सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको खटपटलाई गत असार १० गतेदेखि शुरु भएको स्थायी किमिटी बैठकले आजसम्म समाधान गर्न सकेको छैन । स्थायी कमिटीको बैठक बोलाउने र स्थगित गर्ने क्रम जारी रहँदा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘महाधिवेशनको कार्ड’ फालेपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित शीर्षस्थ नेताहरू त्यसमा सहमत देखिएका छन् । तर त्यो सहमति पार्टी महाधिवेशनसम्मलाई मात्र हो भनेर सबैले बुझेकै छन् । पार्टी एकीकरण भएको दुई वर्ष बितिसक्दा पनि कतिपय प्रमुख एजेण्डाहरूको समाधान हुन नसकेको बेला पार्टीभित्र शीर्षनेताहरूबीचको खटपट बाहिर निस्केको हो । नेकपाले केन्द्रीय संरचनाको एकीकरण अझै गर्न सकेको छैन । केन्द्रदेखि स्थानीय तहसम्मका नेता कार्यकर्ताबीच पनि भावनात्मक एकीकरण गर्न नसकिरहेको बेला नेकपाभित्रको खटपट विष्फोट भएको छ । पार्टीभित्रको खटपट विष्फोट भएपछि कतिपयले फेरि पार्टी फुट्ने आशङ्का गरे । तर अध्यक्ष ओलीले महाधिवेशनसम्म पर्खाउने जुक्ति निकालेपछि त्यतिञ्जेलसम्मलाई अहिले सतहमा देखिएको खटपट शान्त रहने देखिएको छ ।

ओलीसँग असन्तुष्ट रहेका शीर्षस्थ नेताहरूले आफ्ना वर्चस्व कायम राख्नका लागि प्रधानमन्त्री र अध्यक्ष दुवै पद छाड्नसमेत दबाव दिए । शक्ति सङ्घर्षको लडाइँमा ओली टसको मस नभएपछि पार्टीभित्रको समस्या समाधानका लागि नेकपाले महाधिवेशन नै पर्खिनु पर्ने भएको छ । नेकपामा ओली र पुष्पकमल दाहाल प्रचण्ड नै सर्वाधिक शक्तिशाली ‘पावर सेण्टर’ हुन् । तर पार्टीभित्र एकापसको खटपट मिलाउन पटक–पटक ‘वान टु वान’ वार्ता र स्थायी कमिटीको बैठकमा समेत कुनै समाधानको उपाय निकाल्न नसक्दा दुवै अध्यक्षको राजनीतिक विवेक र क्षमतामा प्रश्न उठ्न थालेको छ । शीर्षस्थ नेता भएपछि पार्टीभित्रको समस्या मिलाउनु उनीहरूको जिम्मेवारी र दायित्व पनि हो । तर नेतापिच्छे गुट उपगुटका हाँगाबिँगाहरू पलाएकाले सत्तारुढ पार्टीमा एकपछि अर्को राजनीतिक घटनाचक्र चलिरहेको छ ।

प्रचण्ड र ओलीबाहेक नेकपामा माधव नेपाल, झलनाथ खनाल पनि आफूलाई आफ्नै अस्तित्व भएको फरक धुरीवाला मान्छन् । र, उनीहरूका पछाडि दौडने दोस्रो र तेस्रो तहका नेता कार्यकर्ताहरूले ती नेताहरूलाई बोक्ने, उचाल्ने, एकले अर्कालाई थचार्ने षड्यन्त्रको तानाबाना बुन्न सहयोग गर्ने पर्दा पछाडिको सक्रियताले पार्टीभित्रको समस्या समाधान नभएको कसैबाट लुक्न सकेको छैन । एउटै पार्टी भएपछि नीतिगत र सैद्धान्तिक विचार, धारणा र नीतिमा पनि एकरूपता देखिनु पर्ने हो तर नेकपाका शीर्षनेता र कार्यकर्तामा अहिले त्यस्तो देखिएको छैन । माओवादी र एमाले एकीकरण भएर नेकपा बने पनि पूर्व एमालेभित्रकै नेता कार्यकर्ताबीच खुट्टा तानातान हुनु, पूर्व माओवादी शीर्षनेता कार्यकर्ताबीच पनि लुकामारी चल्नु, सत्ताधारी हुँदाहुँदै पनि पार्टीले सरकारलाई सहयोग गर्न कञ्जुस्याइँ गर्नु र सरकारले पनि पार्टीलाई नपत्याउनुले शीर्षनेताहरूमै खोट देखिन्छ । पार्टीमा देखिएको विश्वासको सङ्कटकै कारण बहुमतको सरकार ढाल्न आफ्नै पार्टीका शीर्षनेताहरू लागेपछि जनताले मुलुकको समृद्धिका खातिर दिएको अमूल्य भोट खेर त जाँदैन भन्ने प्रश्न पनि उब्जिएको छ । पद र कुर्सीको लोभले गर्दा पनि नेकपामा यो बबण्डर उत्पन्न भएको हो । यो बबण्डरबाट निस्कनका लागि नेकपाका नेताहरूले पद र कुर्सीको मोह त्याग्न सक्ने हिम्मत देखाउन सक्नुपर्छ । अब शीर्षस्थ नेताहरूको त्यो हिम्मत देख्न चाहन्छन् मतदाताहरू ।