कसैलाई कुनै काम गर्न लगाउँदा वा कुनै वस्तु किन्न निश्चय गर्दा अग्रिम रूपमा दिइने पारिश्रमिक वा मूल्यको केही अंश, अग्रिम भुक्तानी, अग्रिम रकम वा बैना पेस्कीको शाब्दिक अर्थ नेपाली शब्दकोशमा यही छ । नियमतः यस्ता पेस्की रकमहरू काम सम्पन्न भएको हिसाबकिताब पेश गरेपछि फछ्र्यौट हुन्छ तर हाम्रा स्थानीय तहहरूमा यस्ता रकम लिएर काम सम्पन्न नगर्ने वा सम्पन्न गरे पनि कागजात पेश नगर्ने प्रवृत्ति छ । जसले गर्दा पेस्की रकम बेरुजु भएर बसिदिन्छ । पेस्की पछ्र्याैट नहुने स्थानीय तहमा धरान उपमहानगरपालिका पनि अछुतो छैन । यहाँ मण्डले, पञ्चेका पालादेखिका पेस्की रकमहरू हालसम्म फछ्र्यौट हुन सकेको छैन । तथ्यमा हेर्ने हो भने २०३९ सालदेखि पेस्की लगेकाहरूले फछ्र्यौट गरेका छैनन् । यसमा बढीजसो तालुकदारहरू नै छन् । त्यही तालुकदार मध्ये पर्ने हालका नगरप्रमुख तिलक राई पनि एक हुन् । २०६३ सालमा धरान–१८ स्थित बुद्धचोकमा बुद्धको प्रतिमा निर्माणका लागि भनेर पेस्की लगे पनि हालसम्म फछ्र्यौट नहुँदा बेरुजु भएर बसेको छ । उनले काम सम्पन्न गरे पनि फरफारक नगरेकाले बेरुजु देखिएको हो वा कामै नगरी बेरुजु देखिएको हो, यो खोजकै विषय हो ।

पटक–पटक गरेर २ लाख ४१ हजार ५ सय रुपैयाँ बुद्धचोकमा प्रतिमा बनाउनका लागि लगेको देखिएको छ । तत्कालीन अवस्थामा बुद्धचोक निर्माण समितिका अध्यक्ष रहेका उनी पार्टीमा पनि जिम्मेवार पदमै थिए । सार्वजनिक पद धारण गरेका व्यक्तिहरूले निश्चित कामका लागि पेस्की लगेर काम नगर्ने प्रवृत्ति पुरानै हो । यसमा उनी एक्ला पात्र होइनन् तर अहिलेको अवस्थामा उनी महŒवपूर्ण पात्र हुन् । जतिबेला उपनिर्वाचन भइरहेको थियो, त्यो बेला भानुचौकको कार्यक्रममा उनले ‘आफू मेयर भए तलब–भत्ता सेवा सुविधा नलिने’ उद्घोष नै गरेका थिए । हाल उनी त्यो पदमा बहाल छन् । यस्तो महत्वपूर्ण विषय उद्घोष गर्ने मेयरले आफू निर्वाचित भइसकेपछि विगतमा नगरपालिकासँग भए गरेका कामको ‘क्लिन चिट’ लिन भुल्नु हुँदैनथ्यो । त्यो नै उनको पहिलो कमजोरी हो । आर्थिक सुशासन देश विकासको पहिलो मानक हो । जनताले नेताहरू भ्रष्टाचारी भए, व्यभिचारी भए भनेर जुन आक्षेप लगाउँदै आइरहेका छन्, त्यसलाई पुष्टि गर्ने गरी काम गर्नु न्यायोचित होइन । आर्थिक सुशासन कायम गर्न तल्लो तहका नेता कार्यकर्ताबाटै अभियान थालिनु पर्छ । यहाँ मेयर तिलक राईको कुरा मात्रै होइन, सार्वजनिक पद धारण गरेका सबैनेता, कार्यकर्ता तथा कर्मचारीले यो कुरालाई मनन् गर्नुपर्छ । किनकि राज्यको सम्पत्ति दोहन गर्ने सबै भ्रष्टाचारी हुन्, अपराधी हुन् ।

जहाँसम्म पेस्की रकम फछ्र्यौट नगर्नेमध्येमा पर्ने नगरप्रमुख तिलक राईले ‘क्लिन चिट’ लिने अभियान आफैबाट थाल्नुपर्छ । नगर प्रमुखमाथिको प्रश्न आर्थिक सुशासनको मात्रै होइन, जवाफदेहिताको पनि हो । नगरलाई सुसज्जित बनाउने दायित्व पनि हो । नगरको लेखा शाखाको तथ्याङ्कअनुसार २ करोड २० लाख ५२ हजार ३ सय १५ रुपैयाँ रकम बेरुजु भएको छ, त्यसलाई भोलिबाटै पछ्र्यौट गर्ने अभियान थाल्नुपर्छ । त्यसको नेतृत्व पनि नगरप्रमुख स्वयम्ले नै गर्नुपर्छ । आर्थिक सुशासनसँगै जवाफदेहिता भयो भने मात्रै देशले फड्को मार्छ र समृद्धितर्फ लम्किन्छ । सरकारले विकास र समृद्धिको नारा मात्रै अलाप्ने र काम चाहिँ त्यस ढङ्गबाट नगर्ने हो भने फेरि पनि देश पश्चगमनतर्फ अघि बढ्नेछ । यसको जिम्मेवारी लिन पनि नगरप्रमुख तयार हुनुपर्छ । एउटा जिम्मेवार तहमा पुगेपछि आफ्नो तह र तप्काबाट गर्न सक्ने काम आफैबाट शुरुवात गर्नु नगरप्रमुखका लागि श्रेयष्कर हो । भौतिक विकास मात्रै समृद्धिको मानक होइन, सुशासन, जवाफदेहिता चाहिँ समृद्धिको पहिलो सूचक हो ।