कोरोना प्रभावका कारण विद्यालयहरू बन्द छन् । अभिभावकहरू एकातिर आफ्ना छोराछोरीको पढाइ कहिले शुरु होला भन्ने चिन्ता, अर्कातिर पेशा, व्यवसाय बन्द हुँदा आर्थिक सङ्कटको चिन्तामा छन् । यस्तो बेला नागरिकलाई हरेक कुरामा सहुलियत दिनु राज्यको दायित्व हो । तर सरकारकै स्वामित्वमा रहेको जनक शिक्षा सामग्री केन्द्रले पुस्तक किन्ने अभिभावकसँग तोकिएको मूल्यभन्दा बढी असुल गरिरहेको पाइएको छ । यो सरासर लापरबाही र गैरजिम्मेवारीपन हो । पाठ्यक्रम विकास केन्द्रले पुस्तकको मूल्य तोकेको हुन्छ । तर त्यसरी पुस्तकमै अङ्कित मूल्यभन्दा ७ रुपैयाँ बढाएर अभिभावकलाई बिक्री गरेको र जनक शिक्षाले प्रकाशन गरेका केही पुस्तकमा मूल्य नै नराखी मनखुसी बिक्री गरिरहेको भेटिएको छ । पाठ्यपुस्तकमा अङ्कित मूल्यभन्दा बढी लिएर बेच्नु शिक्षा मन्त्रालयको निर्णय विपरीत कार्य पनि हो ।

मूल्य बढाएर पुस्तक बिक्री गरेको विषयमा जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रदेश १ को जवाफ पनि गैरजिम्मेवार छ । जनक शिक्षाका प्रदेश १ संयोजकले यस वर्षको नयाँ शैक्षिक सत्रदेखि मूल्य बढेकाले बढी मूल्यमा बिक्री गरिएको भनेका छन् । जबकी पहिला छापिएका पुस्तक पुरानै मूल्यमा बिक्री गर्नुपर्ने व्यवस्था छ । २०६९ मङ्सिर १ गतेको शिक्षा मन्त्रालयको निर्णयअनुसार स्टकमा रहेको पाठ्यपुस्तकको मूल्य पुरानै कायम हुने भनेर पाठ्यक्रम विकास केन्द्रले २०६९ मङ्सिर ७ गते सूचना प्रकाशित गरेको थियो । तर जनक शिक्षाले २०७४ संस्करणका पुस्तकमा अङ्कित मूल्यभन्दा बढी मूल्यमा बिक्री वितरण गरिरहेको छ । यस विषयमा अध्ययन गरी दोषी पाइए कारबाही गरिनु आवश्यक छ । शिक्षा मन्त्रालयकै निर्णयमा मूल्य नलेखिएका नयाँ वा पुराना पुस्तकहरूमा अनिवार्य मूल्य राखी बिक्री वितरण गर्ने व्यवस्था मिलाउने भनिएको थियो । तर जनक शिक्षाले बजारमा पठाएको कक्षा ८ को नेपाली पुस्तकमा मूल्य अङ्कित छैन । मूल्य नै अङ्कित नभएपछि जसले जति मूल्यमा बेच्दा पनि भयो । झनै मनखुसी बढ्यो । जनक शिक्षाले मनपरी शुल्कमा पुस्तक बेच्दा अहिले कोरोना महामारीका बेला छोराछोरीलाई घरमै पढाउन पुस्तक किनिरहेका अभिभावकहरू मारमा परेका छन् भने पुस्तक विक्रेताहरूसमेत पुस्तकमा अङ्कित मूल्यभन्दा बढीमा बेच्दा अभिभावकका नजरमा बेइमान देखिन्छन् ।

सरकारी स्वामित्वको जनक शिक्षाले मन्त्रालयको निर्णय विपरीत किन बढी शुल्क लिइरहेको छ ? कि त्यो पैसा जनक शिक्षामा रहेका व्यक्तिहरूले कमाइ खाने अवसरका रूपमा लिएका छन् ? यतातर्फ पनि अनुसन्धान हुनु आवश्यक छ । मूल्य बढी असुल्ने कार्यमा तलदेखि माथिसम्मका क कसको मिलेमतो छ, त्यसको फेहरिस्त उतारेर कारबाहीको दायरामा ल्याउन र उनीहरुको नाम सार्वजनिक गरिनु पर्छ । त्यसो गर्न सके मात्र भोलिका दिनमा अन्यले यस्तो कार्य गर्ने आँट गर्न सक्दैनन् । पुस्तक ज्ञान प्राप्त गर्ने माध्यम हो । यस्तो महŒवपूर्ण कार्यमा पनि पैसा कमाउने धन्दा चलाउनेहरूलाई कारबाहीको दायरामा ल्याउन नसक्ने हो भने अनियमितता गर्नेहरूलाई सधैँ प्रोत्साहन मिलिरहन्छ । सरकारकै स्वामित्वको संस्थामा यस्तो अनियमितता भइरहेकाले त्यसको छानबिन र कारबाही गर्ने जिम्मेवारी पनि सरकारकै हो ।