नेपालमा राष्ट्र कविको अवसान हुँदा भारतमा पनि महान् शास्त्रीय गायक पण्डित जसराजको हृदयाघातका कारण अमेरिकामा सोमबार बिहान मृत्यु भएको थियो ।

अमेरिकाको न्यूजर्सीमा रहेको समयमा उनको हृदयाघातका कारण मृत्यु भएको गायक जसराजकी छोरी दुर्गाले जानकारी दिएकी थिइन् । परिवारले लेखेको छ, ‘दुःखको साथ भन्नु परिरहेको छ, शास्त्रीय सङ्गीतका हस्ती पण्डित जसराजको हृदयाघातका कारण मृत्यु भएको छ ।’ उनको ९० वर्षको उमेरमा निधन भएको हो ।

गत जनवरीमा मात्रै उनले ९० औं जन्मदिनको खुसी बाँडेका थिए । उनले जीवनको अन्तिम प्रस्तुति अप्रिल ९ तारिखका दिन फेसबुक लाइभमार्फत् वाराणासीको सङ्कटमोचन हनुमान मन्दिरका लागि दिएका थिए । शास्त्रीय सङ्गीतमा निकै लोकप्रियता कमाएका उनले जसरङ्गी अन्दाजमा गाउँदै आएका थिए ।

उनले भारत, क्यानडा, अमेरिकालगायत देशमा आफ्ना शिष्यलाई सङ्गीत सिकाउनका लागि पुग्ने गरेका थिए । सन् १९३० जनवरी २८ का दिन हरियाणा प्रान्तको हिसारमा जन्मिएका उनले आठ दशकभन्दा बढी सङ्गीत क्षेत्रमा बिताएका थिए । गत वर्षको अगष्टमा ‘इण्टरनेशनल एष्ट्रोनोमिकल युनियन (आईएयु)’ को सौर्यमण्डलको एक ग्रहको नाम उनको नाममा राखिएको थियो । यो सम्मान पाउने उनी पहिलो भारतीय कलाकार हुन् ।