विगतमा फलामे ढोका भनेर चित्रण गरिने माध्यमिक शिक्षा परीक्षा (एसईई) यो वर्ष कोरोना महामारीका कारण विद्यालयले पठाएको आन्तरिक मूल्याङ्कनका आधारमा गरियो । केहीबाहेक धेरै उत्तीर्ण भए । कुल चार लाख ८२ हजार ९ सय ८६ विद्यार्थीले परीक्षाका लागि आवेदन दिएकोमा चार लाख ७२ हजार ७८ जना विद्यार्थी उत्तीर्ण भए । तर, यो पटक एसईईको नतिजा जीपीए विवरणबिनै सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले निर्णय गरेअनुसार जीपीए विवरणबिनै नतिजा सार्वजनिक गर्दा केही विवाद पनि सिर्जना भएका छन् । कतिपयले विद्यालयले बढी नम्बर दिएर आफ्ना विद्यार्थीहरूलाई उत्तीर्ण गराउने उद्देश्य राखेको भन्नेसम्मको कुरा बाहिर आएको छ । विद्यालय स्वयम्ले आन्तरिक मूल्याङ्कन गरेर पठाएको आधारमा प्रकाशित गरिएको एसईई परीक्षामाथि पहिलो पटक प्रश्न खडा गरिएको छ । विगतमा फलामे ढोका भनेर बनाइएको मानकमाथि नै प्रश्न तेर्सिएकोप्रति शिक्षाविज्ञ तथा विद्वान् चिन्तित बनेका छन् ।

पहिलो कुरा सरकारले कोरोना महामारीलाई आधार बनाएर एक्कासि परीक्षा नहुने भनेर घोषणा गरिनु त्रुटिपूर्ण निर्णय थियो । दोस्रो, विद्यालयलाई जुन हिसाबले आन्तरिक मूल्याङ्कन गर्ने जिम्मेवारी दिइयो, त्यो नै त्रुटिपूर्ण निर्णय हो । सरकारको अपरिपक्व निर्णयका कारण यसपटक एसईईको साखमाथि जुन प्रश्न तेर्सिएको छ, त्यसको पूर्णतः दोषी सरकार हो । सरकारलाई कोरोनाबारे ज्ञात नै थियो । सन् २०१९ अर्थात् पुस मै कोरोना फैलिएको समाचारहरू बाहिरिँदै थिए । त्यो अवस्थालाई जान्दाजान्दै पनि सरकारले पूर्वतयारी नगरी नै एकाएक चैत ५ गते साँझतिर एसईई नहुने भनेर जुन घोषणा गरिएको थियो, त्यो नै त्रुटिपूर्ण निर्णयको पराकाष्ठा थियो । दोस्रो त्रुटिपूर्ण निर्णय पहिलो निर्णयकै उपजको परिणाम थियो । सरकारले कम्तीमा पनि एसईई हुनुभन्दा अगाडि स्कुलले आफ्नै तरिकाले लिने ‘टेष्ट परीक्षा’ को लब्धाङ्क पत्र वा कपी पुनः जाँच गरेर पनि अहिलेको एसईईलाई थप प्रमाणीकरण गर्न सक्ने अवस्था थियो । तर, त्यसतर्फ सरकार र सरकारमा रहेका दिग्गजहरूले ध्यान दिएनन् । फलतः स्कुलहरूले आफ्ना विद्यार्थीलाई आफूखुसी बढी नम्बर दिए, जुन आज भइरहेको तीव्र आलोचनाको एउटा दृष्टान्त हो ।

एसईई आजसम्म जुन मान्यता र सिद्धान्तमा अडिएको थियो, ती मान्यता र सिद्धान्तहरू सिसा झैं टुक्रिए । अहिले उत्तीर्ण भएका वा गराइएका विद्यार्थीहरूले कक्षा ११ र १२ मा वा त्योभन्दा माथिको कक्षामा कस्तो परिणाम निकाल्छन् भन्ने जिज्ञासा आमजनतामा छ । आज आएको परिणामको आधारमा भोलि पनि त्यही अनुपातमा गए भने यसको मानकमाथि प्रश्न नउठ्ला । तर, भोलि त्यो स्थिति नदेखिएको हकमा भने कोरोना महामारी होइन, सरकारको सिस्टममाथि प्रश्न उठ्नेछ । त्यो बेला सरकारले के जवाफ दिन्छ ? सरकारले चाहेको भए कोरोना महामारी फैलिएको सङ्केत वा अनुमान लगाएर एसईईलाई अगावै सारेर पूरा गर्न सक्थ्यो । त्यसले सरकारले गरेको निर्णयको स्वागत पनि हुन्थ्यो र एसईई फलामे ढोका हो भनेर जुन मानक स्थापित भएको छ, त्यो मानक पनि ज्यूँका त्यूँ रहने अवस्था हुन्थ्यो । सरकारको अपरिपक्व निर्णयका कारण नै यस वर्षको एसईईको साखमाथि व्यापक प्रश्न उठेको देखिन्छ । यसको पूर्णतः जिम्मेवार पनि सरकार नै हो । सरकारले यस्ता गम्भीर त्रुटिहरू आउँदा दिनमा नगरोस््, हाम्रो आग्रह ।