नेपालका आदिकवि भानुभक्त आचार्यको २०७ औं जन्मजयन्तीका दिन नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले ‘भगवान राम’ पर्साको ठोरीमा जन्मिएको प्रसङ्ग उठाएपछि विश्व नै तरङ्गित भयो । विशेषगरी छिमेकी देश भारत धेरै हदसम्म तरङ्गित बन्यो । प्रधानमन्त्री ओलीले राजनीतिक हिसाबले मात्रै बोले कि अध्ययन अनुसन्धान गरेका हिसाबमा तर्क गरे । त्यो खोजीको विषय हो । केपी ओलीको सरकार ‘एण्टी भारत’ बनेको प्रसङ्ग आइरहेका बेला थप तरङ्गित बनाउने यस भनाइले नयाँ बहसको व्युत्पत्ति भएको छ । अहिले भारतमा प्रधानमन्त्री ओलीविरुद्ध मिडिया मात्रै होइन, त्यहाँका नागरिकहरूले विभिन्न हर्कत गरिरहेको समाचारहरू बाहिर आइरहेका छन् । एक दिनअघि मात्रै बनारसमा कथित एक नेपाली भनिएका व्यक्तिलाई बलपूर्वक केस मुण्डन गरेको देखाउँदै प्रम ओलीविरुद्ध नाराबाजी गरेको भिडियो बाहिर आयो । भिडियो बाहिर आएपछि वाराणासी प्रहरीले थालेको अनुसन्धानले ती व्यक्तिलाई १ हजार रुपैयाँ दिएर केस मुण्डनको अभिनय गराएको कुरा अहिले छताछुल्ल भएको छ । जसमा ६ जना पक्राउ परिसकेका छन् भने शिव सेनाका भनिएका मुख्य आरोपी अरुण पाठक फरार छन् । उनलाई पक्राउ गरेपछि थप कुरा बाहिर आउला ।

हाम्रो बहस त्यतातिर होइन । अहिलेको बहस राम नेपालमा जन्मिएका थिए कि भारतमा भन्ने हो ? आस्था र विश्वासको धागोमा अडिएको हाम्रो पूर्वीय सभ्यतामा खोज अनुसन्धान गर्नुपर्ने विषयहरू थुप्रै छन् । भारतको अयोध्यामा जन्मिएका भनिएका राम मात्रै होइन, धेरै यस्ता भगवानहरूको अन्वेषण हुन आवश्यक हुँदै गएको छ । हिजोका दिनमा हामीसँग पर्याप्त सामग्री, सूचनाको पहुँच, प्रविधिलगायतको कमी थियो । सामारिक रूपमा जो शक्तिमा थिए, उनीहरूले सूचनालाई आफ्नो तरिकाले ढाले, व्याख्या गरे र त्यही व्याख्या तथा सूचनालाई नै हामीले आधार मान्यौं, अहिलेसम्म पनि मानिरहेका छौं । हो, यही नै विश्वास हो । यही नै आस्था हो । यही आस्था र विश्वासका कारण अहिले पनि हामी राम भारतमा जन्मिएका हुन् कि भन्नेमा विश्वास गर्छौं तर केही तर्कहरू जो तत्कालीन समयसापेक्ष थिए कि थिएनन् भन्ने विषयमा हामी मन्थन गर्दैनौं र गरेका थिएनौं पनि । पर्साको ठोरी जहाँ अयोध्यापुरी छ, त्यो स्थान र सीता जन्मिएको जनकपुरको दूरीको आधारलाई मान्ने हो भने पनि केही तथ्य बुझ्न कठिनाइ पर्दैन । विद्वान्हरूले पनि यस तर्कमा केही सत्यता रहेको बताइरहेका छन् । प्रधानमन्त्री ओलीको भनाइमा केही सत्यता हुन सक्ने आधारहरूलाई विद्वानहरूले अहिले तर्कका रूपमा अगाडि सारिरहेका छन् । रामायणमा बखान गरिएजस्तो सीतालाई लिन एकैदिनमा जनकपुर आइपुगेको अझ लक्ष्मणले सीतालाई जनकपुर छाडेर एकै दिनमा अयोध्या पुगेको जुन प्रसङ्ग छ, त्यो तत्कालीन समयमा हिँडेर जाने हो भने कुनै पनि हालतमा भारत उत्तर प्रदेशको हालको अयोध्या पुग्न सम्भव छैन । किनकि तत्कालीन समयमा यान्त्रिक साधनहरू पनि थिएनन् । यस किसिमले बहस गरेर ठोरीको अयोध्यापुरीको खोज अन्वेषण गर्ने हो भने केही महŒवपूर्ण उपलब्धि हात लाग्न सक्छ ।

प्रम ओलीले यो बेलामा राम जन्मिएको प्रसङ्ग उठाउनु ठीक थियो कि थिएन । यदि ठीक थिएन भने किन उठाइयो, ठीक थियो भने खोज अनुसन्धानका लागि तत्काल समिति गठन गरेर प्रक्रिया अगाडि बढाउनु पर्ने होइन ? देशको प्रधानमन्त्रीले बोलिरहँदा त्यसलाई प्रमाणित गर्ने आधारहरू पनि चाहिन्छ । बिना आधार बोल्नु व्यक्तिका लागि त अहित हुन्छ नै देशका लागि झनै अहित हुन्छ । जसरी अहिले भारतले प्रम ओलीको सरकारमाथि आक्षेपहरू लगाइरहेको छ । त्यसलाई बढावा दिने गरी कुनै पनि कार्य प्रधानमन्त्रीले गर्नुहुँदैन । हरेक कुरा कूटनीतिक माध्यमबाटै हल गरिनुपर्छ । किनकि हामी दुई ठूला सामरिक शक्तिका बीच छौं । शक्ति सन्तुलन गरेर अगाडि बढ्नु नै देशको हित हुन्छ । छुद्र वाक्य बोलेर कसैलाई चिढ्याउने र कसैलाई आफ्नो हातमा लिने भन्ने सपना पाल्नु हुँदैन । प्रम ओलीले राम नेपालमै जन्मिएको भन्ने आशयलाई पुष्टि गर्न आजैबाट अन्वेषण थाल्नुपर्छ । हो, कतिपय कुरा खोज अनुसन्धानबाट मात्रै पुष्टि हुन्छन् । त्यसलाई विश्वले स्वीकार्छ र स्वीकार्नु पनि पर्छ । विश्वास त तबसम्म मात्रै रहन्छ, जबसम्म प्रमाणित हुँदैन । प्रमाणित भएपछि हिजोको आस्था र विश्वास भत्किन्छ । त्यसपछि नयाँ आस्थाको बीजारोपण हुन्छ।