धरान/ नेपालको झण्डा जलाइएको दृश्य अङ्कित म्युजिक भिडियो सार्वजनिक भएपछि अहिले सामाजिक सञ्जालमा सवत्र्र आलोचना भइरहेको छ ।

नेपालको राष्ट्रियता एवम् जातीय सद्भावविरुद्ध घृणा फैलाउने दुष्प्रयास भएको भन्दै सामाजिक सञ्जालहरूमा भिडियो गीत सम्प्रेषण गर्नेहरूविरुद्ध कारबाही अगाडि बढाउन माग गरिएको छ । सामाजिक सञ्जालमा गीतलाई प्रतिबन्ध गर्न माग गर्दै तत्काल कारबाही गर्न प्रहरीलाई सुझाव दिइएको छ । ‘देशद्रोही’ शीर्षकको उक्त गीत ‘मङ्गोल हप अफिसियल’ नामक युट्युब च्यानलबाट बाहिरिएको हो । सोमबार अपलोड गरिएको गीतको भिडियोमा निकै भद्दा तथा अश्लील शब्दहरू प्रयोग गरिएको छ ।

भिडियोमा राष्ट्रिय झण्डा जलाइएको दृश्यसमेत अङ्कन गरिएको छ । र्याप जनराको गीतको रचनाकार ¥यापर मङ्गोल ग्याल्ज ली एण्ड एटिएम रहेको उल्लेख छ । युट्युबमा प्रसारित भएलगत्तै थुप्रै खालका पृष्ठपोषणहरू आउन थालेका छन् । सामाजिक सञ्जालमा भाइरल बनेको गीतको सवत्र्र आलोचना भइरहेको छ ।

गीतविरुद्ध तत्काल ‘एक्सन’ लिन सुझाव दिइएको छ । गीतको भिडियो मकवानपुर जिल्लाको बाग्मती गाउँपालिकास्थित विष्णु आधारभूत विद्यालयको परिसरमा सुटिङ गरिएको जनाइएको छ । यसबारे राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद् राजेन्द्र लिङ्देनले ट्वीटरमा कडा आलोचना गर्दै लेखेका छन्, ‘जातीय घृणा फैलाउने र राष्ट्रिय झण्डा जलाउने कार्य कुनै पनि अर्थमा र कदापि स्वीकार्य हुँदैन । यसप्रकारको विष वृक्ष उमार्ने र मलजल गर्ने काम कसैले नगरौं ।’

सामाजिक सञ्जाल फेसबुक, युट्युबलगायतमा पनि व्यापक आलोचना भएको छ । कतिपयले गीतले साम्प्रदायिक हिंसा फैलाउने किसिमको रहेको प्रतिक्रिया दिएका छन् भने धेरैले नेपालको झण्डा जलाउने कार्य कुनै पनि रूपमा ठीक नभएको प्रतिक्रिया दिएका छन् ।

यता झण्डा जलाउने गीतको भिडियो खिच्ने टिमका क्यामेरा पर्सन इसाक लिम्बूलाई काठमाडौंको नखिपोटबाट पक्राउ गरिएको छ । महानगीय अपराध महाशाखाको टोलीले मङ्गलबार पक्राउ गरी अनुसन्धान थालेको छ । यो गीतमा संलग्न ६ जना फरार रहेका छन् । मुलुकी अपराध संहिता २०७४ को दफा १५१ को (१) अनुसार मुद्दा चलाइने भएको छ । उक्त कसूर प्रमाणित भएमा ३ वर्ष कैद वा ३० हजार रुपैयाँ जरिबाना वा दुवै हुने व्यवस्था छ ।

नेपाली काङ्ग्रेसले देशको झण्डा जलाउनेलाई तुरुन्तै कारबाही गर्न माग गरेको छ । प्रवक्ता विश्वप्रकाश शर्माले देशको झण्डा, नक्सा वा कुनै पनि प्रतीक चिन्ह जलाउनेलाई के गर्ने भनेर छलफल र बहस गरिरहन आवश्यक नभएको बताएका छन् । उनले कानूनमा स्पष्ट भएकाले कारबाही गर्न माग गरे ।