चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसको कहरले आजसम्म आइपुग्दा ७ लाख २९ हजार ८ सय ९१ जनाले ज्यान गुमाइसकेका छन् । एक करोड ९८ लाख २३ हजार ५ सय १२ जनालाई कोरोना लागिसकेको छ । एक करोड २७ लाख ३२ हजार ३ सय ४७ जना निको भएर घर फर्किसकेको अवस्था छ । यस्तो कठिन मोडबाट हामी गुज्रिरहेका छौं । कोरोनाले आँकलन गरेभन्दा कयौं गुणा बढीको ज्यान लिने निश्चित भएको छ भने कयौं गुणालाई लाग्ने पनि देखिएको छ । सन् २०१९ मा शुरु हुँदा गरिएको अनुमानलाई विफल बनाउने गरी कोरोना भाइरसले मानव जीवनलाई अस्तव्यस्त पारेको छ । यसले आर्थिक, सामाजिक, सांस्कृतिक मूल्य मान्यतामा नै परिवर्तन ल्याइदिएको छ, धरासायी बनाइदिएको छ । सामाजिक दूरी यसैको परिणाम हो । विश्वभर विभिन्न संस्कार र संस्कृति मान्ने मानिसहरू थिए, जसलाई यो भाइरसले फरक तरिकाले सोच्न बाध्य बनाइदियो । हाम्रा सामाजिक तथा नैतिक मूल्य मान्यतालाई फरक पारिदियो । यतिसम्म कि बिहानै चियाको चुस्कीसँगै पत्रिका पढ्ने बानीलाई समेत परिवर्तन गरिदिएको छ । पत्रिकामार्फत् पनि कोरोना सर्छ भन्ने आम भयका कारण धेरैले फरक तरिकामार्फत् सूचना तथा समाचार प्राप्त गरिरहेका छन् ।

तर, हालसम्म भएका अध्ययन अनुसन्धानले त्यस्तो अवस्था देखाउँदैन । त्योबारे जनताले बुझ्न सकिरहेका छैनन् र हामीले पनि बुझाउन सकिरहेका छैनौं । भाइरस आफैमा सक्रिय हुने जीव होइन । विशेषगरी भाइरसहरू सजीव वस्तुको कोषमा जस्तैः मान्छे, रुख बोटबिरुवा, घरपालुवा वा जङ्गली जनावरहरूमा पुगे मात्रै त्यसले सक्रिय हुने अवसर प्राप्त गर्छ । निर्जीव वस्तुहरूमा उसको बाँच्न सक्ने क्षमता कम हुन्छ । विभिन्न आँकडाहरूका अनुसार फलामजन्य चिज, प्लाष्टिक जन्य चिजमा धेरै दिनसम्म बाँच्न सक्ने क्षमता भए पनि निश्चित अवधिपछि उसको मृत्यु हुन्छ । पत्रिका निर्जीव वस्तुमध्येकै एक हो । अझ पत्रिकामा हुने खस्रोपना र छिद्रका कारण पनि उसमा बाँच्न सक्ने क्षमता एकदमै न्यून हुन्छ भन्ने विभिन्न अध्ययन र अनुसन्धानले पुष्टि गरिसकेको छ । कागजमा पोरस (छिद्रैछिद्र) हुन्छ । जहाँ भाइरस बाँच्न सक्ने क्षमता न्यून हुने वैज्ञानिकहरूले पुष्टि गरेका छन् । अझ पत्रपत्रिका छापिँदा अपनाइने विधि र त्यसमा प्रयोग हुने रङका कारण पनि आफै निर्मलीकृत हुन्छ । कोरोना शुरु भएको केही समयपछि नै द इन्टरनेसनल न्यूज मिडिया एशोसिएसनले गरेको अनुसन्धानले पत्रिकाको माध्यमबाट कोरोना नसर्ने पुष्टि गरिसकेको छ । उसले ‘निर्जीव सतहहरूमा गरिएको भाइरसको फैलावट सम्बन्धी अनुसन्धान’ मा भाइरस फैलिनका लागि पत्रिकामा सबैभन्दा कम क्षमता हुने उल्लेख गरेको थियो । यसले पनि के देखाउँछ भने कोरोना भाइरस पत्रिकाको माध्यमबाट सर्छ भनेर भन्नु विज्ञानसम्मत देखिँदैन ।

विज्ञानले प्रमाणित गरिसकेका कुराहरूलाई आजको विश्वले मान्छ, मान्नुपर्छ । मानिसहरू बीचमा हुने गफगाफ तथा हौवा कुराका पछाडि लागेर पत्रिका नै पढ्न छाड्नु गलत हो । कोरोनाले मानिसको दैनिक व्यवहारमा नै परिवर्तन गरिरहेको सन्दर्भमा पत्रिका पनि त्यहीमध्ये पर्ने एउटा कुरा हो । मानिसलाई यो बेला झनै बढी सूचना तथा मनोरञ्जनको आवश्यकता छ । कोरोना त्रासका कारण मानिसहरूमा एकोहोरोपन हुने, मानसिक स्वास्थ्यमा गडबड हुने र गलत कामतर्फ आकर्षण बढ्ने भइरहेको छ । यो बेला भरपूर मनोरञ्जन दिने वस्तुहरूको छनौट गर्नुपर्छ । त्यो पत्रपत्रिका पनि हुनसक्छ । टेलिभिजन, रेडियो, एफएमहरू पनि हुन सक्छन् । पत्रपत्रिकाहरूमा सूचना मात्रै हुँदैन, मनोरञ्जन, बहस र छलफलका विषयहरू पनि हुन्छन् । त्यसले मानिसलाई उत्प्रेरित गराउँछ । बहस सिर्जना गराउँछ । जसले गर्दा जिज्ञासा उत्पन्न हुन्छ । जिज्ञासा उत्पन्न हुनु भनेको हाम्रो स्वास्थ्य थप सबल बन्दै जानु हो । कुनै पनि अफवाहको पछाडि लाग्नु हुँदैन, विज्ञानले प्रमाणित गरेका कुरालाई विश्वास गर्नु नै अहिलेको एकमात्रै विकल्प हो । हो, कोरोना भाइरस नयाँ भएकाले वैज्ञानिकहरूले थप खोज अनुसन्धानहरू गरिरहेका छन् । खोज अनुसन्धानले भोलिका दिनमा थप पुष्टि हुने आधार तयार भएमा त्यसलाई मान्नुको विकल्प नहोला । तर, हालसम्म भएका अनुसन्धानका आधारमा पत्रिकाबाट कोरोना सर्दैन भन्ने नै अन्तिम सत्य हो ।