हालै सम्पन्न ४४ औं सञ्चालक परिषद् (सिनेट) को बैठकले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई चिकित्साशास्त्रको अध्ययन–अध्यापन हुने विश्वविद्यालय (मेडिकल युनिभर्सिटी) बनाउने निर्णय पारित गरेको छ । बीपी प्रतिष्ठानले सरकारबाट विश्वविद्यालयको मान्यता प्राप्त गरेमा मुुलुककै पहिलो र ऐतिहासिक मेडिकल युनिभर्सिटी हुनेछ । हाल नेपालमा सञ्चालित करिब २० वटा मेडिकल कलेजहरू त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालयलगायतबाट सम्बन्धन लिएका हुन् । ६० को दशक यता नेपालमा मेडिकल कलेज खोल्ने होडबाजी चलिरहेको छ ।
यसबीचमा मेडिकल माफियाहरू पनि क्रियाशील भए । कुनै मान्यताप्राप्त विश्वविद्यालयबाट सम्बन्धन लिएर मेडिकल कलेज खोली चिकित्साशास्त्रको अध्ययन अनुसन्धान गराउने बहानामा करोडौंको चलखेल हुने गरेको नसुनिएको होइन । कतिपय मेडिकल कलेजहरूले सरकारले तोकेको मापदण्ड पु¥याउन नसकेपछि ‘खडेबाबा’ र आर्थिक चलखेलको भरमा पनि चलाएको भनेर सञ्चार माध्यममा आएका थिए । चिकित्साशास्त्र अध्ययन–अध्यापन गराउने मेडिकल कलेजका यिनै विकृति विसङ्गति विरुद्ध प्रा.डा. गोविन्द केसी पटक–पटक आमरण अनसन बस्दै आएका छन् । अनेकौं पटक सरकारसँग सम्झौता पनि भएको छ । मापदण्ड पूरा नगरी विद्यार्थी भर्ना गर्ने, विद्यार्थीबाट महँगो शुल्क असुल्ने तर फ्याकल्टी, भौतिक पूर्वाधार, आवश्यक मेडिकल उपकरण, दक्ष शिक्षक, प्रयोगशाला, पाठ्यक्रम, लाइब्रेरी अभावका बीच चिकित्साशास्त्र अध्ययन–अध्यापन गराइन्छ । दुःखलाग्दो कुरा त कतिपय मेडिकल कलेजमा बिरामी नै भर्ना हुँदैनन् । बिरामी भर्ना नभएको मेडिकल कलेजले कसरी बिरामीको रोगको पहिचान गर्ने ? किताबबाट सैद्धान्तिक ज्ञान प्राप्त गरे पनि व्यवहारिक ज्ञान प्राप्त गर्नका लागि जुनसुकै चिकित्साशास्त्रका विद्यार्थीले बिरामी शरीर पढ्नु पर्छ । शरीर मात्र होइन, बिरामीको मानसिक अवस्था पनि पढ्नु पर्छ । बिरामी नै नआएको अवस्थामा नै कतिपय मेडिकल कलेजले भाडामा खडेबाबा ल्याएर बेडमा सुताएर राख्ने अनि निरिक्षक आएको बेला देखाउने गरेका छन् ।
तर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अवस्था यस्तो छैन । यो प्रतिष्ठानसँग आफ्नै स्वामित्वको जग्गा अर्बौं रुपैयाँ बराबरको छ । भौतिक पूर्वाधार पनि पर्याप्त छ । काठमाडौंको बाँसबारी, धरानको छाताचोक र मोरङको सुन्दरहरैंचामा सदुपयोगविहीन अवस्थामा जग्गा छ । पछिल्लो आधा दशकयता विशिष्टीकृत सेवाको पनि विस्तार भएको छ । प्रतिष्ठानसँग सबैथोक छ, सिवाय असल व्यवस्थापन । प्रतिष्ठानले ट्रमा सेण्टर, मानव अङ्ग प्रत्यारोपण केन्द्र पनि विस्तार गर्ने निर्णय गरेको छ । यसअघि पनि मातृ तथा शिशु उपचार केन्द्र (एमसिएच), क्यान्सर उपचार केन्द्र (अङ्कोलोजी) र मुटुरोग उपचार केन्द्र (कार्डियोलोजी) सेवा विस्तार गर्न भौतिक पूर्वाधार, टेण्डर, डिपिआर जस्ता सबै काम भए पनि आर्थिक हिनामिनामा लिप्त पदाधिकारीले दुहुनो गाई बनाएकाले ती अधुरै रहेका छन् । अधुरा रहेका योजना र नयाँ योजना सबै एकसाथ पूरा हुने हो भने बीपी प्रतिष्ठान स्वास्थ्य शैक्षिक संस्थाको रूपमा पूर्ण विश्वविद्यालय बन्ने निश्चित छ तर अहिलेका उपकुलपति, रेक्टर, रजिष्ट्रार र निर्देशकले कमिसनमोह त्याग्नु अत्यन्त जरुरी छ । पहिलेका पदाधिकारीहरू जस्तै कमिसन मोहमा फसेमा प्रतिष्ठान विश्वविद्यालयमा रूपान्तरण भएको अर्थ रहँदैन ।