमा समावेश गरेर कविता रचना गर्न पोख्त उनी नेपाली कविताको शिखर पुरुषको रूपमा नेपाली साहित्यिक इतिहासमा सुनौलो अक्षरले अङ्कित भइरहनेछन् ।