धरान र इटहरी उपमहानगरपालिका प्रदेश १ का आधुनिक शहरका रूपमा दरिएका छन् । प्रदेश १ का उपमहानगरपालिका पनि हुन् । विकास, निर्माण र आधुनिकीकरणमा तीव्र रूपमा गति लिएका विकासोन्मुख यी शहरहरूको रफ्तारमा कुनै शङ्का छैन । तर विकास र निर्माणमा जसरी रफ्तारमा बढेका छन्, शहरबाट निस्कने फोहोर व्यवस्थापनमा भने आफै फोहोर छन् ।
कुनै पनि शहर आधुनिक र विकसित मान्ने कसी सायद त्यो फोहोर व्यवस्थापन नपर्नु विडम्बना हो । फोहोरको उचित व्यवस्थापन अभावमा यी शहरको सौन्दर्यमा मात्र दाग लागेको छैन कि नागरिकसमेत स्वास्थ्य समस्यामा परेका छन् । यही फोहोरका कारण कृषकसमेत अन्यायमा परेका दृष्टान्त धेरै छन् । संविधानको धारा ३० ले प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हक प्रदान गरेको छ । फोहोरमैला व्यवस्थापन ऐन २०६८, वातावरण संरक्षण ऐन २०७६, जनस्वास्थ्य सेवा ऐन २०७५ र वन ऐन २०४९ ले जथाभावी फोहोर फाल्न निषेध गरेका छन् । तर प्रदेश १ का सभ्य र भव्य शहरले संविधान र ऐन कानूनको धज्जी उडाएका मात्र छैनन्, जनस्वास्थ्य, पर्यावरण नै ध्वस्त पार्ने काम गरेका छन् । अब पनि उपमहानगरहरूका नेतृत्वहरू गम्भीर नहुने हो भने दुई शहरका करोडौं मानिस स्वास्थ्य समस्यामा पर्ने निश्चित प्रायः छ ।
फोहोरकै कारण स्थानीयवासी श्वास–प्रश्वास, दमजस्ता भयानक रोगको शिकार भएको समाचार सार्वजनिक भएको छ । फोहोरबाट निस्किएको विषाक्त धुवाँले ५० वर्ष कटेका अधिकांश नागरिकलाई बाँच्न मुस्किल बनाएको छ । फोहोरको धुवाँबाट निस्किएका केमिकलहरूले दम, क्यान्सर, हार्टअट्याक, डाइविटिज, हाडजोर्र्नी दुख्नेलगायतका समस्या निम्त्याउने विज्ञहरूले सार्वजनिक गरिसकेका छन् । त्यस्ता समस्या भएका शहरमा मानिसको सङ्ख्या पनि उत्तिकै बढेको तथ्याङ्क छ । अब धरान र इटहरीले आधुनिकीकरण मात्र सोचेर हुँदैन । सुविधा सम्पन्न बनाउनतिर मात्र ध्यान दिएर हुँदैन् । त्यस शहरमा बस्ने नागरिकको स्वास्थ्यप्रति पनि उत्तिकै ध्यान दिनु पर्दछ । रोगी, अशक्त गरिबहरूको भव्य शहर होइन, सुखी, समृद्ध नागरिकको शहर बनाउने तिर नेतृत्वले बहस शुरु गर्नु पर्दछ । दुवै शहरले फोहोर व्यवस्थापनको नारा लगाएको धेरै भइसकेको छ । शुरु गरेको भन्ने समाचार पनि आएका छन् । तर फोहोर समस्या समाधान भएको सुन्न पाइएको छैन । नगरले व्यवस्थापनका लागि शुरु गरेका योजना कता अड्किरहेको छ, त्यसको प्रभावकारी अनुगमन गरी शहरलाई स्वस्थ नागरिकको भव्य शहर बनाउन आजैदेखि सोचौं । रोगीहरूको शहर हुनबाट जोगाऔं ।