वैशाख १४ को त्यो तामझाम देख्दा लाग्थ्यो, कोभिड–१९ का बिरामीले साँच्चै नै राहत पाउँछन् । कोभिड–१९ बाट प्रदेश १ का बासिन्दाले सायदै ज्यान गुमाउनु पर्नेछ तर आजका दिनसम्म बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पताल सञ्चालनमा नआउनु कुरीकुरी हुने विषय बनेको छ । यो कुरीकुरी हालै नियुक्त भएर आएका प्रतिष्ठानका उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरीलाई सबैभन्दा बढी हुनुपर्ने हो । किनकि उनी आफू नियुक्त भएर आएपछि जुन रवाफ र काम गरेर देखाउने फूर्ति देखाएका थिए, अहिले आएर उनको वास्तविक कार्यशैली उदाङ्गो भएको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई ल्याएर उद्घाटन गरिँदा प्रदेश १ का बासिन्दाले निकै नै आशा गरेका थिए । किनकि धरानको बीपी प्रतिष्ठान ‘नन्प्राक्टिस इन्स्टिच्युट’ भएकाले पनि आमजनतामा विश्वास पलाएको थियो । विषय विशेषज्ञ भएको यत्रो ठूलो अस्पतालमा कोभिड अस्पताल हुनुले आमजनतामा आशा पलाउनु स्वभाविकै हो । अझ धराने जनतामा त थप रक्तसञ्चार नै भएको थियो । धरानवासीमा यो पटक प्रतिष्ठानभित्रैबाट उपकुलपति हुनुहुँदैन भन्ने लबिङ समेत थियो । त्यहीअनुसार प्रा.डा. ज्ञानेन्द्र गिरीको आगमनलाई निकै नै उत्साहपूर्ण रूपमा स्वागत गरियो पनि तर, अहिले आएर परिणाममुखी काम नगर्दा भने कुरीकुरी हुने परिस्थिति सिर्जना हुँदै गएको छ ।

लोकलाज ढाक्नका लागि पनि उनले आफूलाई साबित गर्नुपर्ने बेला हो । प्रदेश १ मा कोरोना सङ्क्रमित दिन प्रतिदिन बढ्दै गएको सन्दर्भमा कोभिड अस्पताल पूर्णरूपमा सञ्चालनमा ल्याउनु पथ्र्यो । बुधबार मात्रै प्रदेश १ मा ४८ जना सङ्क्रमित थपिएसँगै एक हजार ६ सय ११ पुगेको तथ्याङ्क छ । यसरी दैनिक दुई अङ्कको अनुपातमा कोरोना सङ्क्रमित बढ्दै जानुले कति खतरा निम्तिँदै छ भन्ने प्रष्ट हुन्छ । यो बेलामा पनि १५ शøयाको आइसियुसहितको एक सय शøयाको कोभिड अस्पताल नाममै सीमित बन्नु कत्तिको शोभनीय कुरा हो । उल्टो सञ्चालन हुनुपर्छ भन्दै धराने जनता आन्दोलित बन्नु परेको स्थिति छ । आफै सञ्चालन हुनुपर्ने कुरालाई आन्दोलन गरेर सञ्चालन गर्नुपर्छ भन्दै दबाव दिने स्थिति आउनु कहाँसम्मको लज्जास्पद कुरा हो । मङ्गलबार मात्रै कोभिड अस्पताल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन माग गर्दै उपकुलपतिको कार्यकक्षमा नेपाली काङ्ग्रेसनिकट नेपाल तरुण दल र नेपाल विद्यार्थी सङ्घले तालाबन्दी गरिनु पर्ने थियो कि थिएन । यो मनन् गर्ने विषय हो । अहिले धरानमा भुसको आगो झैं कोरोना सङ्क्रमण फैलिरहेको छ । दैनिक कोरोना सङ्क्रमित बढिरहेका छन् । कतिपय सङ्क्रमितहरू अस्पतालमा बेड नपाएर घरमै थन्किन बाध्य छन् । यो अवस्थामा त्यो घरपरिवार र छिमेकमा कस्तो वातावरण सिर्जना भएको होला ? यो बेलामा सञ्चालनमा आउन नसकेको अस्पतालको औचित्य के ?

‘बिहानीको किरणसँगै दिउँसोको अवस्थाबारे’ अगवत हुने जुन लोकोक्ति छ, त्यो लोकोक्ति डा. गिरीको हकमा पनि लागू हुँदै गएको छ । कोभिड अस्पताल अहिलेको आवश्यकता हो । सङ्क्रमण दरलाई न्यूनीकरण गर्नु अबको दायित्व हो । हाम्रोजस्तो अविकसित देशमा कोरोना फैलिन नदिनु नै पहिलो अस्त्र हो । भोलिका दिन फैलिँदै गएमा यहाँ कुनै पनि अस्पतालले धान्न सक्ने अवस्था छैन । सङ्क्रमण नियन्त्रण गर्न अस्पतालहरूमा बनाइएका निश्चित आइसोलेसनहरूलाई पूर्णरूपमा सञ्चालन गरेर अगाडि बढ्नु अहिलेको अवस्थामा हितकर हुन्छ । कोरोनाबाट सुरक्षित हुनका लागि कोभिड अस्पतालको कल्पना गरिएको हो । करोडौं रकम खर्चिएर प्रदेश सरकारले निर्माणका लागि पहल गरेको हो । यसलाई यसै खेर जान दिएर सरकारको रकम प्रयोगविहीन बनाउनु अर्को दण्डहीनताको पराकाष्ठा हो । यसबेला प्रदेश सरकारले पनि कोभिड अस्पताल के–कति कारणले सञ्चालन हुन नसकेको हो भनेर नखोजिएको देख्दा थप अचम्मित बन्नु परेको स्थिति छ । सङ्क्रमित घरघरमा बस्ने वातावरण बन्दै जाने हो भने कोरोनाबाट हामीले ठूलो मूल्य चुकाउनु पर्नेछ । त्यतिबेला प्रतिष्ठानका उपकुलपति डा. गिरीले जिम्मा लिनेछन्, हाम्रो प्रश्न ?