समाजका आयामहरू बदलिँदै गएका छन् । हिजो समाजमा जस्तोसुकै परिस्थितिसँग पनि लड्थे, भिड्थे र आफू खडा हुन्थे । उनीहरूको सङ्घर्षको कथा लेख्ने हो भने पुस्तकका ठेली बन्छन् । कति उत्प्रेरक पुस्तकहरू बन्थे होलान् तर, समाजका किनारीकृत त्यस्ता पात्रहरूको चर्चा यो दुनियाँमा सायदै हुन्छ । उनीहरूको सङ्घर्षका गाथाहरू अब कहाँ चर्चा हुन्छ । ती दिन, ती महिना, तीन वर्षहरू अनेकन सङ्घर्ष गरेर हाम्रा बाजे, बराजुहरूले बिताए । सङ्घर्षको दौरानमा उनीहरू कहिल्यै हार मानेनन्, जुधिरहे, निरन्तर निरन्तर । आजको अवस्था सिर्जना गर्नमा उनीहरूको अहम् भूमिका छ । तर, अहिलेको समाजका आयामहरूको चर्चा गर्ने हो भने विल्कुल फरक छ, सङ्घर्ष गर्ने हिम्मत कसैमा छैन । त्यो सङ्घर्ष जुन सङ्घर्ष तथा पीडा, व्यथाहरूबाट हाम्रा पुर्वजहरू गुज्रिए । साउन २७ गते बिहान धरान–४ तल्लो भालुखोलाकी १३ वर्षीया ममता राईले जुन बाटो रोजिन्, अहिलेका पुस्ताहरू धेरैले यो बाटो रोज्ने गरेका छन् । आफन्तका भनाइ अनुसार उनी पढेर पैसा कमाउन चाहन्थिन् । गरिबीलाई अन्त्य गर्न चाहन्थिन् तर, त्यसका लागि सङ्घर्ष गर्न सकिनन् । हिजोको पुस्ताले यसरी नै सङ्घर्ष गर्न छाडिदिएको भए के हुन्थ्यो ? विचारणीय छ ।
अहिलेका पुस्तामा सङ्घर्ष, पिर, व्यथा, पीडालाई सहन गर्ने शक्ति छैन, छु–मन्तरका भरमा उचाइ चुम्न चाहन्छन्, जो निरर्थक छ भन्ने बुझ्न उनीहरूलाई निकै समय लाग्छ । विश्व भूमण्डलीकरणको युगमा आफ्नो धरातललाई बिर्सिएर काल्पनिक संसारमा विचरण गर्छन्, जसको परिमाण भयावह हुँदै आएको छ । नेपाल प्रहरीको तथ्याङ्कमा आर्थिक वर्ष २०७५/०७६ मा ५ हजार ७ सय ५४ जनाले आफैले आफैलाई मारेको देखिन्छ । अझ यो वर्ष थप बढेको अनुमान गरिएको छ । तर, तथ्याङ्क सार्वजनिक भइसकेको छैन । यसो हुनु हाम्रो सामाजिक संरचनाको दोष हो ? के बढ्दो भूमण्डलीकरणको दोष हो ? या के ? यावत् प्रश्नहरू वर्तमान समाज जेलिँदै गएका छन् । आत्महत्यालाई मानसिक रोगसँग जोडिन्छ । मनोविद्हरूले यसलाई मानसिक रोगकै एउटा परिणाम ठान्छन् । तर, विशेषगरी १२ देखि ३० वर्षसम्मको उमेर समूहमा हुने आत्महत्या भने ‘झट्ट रिसको आवेग’ सँग तुलना गर्ने गरिएको छ । यो किन भइरहेको छ भनेर गम्भीर अध्ययन अनुसन्धानहरू हुन सकेका छैनन् । यो नहुनुमा राज्य संयन्त्र, त्यसका मातहतका निकाय र सामाजिक सङ्घ–संस्थाको भूमिका नै दोषको कारण हो । जादुमयी परिमाण खोज्ने जुन प्रवृत्ति हाबी हुँदै गएको छ, त्यसले निःसन्देह अपराधलाई बढावा दिइरहेको छ । यो कुनै न कुनै रूपमा राजनीतिसँग पनि जोडिएको छ, भत्किँदै गएको हाम्रो समाजको संरचनासँग पनि जोडिएको छ ।
अब यसको निराकरण नै अचुक औषधि हो । पूर्णतः न्यूनीकरण हुन नसक्ला, तर हाम्रो भूमिकाका कारण एक तिहाई आत्महत्या दरमात्रै घट्न सकेमा त्यो ठूलो उपलब्धि हुन सक्छ । त्यसका लागि समाजमा भएका हरेक संरचनालाई चलायमान बनाउनु पर्छ । अझ बालबालिकाहरूलाई सानैदेखि नैतिक शिक्षा र उत्प्रेरणामूलक शिक्षामा अभिप्रेरित गर्नुपर्छ । हाम्रो शिक्षा प्रणालीलाई आयमुखी र परिणाममुखी बनाइनुपर्छ । हिजो हाम्रा पूर्वजहरूले गरेका सङ्घर्षहरूलाई देखाउने संयन्त्र निर्माण गरिनुपर्छ । केही गर्छु भनेर हिम्मत कसेका नानीहरूको प्रतिभालाई पहिचान गरेर उनीहरूलाई त्यहीअनुसारको शिक्षामा प्रेरित गर्दै जाने हो भने भविष्यमा यस्ता भवितव्यहरू केही नियन्त्रणमा आउन सक्छन् । त्यसका लागि हाम्रा सरकारी संयन्त्र, राजनीतिक दल र तिनका भातृ संस्था, सामाजिक सङ्घ–संस्था र बाल सञ्जालहरूको भूमिका महŒवपूर्ण बन्नुपर्छ । बदलिँदो सामाजिक आयामलाई त्यसैअनुरूप ढाल्नका लागि माथिका संयन्त्रको भूमिका पनि त्यहीअनुरूप हुनुपर्छ । अन्यथा हामी हाम्रो समाजलाई परिवर्तन गर्ने भनेर हिँडे पनि त्यसको कुनै औचित्य रहने छैन । अन्ततः हामी नियन्त्रित ‘रिमोट’ जस्तै हुनेछौं ।