कोरोना महामारी फैलिने क्रममा छ । कोरोना सङ्क्रमणबाट मृत्यु हुने नेपालीको सङ्ख्या पनि बढिरहेको छ । देशमा सङ्क्रमण देखिने बित्तिकै लकडाउन घोषणा गरेको सरकारले सङ्क्रमण तीव्र गतिमा फैलिन थालेको बेला लकडाउन अन्त्यको घोषणा ग¥यो । लकडाउन अन्त्यपछि समुदायस्तरमै कोरोना फैलिइरहेको छ । यस्तो सङ्कटका बेला सरकार र प्रतिपक्ष एक ठाउँमा उभिएर सङ्कट विरुद्ध लड्नुपर्ने हो । देशवासीलाई महामारीबाट बचाउन हरसम्भव प्रयास गर्नु सरकार र राजनीतिक दलहरूको कर्तव्य पनि हो । तर यो बेला सरकार सञ्चालन गरिरहेको दल नेकपाभित्रै कुर्सीको रडाको छ । दुई अध्यक्ष रहेको नेकपाकै एक अध्यक्ष पुष्पकमल दाहालको समूहले प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामा दिन केपी शर्मा ओलीलाई दबाव दिएको लामो समय भयो । तर ओली दुवै पदबाट राजीनामा नदिने अडानमा छन् । पछिल्लो समय दुई अध्यक्ष समूहबीच सचिवालय बैठक पहिले कि स्थायी कमिटी बैठक पहिले भन्ने विवाद शुरु भएको छ ।

ओली पक्ष पहिला सचिवालय बैठक हुनुपर्ने अडानमा छ भने प्रचण्ड पक्ष स्थायी कमिटीको बैठक हुनुपर्ने अडानमा छ । दुई अध्यक्ष बेग्लाबेग्लै गुटबन्दी गरेर आफ्ना अडानबाट टसमस नभएपछि विवाद अझै लम्बिने सङ्केत देखिएको छ । महामारीका बेला गुटगत स्वार्थमा रुमल्लिएर रडाको मच्चाउनु हुँदैनथ्यो । यो कुबेलाको रडाकोमा अल्झिएको नेकपाका कारण देशवासीमा निराशा छाएको छ । एकातिर लामो समयको लकडाउनले देशको अर्थतन्त्र धरासायी बनेको छ । अर्कातिर भर्खरै खुलेको लकडाउनले नागरिकको जीवन खतरामा पारेको छ । आम नागरिक सचेत नबन्दा समुदायस्तरमा फैलिएको कोरोना सङ्क्रमण नियन्त्रण गर्न गाह्रो भएको अवस्था छ । यस्तो बेला सरकारमा रहेको दल मात्र होइन, प्रतिपक्षमा रहेकाहरू पनि जुटेर चेतना जगाउनेदेखि नीति निर्माणमा लाग्नु पर्ने हो । तर सरकारमा रहेको दल नै आफैभित्र रडाको मच्चाएर झगडामा उत्रिनु दुःखद् हो ।

पार्टीभित्रको आन्तरिक कलहले आम नागरिकमा निराशा पैदा गरेको प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पनि महसुस गरेको हुनुपर्छ । त्यसैले मङ्गलबार उनले कोरोना रोकथामको विषयमा विज्ञहरू र राजनीतिक दलका नेताहरूसँग छलफल गरे । तर छलफलले गतिलो निष्कर्ष भने निकालेन । ओलीले दलहरूसँग सङ्कटलाई गम्भीर रूपमा लिनुपर्ने त बताए तर उनी आफै र उनको दलले भने अहिलेसम्म गम्भीर रूपमा लिएको देखिँंदैन । मङ्गलबारकै छलफलमा पनि ओलीले आफ्नै दलभित्र केन्द्रीय कमिटी बैठक बस्नुपर्ने दबाव आइरहेको बताए । उनले सरकारले मात्र कोरोना रोक्न नसक्ने बताएका छन् । यसको अर्थ सरकारले मात्र रोकथाम गर्न सकेन, अब अरूले पनि सहयोग गर्नु प¥यो भन्ने हो । यो बेला अन्य दल र नागरिकले पनि सरकारलाई सहयोग अवश्य नै गर्नुपर्छ तर सरकार सबैको अभिभावक भएकाले सरकारमा रहनेहरू पनि यो बेला आन्तरिक द्वन्द्वमा होइन, सहकार्यमा लाग्नुपर्छ । अभिभावकले सही बाटो निर्देश गरे न अरू पनि त्यही बाटोमा हिँड्ने हुन् । त्यसैले यतिबेला कुर्सीको लडाइँ छाडेर नेकपा नेताहरू एकजुट हुनु आवश्यक छ । आपसी विवादमा उत्रिने समय र ऊर्जा कोरोना नियन्त्रणमा खर्चिनु आवश्यक छ ।