सुन तस्करीको डरलाग्दो रूप हामीले देखिसकेका छौं । साढे ३३ क्विण्टल सुन तस्करमा संलग्नहरू अहिले पनि पक्राउ परिरहेका छन् । कतिपय छुटिसकेका पनि छन् । जसले उर्लाबारीका सनम शाक्यको हत्या मात्रै गराएन, सुन कता गयो भन्ने रहस्य अहिले पनि यथावत् नै छ । नेपालमा विगतदेखि वर्तमानसम्म तस्करी हुँदै आएको पहेँलो धातु सुन अहिले पनि रोकिएको छैन र, सायद रोकिने पनि छैन । विभिन्न बाटो र तरिका अपनाएर सुनको तस्करी कुनै न कुनै रूपमा हुँदै आएको छ भन्ने बुझ्नका लागि सीमा सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरी बलले मोरङको सीमावर्ती क्षेत्रबाट एक दिनअघि पक्राउ गरेको सुनको परिमाणले नै पुष्टि गर्छ । भारततर्फ दूध लाने बहानामा थोरै परिमाणमा सुन पक्राउ हुनुले सुनको तस्करी आजकाल कसरी भइरहेको छ भन्ने प्रमाणित गर्दछ । सुन तस्करमा ठूल्ठूला व्यापारीहरू संलग्न भए पनि भरियामात्रै पक्राउ पर्नुले हाम्रो सुरक्षा संयन्त्रको अनुसन्धानतर्फ प्रश्न खडा गर्दछ ।

मोरङको विराटनगर महानगरपालिका अर्थात् प्रदेश १ को राजधानीको दरैयाबस्ती हुँदै भारततर्फ लिएर जाँदै गर्दा २ सय ६७ ग्राम अर्थात् २३ तोला सुनसहित श्यामलसेन गुप्ता पक्राउ परे । विगतको परिमाणका हिसाबले यो एकदमै न्यून हो । तर जुन तौरतरिकाहरू अपनाएर तस्करी हुँदै आएको छ, त्यसको उदाङ्गो रूप हो । नेपाल र भारतमा सुनको मूल्य र त्यसको गुणस्तरमा फरक पर्ने भएकाले यताबाट उतातर्फ तस्करी हुने गरेको छ । अझ चीनबाट नेपाल हुँदै भारततर्फ सुन जाने गरेको छ । भारतमा सुन ल्याउन र लान कडाइ गरेका कारणले पनि व्यवसायीहरूले भरियामार्फत् विभिन्न मार्ग प्रयोग गरी ल्याउने लाने गरेका छन् । साढे ३३ क्विण्टल सुनमा मात्रै केही ठूला व्यापारी तथा त्यसका नाइके भनिएका चूडामणि उप्रेती ‘गोरे’ पक्राउ परेको देखिन्छ । अन्य तस्करी भएको हकमा भरिया मात्रै पक्राउ पर्ने र मूल व्यापारी पक्राउ नपर्नुले प्रहरी प्रशासनको अनुसन्धानमाथि नै प्रश्न उठ्छ । अन्य अपराधको हकमा भने प्रहरी जडसम्म पुग्नु र सुन तस्करीको हकमा जडसम्म पुग्न नसक्नु कहीँकतै डरलाग्दो खेल छ भन्ने बुझ्न आमजनतालाई कठिनाइ पर्दैन ।

यस्ता अपराधमा व्यवसायीलाई बचाउनका लागि प्रहरी नै सक्रिय हुनुले हाम्रो कानूनमाथि प्रश्न बारम्बार उठ्दै आएको छ । ‘सानालाई ऐन, ठूलालाई चैन’ भन्ने उखान चरितार्थ गर्नका लागि जसरी प्रहरी प्रशासनले काम गरेको छ, त्यो निमिट्यान्न हुने वातावरण कहिले तयार होला ? यो प्रश्न सरकारमाथि हो । सरकारले जबसम्म प्रहरी प्रशासनलाई खुला रूपमा काम गर्न दिँदैन, तबसम्म यस्ता गतिविधि रोकिने सम्भावना कम छ । अपराध कर्ममा लागेका ठूला घरानालाई जोगाउनका लागि सरकारी संयन्त्र नै सक्रिय भएर लाग्ने कारणले पनि सुन जस्तो बहुमूल्य धातुको तस्करी नरोकिएको हो । तस्करका भरियालाई मात्रै पक्राउ गरेर समस्याको समाधान हुँदैन । समाधानका लागि त्यससँग सम्बन्धित व्यापारिक घरानालाई नै पक्राउ गरेर कानूनको कठघरामा उभ्याइनुपर्छ । नत्र यस्ता अपराध कर्म कुनै न कुनै बहानामा भई नै रहन्छन् । भरियाहरू पक्राउ परिरहन्छन् । समस्याको जड कहिल्यै सकिँदैन । यसतर्फ राज्य नै गम्भीर हुन आवश्यक छ ।