सबैलाई थाहा भएकै हो, वर्षायामकोे अविरल वर्षाले प्रत्येक वर्ष बाढी पहिरोको मारमा कयौं मानिस पर्छन् । डुबानले घर, अन्नबाली क्षति गर्छ । यो बाढी पहिरो र डुबान हुनु भनेको थाहै नपाई कोरोना भाइरस वा भूकम्प जस्तो एक्कासि आउने पनि होइन । स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारसँग नेपालमा हरेक वर्षायाममा हुने बाढी पहिरोले कहाँ कहाँ क्षति गर्छ भन्ने आधारभूत तथ्य पनि नभएको होइन । यद्यपि, यो पटकको वर्षायाममा जताततै बाढी पहिरो, डुबानले कोरोना भाइरसले भन्दा बढी मानवीय क्षति भएको छ । साथै करोडौंको धनमाल पनि क्षति हुने क्रम जारी छ । यो प्राकृतिक विपत्ति हो । यस्ता विपत्ति बर्सेनि आइपर्ने गरेका छन् ।

विपत्ति आइपरेको बेला पीडित र सरोकारवाला तात्तिए जस्तो गर्छन् तर वर्षायाम सकिएपछि बिर्सने बानीलाई सुधार गर्न सकिएको छैन । बानीमा सुधार नहुँदा हरेक वर्ष सयौं घर बाढी पहिरो र डुबानमा परेका छन् । कयौं मानिसले पहिरोमा पुरिएर, बाढीमा बगेर मृत्यवरण गरेका छन् । बर्सेनि वर्षायाम आउँछ, अविरल वर्षा हुँदा बाढी पहिरोको जोखिम बढ्छ भनेर थाहा हुँदाहुँदै पनि न स्थानीय सरोकारवालाले विपत्तिसँग सामना गर्ने पूर्व तयारी गर्छ, न सरकारले पूर्व तयारीका लागि तदारुकता नै देखाउँछ । बस्, भाषणमा सबैथोक हुन्छ । अहिले अधिकांश बाढी पहिरोबाट विस्थापितहरू राहतको पर्खाइमा छन् । कतिपयले भोकभोकै रात गुजारिरहेका छन् । मन परेको बेला सरकारले आकाशबाट हेलिकप्टरमार्फत् निरीक्षण गर्छ । विस्थापितहरू हेलिकप्टरको पङ्खाको हावा खान र आवाज सुनेर आशा, भरोसामा बाँच्न बाध्य छन् । विपद् व्यवस्थापन गर्न नेपाल सरकार अभ्यस्त वा पोख्त देखिएको छैन ।

कोरोना महामारीमा औषधि र मेडिकल उपकरण आपूर्तिमा नै सरकारको क्षमता देखियो । हुन त यसअघि आएको भूकम्पको बेला पनि सरकारको काम गराइ नदेखिएको होइन । विपद् व्यवस्थापनविज्ञ नभएका होइनन् । यही पद र नाम बेचेर वार्षिक लाखौं तलब–भत्ता सुविधा पचाएका छन् । तर आइपरेका बेला सिन्को नभाँच्ने विपद् व्यवस्थापनविज्ञको के काम ? प्राकृतिक विपत्तिमा परेकाहरूलाई तत्काल सुरक्षित स्थानमा बस्ने व्यवस्था गर्नुपर्ने हो, उनीहरूका लागि खाने, बस्ने र औषधि उपचारको व्यवस्था तत्काल गर्नुपर्ने हो तर पीडितले नचिच्याएसम्म, नकराएसम्म, माग नगरेसम्म अर्थात् नरोएसम्म चुपचाप बस्छ सरकार । अखबार, टेलिभिजन वा रेडियोमा आएका दृश्य, तस्बिर र घटना विवरण हेरेर जनता गिड्गिडाएको सुन्न र हेर्न अभ्यस्तमात्र भएको छ सरकार । बाढी पहिरो डुबानजस्ता प्राकृतिक विपत्ति प्रायः अभाव, गरिबी, अशिक्षाले आक्रान्त समुदायमा नै आइपर्ने गरेको छ । तिनै समुदायको पहुँच नपुग्दा र उनीहरूको आवाज सरकारले नसुन्दा झन् पीडित हुने गरेका छन् । ‘जो होचो त्यसको मुखमा घोचो’ भन्ने पुरानो नेपाली उखान झैं निरिह, असहायहरूमै सबैभन्दा बढी प्राकृतिक विपत्ति आइपर्ने भएकाले बाढी पहिरो र डुबानबाट विस्थापितलाई व्यवस्थित गर्नु सरकारको मुख्य दायित्व र जिम्मेवारी हो ।