बीपी कोइरालाले भनेका थिए–म साहित्यमा अराजकतावादी हुँ तर राजनीतिमा होइन । बीपी कोइराला राजनीतिको सन्दर्भमा स्पष्ट थिए, समाजमा कानूनी शासन हुनुपर्छ, सुशासन हुनुपर्छ, जवाफदेही हुनुपर्छ । तर, पछिल्लो समय नेपाली राजनीति वृत्तमा अराजकता मौलाउँदै गएको छ । कुशासन निम्तिँदै छ । जवाफदेहिता मर्दै गएको छ । यो राम्रो सङ्केत होइन । यसले कहीँ न कहीँ दुर्घटना निम्तिने खतरा छ । त्यसमा पनि दुईतिहाई मत पाएको सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मै यो सङ्केत देखिनु राम्रो कुरा हुँदै होइन । गएको असार १४ गते यतादेखि राजनीतिको रङ्गमञ्चमै देखिएको ताण्डव नृत्य नेताको हकमा ठीक होला, जनताको एङ्गलबाट ठीक हुँदै होइन । नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो अडानमा लिट्टी कसरे लागेका छन् भने अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित माधव नेपाल पक्षधरहरू प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामा दिनुपर्छ भन्ने कित्तामा उभिएका छन् । दुई अध्यक्षबीचको रस्साकस्सीमा पार्टीका शीर्षस्थ नेता त जोडिने नै भए, अन्ततः नेकपासँग जोडिएका पार्टीका तल्ला तहका कार्यकर्ताहरू पनि जोडिएका छन् । यो नेपाली राजनीतिका लागि असल सङ्केत हुँदै होइन । हेर्दा पार्टीभित्रको आन्तरिक द्वन्द्व भए पनि नेकपा सरकारमा पनि भएकाले यसको दूरमागी असर नेपाली जनतालाई परिरहेको छ । अझ कोरोना भाइरसको महामारीका बेला भइरहेको यो ताण्डव नृत्यलाई नेपाली जनतालाई पक्कै मनन् गरिरहेका छन्, यो कुरा नेतृत्व तहले भुल्नु हुँदैन ।
२०४६ सालको प्रजातन्त्र पुनर्वहालीपछि नेपाली काङ्ग्रेसले यस्तै गरी दुईतिहाईको एकमानो सरकार बनाउने अवसर प्राप्त गरेको थियो । तत्कालीन अवस्थामा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री थिए । पार्टीभित्रको अन्तरकलह र गिरिजाको आफ्नो दम्भका कारण साढे ३ वर्षमा दुईतिहाई सरकार गिराएर मध्यावधि निर्वाचनमा गए, त्यसको परिणाम २०४० को दशकपछि जन्मेका अधिकांशलाई अवगत नै छ । गिरिजाको मनोगत सोचको परिणाम के भयो यहाँ भनिरहनु पर्दैन । जनताले सबैलाई एकपटक अवसर दिन्छ । अझ नेपाली जनताले त झन् ५ वर्षपछि नै नयाँ शक्तिलाई स्थान दिँदै आएको पनि यहाँका राजनीतिक दलले भुल्नु हुँदैन । थप भुल्न नहुने कुरा के हो भने सत्ताधारी दलले आफूलाई जहिले पनि संयमित भएर विकास, समृद्धि र दीगो लक्ष्यका साथ अगाडि बढ्नु अहिलेको विकल्पहीन विकल्प हो । जनताको मागलाई सम्बोधन गर्नुपर्छ । एकमानो सरकार बनाउनका लागि कम्युनिष्टलाई पहिलो पटक जनताले अवसर दिएको छ । यो अवसरलाई भरपूर प्रयोग गरेर अगाडि बढ्नु नै अहिलेको माग हो । नत्र सन् १९७७ बाट २०१२ सम्ममा भारतको पश्चिम बङ्गालमा एक छत्र राज गरेको कम्युनिष्ट सरकारको हबिगत टाढा छैन । अझ नेपाली जनता त त्यति धेरै लामो समयसम्म पनि कुर्न सक्ने अवस्थामा छैनन् । २००७ सालको प्रजातन्त्रपछिको राजनीतिक उतारचढावलाई हेरे नै काफी हुन्छ । नेपाली जनताले कसरी पार्टीहरूलाई अवसर दिए, र कसरी खुम्च्याए ।
कम्युनिष्ट व्यक्तिको होइन, विधि र पद्दतिको शासनमा विश्वास गर्छ । वर्ग सङ्घर्षलाई आत्मसात गर्ने कम्युनिष्टको यो चरित्र हुन सक्दैन । नेपाली राजनीतिमा जुन चरित्र देखिएको छ, यो चरित्र कुनै पनि असल राजनीतिज्ञ र राजनीति दलका लागि सुहाउँदो कुरा होइन । हिजो काङ्ग्रेसको सरकार हुँदा भ्रष्टाचार भयो, कुशासन भयो, अनियमितता भयो, जवाफदेहिता भएन भन्दै प्रश्न गर्न नथाक्ने कम्युनिष्टहरूले आज जुन चरित्र देखाएका छन् त्यो कम्युनिष्टको चरित्र होइन, यो त कमाउनिष्टको चरित्र हो । कम्युनिष्ट भाग्यवादमा कसरी विश्वास गर्न पुग्यो ? अध्यात्मिक चिन्तन कसरी राख्न पुग्यो ? आश्चर्यजनक छ । यसलाई नसुधार्ने हो भने भोलिका दिन पश्चिम बङ्गालको हविगत हुन बेर लाग्दैन । कम्युनिष्ट सरकारबाट यतिबेला आममतदाता निराश छन् । कम्युनिष्ट सरकारबाट यो होला भन्ने अपेक्षा गरेका थिएनन् । कोभिड १९ को महामारीका बेला सबै दल तथा तह तप्कालाई एकसूत्रमा बाँधेर समस्या हल गर्नुपर्ने बेलामा आन्तरिक कलहमा फस्नु यो जतिको घीनलाग्दो राजनीति हुन सक्दैन । सच्चिने बेला अझै पनि छ । अबको दुई वर्षभित्र पुनः अर्को चुनाव आउँदै छ । त्यसलाई सत्तारुढ दलले भुल्नु हुँदैन । हिजो कुनै बेला प्रधानमन्त्री केपी शर्मा ओलीले काङ्ग्रेसलाई इङ्गित गर्दै ‘अब सत्तामा आउने सपना नपाले हुन्छ’ भन्ने कटु वचन आफूतिर फर्किने निश्चित छ । त्यो बेला कुरीकुरी हुनुको विकल्प बाँकी रहने छैन ।