चीनको बुहानबाट फैलिएको कोरोना भाइरस अमेरिका, युरोप, खाडी मुलुक हुँदै भारतमा सुरु हुँदा चैत ११ गतेदेखि तीन महिनासम्म सरकारले लकडाउन ग¥यो । लकडाउन गरेको अवधिसम्म नेपालमा ट्राभल हिस्ट्री नभएका व्यक्तिलाई कोरोना संक्रमण भएको थिएन । जतिमा सङ्क्रमण देखिएको थियो भारत, साउदी, कतार लगायत विदेशबाट घर फर्केकाहरूमा मात्र देखिएको थियो । तर पछिल्लो दुई साता यता नेपालमा कोरोनाको सन्दर्भमा परिस्थितिले ३६० डिग्री फन्को मारेको छ । अर्थात समुदायस्तरमा कोरोना फैलिएको पुस्टी भइसकेको छ, ट्राभल हिस्ट्री नै नभएका व्यक्तिहरुलाई कोरोना संक्रमण हुन थालेपछि । विदेश नगएका चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, प्रहरी, सेना र सर्वसाधारणमा व्यापक रूपमा कोरोना संक्रमण देखिनु चिन्ताको विषय भएको छ । अब अर्को लकडाउन घोषणा गर्नुको विकल्प छैन । कोरोना संक्रमण फैलिनुमा सरकारमात्र जिम्मेवार छैन नागरिकहरु पनि उतिकै जिम्मेवार छन् ।

विश्व स्वास्थ्य संगठन (डव्लुएचओ), सरकार र चिकित्सकहरुले कोरोनाबाट बच्न फेशमास्क अनिबार्य लगाउनु पर्ने र दुइजनाको वीचमा कम्तिमा दुइ मिटरको दुरी कायम राख्नु पर्ने, भिडभाड गर्न नहुने, साबुन पानी वा सेनिटाइजरले हात बारम्बार सफा गनुृ पर्ने प्रोटोकल जारी गरेको छ । तर यी प्रोटोकललाई शिक्षित मुर्खहरुले पालना गरेको देखिएको छैन । मन्त्री नेता, पदाधिकारीहरुसमेत भिडभाडमा भाषण गर्न दौडधुप गरिरहेका छन् । कतिपयले यही समयमा विहे भोज पार्टी, बर्थ डे पार्टी गरेर भिड जम्मा गर्ने गरेका छन् । लकडाउन खुलेपछि सरकारले सामाजिक दुरी कायम गरेर मात्र सार्वजनिक सवारी साधनमा यात्रुलाई बस्न दिनु भनेपनि यो नियम पालना भएको देखिएन । अस्पताल, सरकारी कार्यालयहरुमा पनि सामाजिक दुरी कायम राख्ने प्रयास भएन । कतिपय संक्रमित भएका व्यक्ति क्वारेन्टाइनमा बसेको बेला विचैमा भागेर गायव पनि भए । भारतबाट लुकी लुकी आएका आफन्तलाई लुकाएर राख्ने कामपनि भयो । निजिक्षेत्रका व्यापारी व्याबसायीहरुलाई नाफा कमाउनकै लागि चिन्ताले सताएर कुनै नियमको पालना नगरी पसल व्याबसाय संचालनमा ल्याए ।

नागरिक स्तरबाट कोरोना फैलाउने भूमिका यसरी भयो । सरकारी स्तरबाट कोरोना नियन्त्रण र रोकथामकालागि जति प्रभावकारीरुपमा गर्नु पथ्र्यो त्यति भएन । औषधी, उपकरण खरिदमा कमिसनकै चक्करले उपल्लो तहका सरकारी कर्मचारी, नेता मन्त्रीलाई नराम्ररी गांज्यो । पिसिआर परीक्षणको दायरा तिव्ररुपमा बढाउनु पर्नेमा घटाउदै लगियो । कतै किट अभाव भयो, कतै पिसिआर मेसिन, कतै प्राविधिक अभाव भयो त कतै भिटिएम । लकडाउन अवधिमा कोरोना संक्रमण खासै नदेखिएपछि कोरोना अस्पतालमा आइसियु बेडहरु थप्न ढिलाई भयो । यसैबेला सरकारले पनि विना तयारी एकाएक लकडाउन खोल्यो । अहिले समुदाय स्तरमा कोरोना फैलिएको चिकित्सकहरुले विष्लेशण गरिसकेका छन् । तर सरकार अवको रणनिति के अपनाउने भन्नेमा अलमलिएको छ । कोरोना नहुदा लकडाउन गर्ने तर समुदायमै फैलिएको बेला सरकारी स्तरबाट कुनै घोषणा नभएपछि स्थानीय तहले आफै शील गर्दै लकडाउन गर्न थालेका छन् । यता धरान उपमहानगरपालिकाका जनप्रतिनिधिहरु भने अलमलिएका छन्, लकडाउन गर्ने कि नगर्ने भनेर । सर्वसाधारण र चिकित्सकहरुले त लकडाउन गरेर पिसिआर परीक्षणलाई तिव्रता दिन माग नै गरिसकेका छन् । कोरोना रोकथाम र नियन्त्रणमा जति ढिलो गरियो त्यति नै मानवीय क्षति व्यहोर्नु पर्ने भएकाले बेलैमा सचेत सजक भएर लकडाउन गर्नु अहिलेको आवश्यकता हो ।