सरकारले लकडाउन अन्त्यको घोषणा गरेको एक साताभित्रै समुदायस्तरमै कोरोना सङ्क्रमण फैलिन थालेको छ । समुदायमा कोरोना फैलिन थालेपछि स्थानीय तहहरूले कतै पुनः लकडाउन गर्न थालेका छन् भने कतै अत्यावश्यक बाहेकका सेवा बन्द गर्न थालेका छन् । कोरोना सङ्क्रमण देखिने बित्तिकै लकडाउन घोषणा गरेको सरकारले सङ्क्रमितको सङ्ख्या दैनिक बढिरहेको बेला लकडाउन अन्त्य ग¥यो । त्यसपछि जोखिम झनै बढेको छ ।
सरकारले लकडाउन अन्त्य गरे पनि सुरक्षाका उपाय अपनाउन पर्याप्त जनचेतना जगाउनु पथ्र्यो तर त्यसो गर्न नसक्दा आम नागरिकले लकडाउन अन्त्य हुनुलाई कोरोना नै अन्त्य भए झैं गरेर बिना सतर्कता जथाभावी हिँड्न थाले । व्यक्तिगत सुरक्षासमेत नअपनाई मनखुसी हिँड्ने क्रम बढ्यो । सरकारले यस्तो अवस्थामा पनि सचेत गराउन पर्याप्त उपाय अपनाएन । त्यसैको परिणाम अहिले आम सर्वसाधारणमा मात्र होइन, सङ्क्रमणप्रति सचेत रहने चिकित्सक, प्रहरी कर्मचारीहरूमै सङ्क्रमण फैलिन थालेको छ । समुदायस्तरमा यसरी फैलिरहेको सङ्क्रमण नियन्त्रण गर्न सरकारसँग अहिले पनि पर्याप्त तयारी छैन । यो चिन्ताको विषय हो ।
सङ्क्रमितको सङ्ख्या समुदायमा भित्रभित्रै फैलिइसकेपनि आवश्यक मात्रामा परीक्षण गर्न सरकार असक्षम देखिएको छ । परीक्षण नभएकाले सङ्क्रमितहरू समुदायमा खुल्लम खुल्ला घुमिरहँदा उनीहरूबाट धेरैलाई सङ्क्रमण फैलिरहेको छ । त्यसले अझै विकराल रूप लिने सम्भावना छ । स्वास्थ्य विज्ञहरूले लकडाउन अन्त्य भए पनि कोरोना सङ्क्रमण अन्त्य नभएकाले पहिला जस्तै जीवनशैली नअपनाउन पटक–पटक आग्रह गरे पनि त्यसलाई न सरकारले गम्भीर रूपमा लियो, न नागरिकले नै । विज्ञहरूका कुरालाई बेवास्ता गर्दै सडक, बजारतिर भीड जम्मा हुन थालिहाल्यो । सरकार र नागरिक दुवैको त्यही बेवास्ताको कारण अहिले समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिइरहेको छ । सरकारले लकडाउन अन्त्य गर्ने, पसल र यातायात खोल्ने निर्णय हचुवाको भरमा गरेको छ । यो निर्णय गर्नुअघि सरकारले कसरी खोल्ने, के के गर्ने भनेर मापदण्ड बनाउनु पर्ने थियो । तर त्यसो गरेन । सरकारले नै बेवास्ता गरेपछि आम नागरिक पनि सचेत भएनन् । सरकारले लापरबाही गरे पनि अब नागरिक आफै सचेत हुनुपर्ने अवस्था आएको छ । सरकार वा अरू कसैको भर पर्नुभन्दा आफ्नो सुरक्षाका लागि आफै सचेत भएर काम गर्नुपर्ने अवश्था आएको छ । सङ्क्रमणको गति तीव्र रूपमा फैलिइरहेकाले आफ्नो सुरक्षाका लागि अपनाउनु पर्ने उपायहरू अपनाएर मात्र बाहिर निस्कौं । सकेसम्म बिना काममा बाहिर ननिस्कौं । एक जनाले लापरबाही गर्दा सयौंमा सङ्क्रमण फैलिन सक्ने भएकाले हरेक व्यक्ति सचेत भएर काम गर्नुपर्ने अवस्था छ ।