किसानका खेतमा धान गाँज हालेर हरियाली देखिने समय हो अहिले । तर खेतमा रासायनिक मल हाल्न नपाउँदा धानका बोट हरिया होइन, पहेँला हुन थालेका छन् । कृषिप्रधान देशमा किसानलाई मल उपलब्ध गराउने जिम्मा लिएका निकायहरू निकम्मा बन्दा खेतमा रोपिएका धान फस्टाउन सकेका छैनन् । किसानहरू भारतीय बजारबाट तस्करी गरी ल्याइएको मल महँगो दाममा किन्न बाध्य छन् । नेपाली किसानहरूको विवशता कस्तो छ भने एकातिर सरकारले मल उपलब्ध गराउन सक्दैन, अर्कातिर भारतबाट किनेर ल्याउन पनि दिंँदैन । त्यसपछि उनीहरू तस्करहरूसँग महँगो दाममा कमसल मल किनेर खेतमा छरिरहेका छन् । किसानहरूलाई मल ल्याउन नदिइए पनि तस्करहरूले भने मल ल्याइरहेका छन्, बेचिरहेका छन् ।
किसानलाई अनुदानमा मल उपलब्ध गराउने जिम्मा पाएको कृषि सामग्री कम्पनीले किसानका यस्ता समस्यामा चासो देखाएको पाइँंदैन । जसले जे जिम्मेवारी लिएर जागिर खाएको छ, त्यो पूरा गर्न सक्दैन भने त्यस्ता मान्छे त्यहाँ बसिरहन उपयुक्त हुँदैन । कि आफै राजीनामा दिएर ठाउँ खाली गर्नुपर्छ, नत्र सरकारले कारबाही गर्नु आवश्यक छ । कृषिप्रधान देशमा किसानहरूले कहिलेसम्म तस्करको भरमा खेती गर्नुपर्ने ? यो अवस्थाको अन्त्य तुरुन्तै हुनुपर्छ ।अर्को कुरा, सरकारले किसानहरूलाई बाहिरबाट किनेर ल्याउनु पर्ने रासायनिक मलभन्दा आफै उत्पादन गर्न सकिने प्राङ्गारिक मलमा प्रोत्साहन गर्नु आवश्यक छ । पहिला किसानहरू आफैले गाईवस्तु पालेर प्राङ्गारिक मल बनाउँथे । त्यही मल खेतबारीमा हालेपछि अन्नबाली लहलह भएर सप्रिन्थ्यो । उत्पादन पनि मनग्य हुन्थ्यो । गोठको मलले जमिन पनि मलिलो हुन्थ्यो । गाईवस्तुको मलबाट उत्पादित अन्न पोषिलो हुन्थ्यो ।अहिले किसानहरूले धेरै गाईवस्तु पाल्दैनन् । पाल्नेहरूले पनि गोठको मल बनाउन झन्झट मान्छन् र सजिलोको खोजीमा बजारमा पाइने रासायनिक मल किनेर खेतमा हाल्छन् । रासायनिक मलको असर बालीमा तुरुन्तै देखिन्छ । मल लगाएको केही दिनमै बाली लहलह हुन थाल्छ तर यसले हाम्रा खेतबारीको माटो बिगारिरहेको छ । अहिले यही रासायनिक मल नलगाई धान उत्पादन नहुने अवस्था आइसकेको छ । रासायनिक मल लगाएर गरिएको उत्पादन गोठको मल लगाए जत्तिको रसिलो र तागतिलो भने हुँदैन ।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)को माटो अनुसन्धान महाशाखाले केही वर्षअघि गरेको एक अध्ययन अनुसार माटोमा अम्लीयपन बढ्दै गएको पाइएको थियो । नेपालका ५२ जिल्लामा गरिएको माटो परीक्षणबाट माटोमा प्राङ्गारिक मलको प्रयोग घट्नु र रासायनिक मलको प्रयोग बढ्नु नै अम्लीयपन बढ्नुको प्रमुख कारण रहेको अनुसन्धानकर्ताहरूले बताएका थिए । माटोमा अम्लीयपन बढ्दा उत्पादन घट्ने र उत्पादनै नहुनेसमेत सम्भावना हुने विज्ञहरूले बताउँदै आएका छन् । लामो समय रासायनिक मल प्रयोग गरेका कारण माटो बिग्रिएको अवस्थामा तुरुन्तै सुधार गर्न गाह्रो छ । यद्यपि अहिले खेतमा तत्कालका लागि रासायनिक मल आवश्यक छ । सरकारले त्यसको व्यवस्थापन गरेर किसानलाई सहज बनाउनु पर्छ । अनि दीर्घकालका लागि अत्यधिक रासायनिक मल प्रयोगमा निरुत्साहित गर्दै प्राङ्गारिक मल उत्पादन र प्रयोगका लागि नीति बनाएर काम गर्नुपर्छ ।