कोरोना सङ्क्रमण विश्वव्यापी महामारी भएर फैलिने क्रम जारी छ । सङ्क्रमण रोकिने नाम निशाना देखिएको छैन । यसको तीव्र सुनामी छाल अहिले नेपालमा यसरी देखापरिरहेको छ । निकट भविष्यमा यस्तो पनि दिन नआउला भन्न सकिन्न कि सङ्क्रमितको मृत्यु भएमा शव उठाउने र अन्तिम दाहसंस्कार गरिदिने मानिस पाउन हम्मे हुनेछ । इटली, ब्राजिल, फ्रान्स, जर्मनी, अमेरिकामा तोकिएको शव दाहसंस्कार स्थल (जमिन) नै अभाव भएका समाचारहरू आए । अझै त्यस्तै समाचार आइरकेका छन् । हुन त ती मुलुकमा कोरोना भाइरसप्रति शुरुमै नजरअन्दाज गरेर मानवीय लापरबाही, सरकारी बेवास्ता भएकैले नियन्त्रण बाहिर गएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चाइनिज भाइरस भन्दै कोरोना नियन्त्रण गर्न तदारुकता देखाएनन् । आफैले मास्कसमेत लगाएनन् । मुख र नाक छोप्ने मास्क लगाउने कि नलागउने भनेर त अमेरिकामा व्यापक रूपमा चर्को बहस नै चलेको थियो । मास्क लगाउनु उपयुक्त उपाय हो भन्ने र अनुपयुक्त भन्नेहरूबीच उक्त बहस अहिले पनि जारी छ । ब्राजिलका राष्ट्रपति जाइर बोल्सोनारोले त झन् ट्रम्पभन्दा तीन कदम अगाडि बढेर कोरोना सङ्क्रमणलाई सामान्य रुघाखोकीको रूपमा परिभाषित गर्दै मास्क र सामाजिक दूरी कायम गर्नुलाई वाहियात र हास्यास्पद भएको बताएका थिए । उनले सार्वजनिकरूपमै एक –अर्काबीच अँगालो मार्दा कोरोना नसर्ने भन्दै आफ्ना नागरिकसँग हात मिलाएर अँगालो मारेका थिए ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले खोप बन्न पनि सक्ने र नबन्न पनि सक्ने भएकाले कोरोना महामारीबाट बच्न उत्तम विकल्पको रूपमा नाक र मुख छोप्ने गरी मास्क लगाउनु पर्ने, कम्तिमा दुई मिटरको सामाजिक दूरी कायम गर्नु पर्ने, साबुन–पानीले हात धोइरहनु पर्ने र सेनिटाइजरले हात सफा गर्नुपर्ने जस्ता प्रोटोकल जारी गर्दै आएको छ । तर डब्ल्युएचओको यो प्रोटोकललाई कतिपयले राजनीतिकरण गर्दै आएका छन् । कतिपयले कोरोना भाइरसको नाममा चीन र डब्ल्युएचओले व्यापारिक षड्यन्त्र गरिरहेको पनि भनेर आरोप लगाउने गरेका छन् । यिनै बेवास्ता र नजरअन्दाजले अहिले कोरोना सङ्क्रमणबाट ७ लाख ५० हजारको हाराहारीमा मानिसको मृत्यु भइसकेको छ । २ करोड ६ लाख बढी सङ्क्रमित भएका छन् । २१ औं शताब्दीमा मानव सभ्यताले अचानक आश्चार्यजनक तरिकाले भोगिरहेको यो कोरोना महामारीलाई विश्वका मै हुँ पहरेदार भन्ने र विश्वकै उत्कृष्ट स्वास्थ्य सेवा प्रणाली भएका मुलुकले पनि जित्न सकेका छैनन् ।

नेपालमा पनि केही सामाजिक सञ्जालमा आएका कमेण्टहरू हेर्दा कतिपयले कोरोनालाई नजरअन्दाज नै गरेको देखिन्छ । त्यतिमात्र नभएर पूर्ण निषेधित क्षेत्र घोषित भएको जिल्ला, स्थानीय तहहरूले लकडाउन पनि जारी राखेका छन् । तर सर्वसाधारणहरू कोही बिना मास्क हिँडिरहेका देखिन्छन् भने कोही हातमा मास्क हल्लाउँदै हिँडिरहेका हुन्छन् त अझ कोही मास्क लगाउन नजानेर हो वा जानी–जानी चिउँडोमा अड्याएर हिँडिरहेका देखिएका छन् । लकडाउन अवधिभर घरबाहिर ननिस्कन सार्वजनिक सूचना जारी गरे पनि सर्वसाधारण अनावश्यक निस्किरहेका छन् । स्वास्थ्यप्रति सचेत चिकित्सक नै आफू सङ्क्रमित भएको शङ्का लाग्दा लाग्दै पनि पीसीआर जाँचका लागि स्वाब दिएर आइसोलेट नभई बेपरबाह भेटघाटमा व्यस्त भएका छन् । कोही मौका यही हो भनेर पाँच–सातजना भेला भएर रातदिन तास खेल्नमा व्यस्त छन् । उता भीडभाड नगर्नु, सभा सम्मेलन आयोजना नगर्नु भनेर उर्दी जारी गर्ने सरकारकै स्वास्थ्य मन्त्री, पार्टीका नेता, कार्यकर्ताहरू हुलका हुल भेला, कार्यक्रम, सम्मेलन, उद्घाटनमा व्यस्त भएका छन् । यी र यस्ता सामान्य लापरबाहीकै कारण पछिल्लो समय समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएको हो । कोरोना सङ्क्रमणबाट बच्नका लागि सबैले आ–आफ्नो भूमिका, कर्तव्य, दायित्व र जिम्मेवारी पूरा गर्नु आजको आवश्यकता हो । तपाईं हामी घरैभित्र बस्यौं भने कोरोना भाइरस बाहिरको बाहिर नै आफै समाप्त हुन्छ भन्ने आधुनिक उखानलाई आत्मसात ग¥यौं भने कोरोना सङ्क्रमण थप फैलन र मानिसको अकाल मृत्यु हुनबाट जोगिन सकिनेछ ।