विश्वव्यापी कोरोनाको त्रास छ । शुरु–शुरुमा निकै त्रास भएपछि नेपाल सरकारले चैत ११ गतेदेखि लकडाउन ग¥यो । सरकारले लकडाउनमात्र गर्यो तर सुरक्षाको उपायतिर खासै ध्यान नदिएर आफ्नै समस्यामा अल्मलियो । सर्वसाधारणले बुझे, लकडाउन गरेपछि कोरोना भाग्यो । त्यसपछि फेरि लकडाउन खुकुलो बनाउँदै यातायात, बजार सबै खोल्यो । लकडाउनले कोरोना भागेको भ्रममा परेका सर्वसाधारण लकडाउन अवधिभरको उकुस–मुकुसबाट बाहिर निस्केर लापरबाहीपूर्ण व्यवहारमा लागे। केही महिना अघिसम्म भनिदै थियो, नेपालमा भारत र अन्य मुलुकबाट आएकाहरूमा मात्र कोरोना देखिएको छ । समुदायस्तरमा फैलिएको छैन । तर यो बुझाइ पनि पछिल्लो समयमा आएर गलत सावित हुन थालेको छ । किनकी दुई सातायता मोरङ, सुनसरी र झापामा ट्राभल हिस्ट्री नै नभएका सर्वसाधारणमा कोरोना सङ्क्रमण देखिएको छ । प्रहरी, सशस्त्र प्रहरी, सेना, बिरामीको उपचार गर्ने चिकित्सक, नर्सहरूमा एकपछि अर्को गर्दै कोरोना सङ्क्रमण देखिन थालेको छ । सुरक्षाकर्मीहरू बढीजसो भीडभाडमै जाने हुन् । रातदिन उनीहरूले मानिसको भीडमै ड्युटी गर्नु पर्छ । स्थानीय समुदायकै शान्ति सुरक्षाका लागि खटिएका प्रहरी सुरक्षाकर्मीमा कोरोना देखिनुलाई समुदायस्तरमा कोरोना फैलिएको विश्लेषण गर्न सकिन्छ । कतै विदेश नगएर स्वदेशमै सीमा नाका र नागरिक सुरक्षामा खटिएकै बेला सुरक्षाकर्मीहरू कसरी र कसको सम्पर्कबाट सङ्क्रमित भए भन्ने तथ्य खुल्न नसक्नुले पनि समुदायस्तरमा कोरोना फैलिएको गतिलो सङ्केत दिन्छ ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत १९ जना प्रहरीको पीसीआर जाँच गर्दा गत आइतबार कोरोना सङ्क्रमण देखिएपछि विराटनगर महानगरपालिकामा बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले कोरोना भाइरस समुदायस्तरमा फैलन सक्ने खतरालाई मध्यनजर गर्दै सामाजिक दूरी र स्वास्थ्य सचेतनाका मान्यताहरूलाई कडाइपूर्वक कार्यान्वयन गर्ने निर्णय गरेको छ । महानगरपालिकाले घरनक्सा पास गर्ने, सामाजिक सुरक्षा भत्ता वितरण तथा कार्ड नवीकरणजस्ता काम केही समयपछि गर्न सकिने भन्दै तत्काल नगरी नहुने काम मात्र गर्ने निर्णय गरेको छ । सबैतिर सङ्क्रमणको जोखिम भए पनि प्रदेश सरकारले हाल मोरङ, झापा र सुनसरीमा समुदायस्तरमा कोरोना पुगेको विश्लेषण गरेको छ । मोरङको विराटनगर, सुनवर्षी, झापाको कचनकवल, काँकडभिट्टा र सुनसरीको इनरुवा, इटहरी क्षेत्रलाई बढी संवेदनशील रूपमा हेरिएको छ ।
