यो साउन महिना भन्नासाथ गलामा रुद्राक्षको माला लगाएर गेरु वस्त्रमा सजिएका बोलबम भक्तजनहरूको दृश्य मस्तिष्कमा आउँछ । त्यतिमात्र नभएर साउन महिनामै युवतीहरू र गृहिणीहरूले हातमा मेहन्दी र नाडीमा हरिया काँचका चुराले सजिएर हरियै परिधानमा शिवको आराधना गर्छन् । शिवको प्यारो महिनाको रूपमा साउनलाई लिइन्छ । शिव भक्तालुहरूले आफ्नो मनोकाङ्क्षा पूरा हुने अभिलाषाका साथ शिवालयहरूमा जल चढाउन जाने गरेका छन् । शिव हिन्दूका आराध्यदेवका रूपमा पुजिन्छन् । शिवलाई साउन महिनाको सोमबार जति धेरै जल चढायो, उति नै खुसी हुने धार्मिक विश्वास रहेको छ ।

यसैबेला धरानस्थित विजयपुर वेदीमा रहेको पिण्डेश्वर बाबाधामको शिवलिङ्गमा भक्तजनहरूले कोशी नदी र कोकाहा नदीको सङ्गमस्थलबाट ल्याएको पवित्र जल अर्पण गरेर आफ्नो मनोकाङ्क्षा पूरा गर्ने चलन छ । यो मानवीय आस्था एवम् चलन हो । एक प्रकारले संस्कृति नै हो । तर यसपटकको साउनमा शिवलिङ्गमा जल चढाउने चलनमा इतिहासमै पहिलो पटक ‘ब्रेक’ लागेको छ । यो ब्रेक अरू कारणले नभएर कोरोना महामारी र लकडाउनले गर्दा भएको हो ।

विजयपुरको पिण्डेश्वर बाबाधामको मुख्य गर्भगृह पशुपतिनाथ मन्दिरभन्दा प्राचीन मानिन्छ । पथिक कवि लक्ष्मीप्रसाद आचार्यले व्यापक खोज अनुसन्धान गरेर पुस्तक नै प्रकाशित गरेपछिमात्र पिण्डेश्वर बाबाधामको प्रशिद्धि फर्किएको हो । उनकै खोज अनुसन्धानअनुसार ०३९ साल साउनदेखि बाबाधामको शिवलिङ्गमा जल चढाउने चलन शुरु भएको हो । यसअघि नेपालका शिवभक्तहरू पहेँलो वस्त्र धारण गर्दै बोलबम नारा लगाएर भारतको विभिन्न प्रान्तका शिव मन्दिरमा जल चढाउन जाने गरेका थिए । उनै पथिक कवि आचार्यले भारतमा भएका शिवलिङ्गभन्दा नेपालको विजयपुरमा रहेको पिण्डेश्वर बाबाधामको बारेमा ऐतिहासिक, पौराणिक ग्रन्थहरूमा स्पष्टरूपमा उल्लेख भएको जानकारी दिएपछि नेपालका धार्मिक अनुयायीहरू भारतीय धामहरूमा जानबाट ‘बे्रक’ गरिदिएका थिए । र, भारतीय शिवभक्तहरू बोलबम भन्दै काँधमा काँवर बोकेर धरान आउने वातावरण पनि उनैले बनाइदिएका थिए । पिण्डेश्वर बाबाधाम र आसपासमा रहेका दन्तकाली, बुढासुब्बा, विष्णुपादुका र वराह मन्दिरलाई एकीकृत गरेर धरानलाई धार्मिक ऐतिहासिक पर्यटकीय हबको रूपमा विकास गर्न सकिन्छ भन्ने बलियो अवधारणा बनेको छ । तर यसपालि विश्वव्यापी कोरोना भाइरसको महामारी र लकडाउनले धार्मिक पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने मनसायलाई रोकिदिएको छ ।

हुन त कोरोनाले विश्व अर्थतन्त्रमै प्रहार गर्नुका साथै मानवीय स्वास्थ्यमा समेत चुनौती थपिदिएको छ । यतिमात्र नभएर सामाजिक, राजनीतिक, भौगोलिक क्षेत्रमा पनि प्रहार गरेको छ । त्यसैगरी सांस्कृतिक र धार्मिक आस्था, विश्वासमाथि पनि कोरोना महामारीले प्रहार गरेको छ । जसले गर्दा धरानको पिण्डेश्वर बाबाधाममा वर्षौंंदेखि चलिरहेको बोलबम धार्मिक मेला प्रभावित भएको छ । साउन महिनाभरि लाग्ने बोलबम धार्मिक मेला प्रभावित हुनु भनेको धरानको धार्मिक, ऐतिहासिक पर्यटनको विकास पनि प्रभावित हुनु हो । यसर्थ, स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारले धार्मिक, सांस्कृतिक पर्यटनलाई पुनर्जीवित गर्न विकल्पसहितको नयाँ कार्ययोजना बनाउनु अहिलेको आवश्यकता बनेको छ ।