कुनै पनि व्यक्ति सङ्क्रमित भएपछि कसरी र कोबाट कोरोना स¥यो भन्ने स्रोत पत्ता लगाउन नसक्नुलाई नै समुदायस्तरमा फैलिएको मान्न सकिन्छ । समुदायस्तरमा फैलिएपछि कन्ट्याक्ट टे«सिङ गर्न हाम्रो बलबुताले भ्याउँदैन । सिङ्गापुरमा जोसुकै व्यक्ति घरबाहिर निस्केपछि ऊ होटलमा जाँदा होस् या कुनै पार्क, बस, कार्यालय वा सपिङ मलमा, प्रत्येक पाइला–पाइलामा डिजिटल सिस्टमले निगरानी गरिरहेको हुन्छ । त्यहाँ एकजनालाई सङ्क्रमण हुनासाथ कन्ट्याक्ट ट्रेसिङ गर्दा थाहा भइहाल्ने प्रणाली छ । तर हाम्रो जस्तो मुलुकमा कार्यालय, चोक, गल्ली, सवारी साधन, व्यापारिक र शैक्षिक प्रतिष्ठान, अस्पतालहरू प्रविधिमैत्री नभएकाले सङ्क्रमितको पहिचान गर्न असम्भव जस्तै भएकाले मास्क लगाउने र सामाजिक दूरी कायम गर्नुको विकल्प छैन । नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या पहिलेभन्दा कम हुँदै आएको सरकारी तथ्याङ्क दैनिक सार्वजनिक गरिन्छ । यो पनि भ्रममात्र हो । बढीभन्दा बढी पीसीआर जाँच गरे पो धेरै सङ्क्रमितको पहिचान हुन्छ । कोरोना सङ्क्रमण नियन्त्रण गर्ने बहानामा १० अर्ब रुपैयाँ बढी सकिएको त पहिले नै सार्वजनिक भइसकेको छ । तर खोइ त पीसीआर जाँचका लागि आवश्यक किट, रिएजेण्ट, भिटिएम ? अनि, सिकिस्त अवस्थामा पुगेका सङ्क्रमितका लागि खोइ त आइसियु शøया ? नेपालमा कोरोनाले मृत्यु भएकामध्ये ९९ प्रतिशत त आइसियुमा पुग्नै नपाई मरेका छन् । कोरोनाको नाममा १० अर्ब खर्च गर्दा लकडाउन अवधिको समयलाई सदुपयोग गर्दै दुई अर्बको मात्र आइसियु शøया खरिद गरेर तोकिएको अस्पतालमा जडान गरिदिएको भए अधिकांशलाई बचाउन सकिन्थ्यो । जनस्वास्थ्यविज्ञ, भाइरोलोजिस्ट, माइक्रोबायोलोजिष्ट, विशेषज्ञ चिकित्सकहरूले सरकारलाई पटक–पटक सुझाव दिँदै आएका छन् । तर सरकारले नसुनी दिँदा कोरोना समुदायस्तरमा फैलिएको विश्लेषण गर्न थालिएको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नै तीन दिनअघि कोरोना सङ्क्रमण समुदायस्तरमा फैलिएको बताइसकेका छन् । कतिपयले कोरोनालाई चीन र विश्व स्वास्थ्य सङ्गठनले फैलाएको पनि भन्ने गरेका छन् । त्यसो भए युरोपियन मुलुक, अमेरिका र ल्याटिन अमेरिकामा यति धेरै मान्छेको लाश नथुप्रिनु पर्ने हो । विश्वभरका वैज्ञानिकहरू कोरोना विरुद्धको खोप तयार गर्न रातदिन नभनी खटिरहेका छन् । खोप नै तयार भए पनि नेपालजस्तो मुलुकले पाउन निकै समय लाग्नेछ । कोरोना सङ्क्रमण हुनबाट बच्ने गुरुमन्त्र भनेको फेरि पनि सामाजिक दूरी र मास्क प्रयोग नै हो । अरूलाई पनि नछुने, आफूलाई पनि छुन नदिने, छोइहालेमा तत्काल साबुन पानीले हात धुने ।