कोरोना महामारीका कारण तीन महिनादेखि देश ठप्प हुँदा व्यापार–व्यवसाय चौपट छ । दैनिक मजदुरी गरेर जीविकोपार्जन गर्ने वर्गका समस्या तीव्र गतिमा बढ्दो छन् । मध्यम् वर्गका समस्या झन् चर्का छन् । यो वर्ग न राहत मागेर खान सक्छ, न त कुनै व्यापार–व्यवसाय गर्ने वातावरण छ । भएका सानातिना व्यापार–व्यवसाय बन्द हुन थालेका छन् । व्यापारी, व्यवसायी र सर्वसाधारण आत्महत्या गरिरहेका छन् । देशमा निराशा बढ्दो छ । गरिबहरू रोगले भन्दा भोकले मर्ने अवस्था छ । यस्तो बेला राजनीतिक दलहरूको भूमिका के हुनुपथ्र्यो ? सामान्य मान्छेले पनि बुझ्ने कुरा हो, यो बेला राजनीतिक दलहरूको प्राथमिकता नागरिकलाई कसरी रोग र भोकबाट सुरक्षित राख्ने भन्ने हुनुपथ्र्यो । ‘देश र जनताको हितका लागि काम गर्ने’ भन्दै खुलेका राजनीतिक दलहरूको यो कर्तव्य पनि हो । तर विडम्बना देशमा शासन सत्ता सञ्चालन गरिरहेको दल नेकपा भने यो महामारीको बेला कुर्सीको तानातानमा लागेको छ । यो बेला नेताहरू झगडा गर्ने, प्रधानमन्त्री फेर्ने बेला होइन । बरु एक भएर महामारीविरुद्ध लड्ने बेला हो । देशमा मौलाएको भ्रष्टाचारविरुद्ध लाग्ने बेला हो ।
देशमा सलह भित्रिरहेका बेला किसानहरू चिन्तित बनिरहेका छन् । यस्तो बेला सरकारले किसानलाई आश्वस्त पार्न कुनै कार्यक्रम ल्याउनु पर्ने वा यस विषयमा गम्भीर भएर समाधानमा लाग्नुपर्ने बेलामा सरकारमा रहेको नेकपाका नेताहरू आन्तरिक कलहमा फस्नु दुर्भाग्य हो । नेकपाभित्रको आन्तरिक कलहका कारण प्रधानमन्त्री केपी ओलीले हतारमा संसद् अधिवेशन अन्त्य गराएका छन् । यसले समस्या सुल्झिनेभन्दा झनै बल्झिने सम्भावना बढाएको छ । नेकपाका वरिष्ठ नेताहरूले नै राजीनामा माग्न थालेपछि एक्लिएको महसुस गरेका ओलीले महŒवपूर्ण विधेयकहरू थाती राखेर संसद् अधिवेशन अन्त्य गराउनुले उनको असुरक्षित मनोदशा पनि प्रष्ट पार्छ ।
देशमा भ्र्र्रष्टाचार अचाक्ली बढेको छ । कतिसम्म भने कोरोना महामारीबाट सुरक्षित रहनका लागि आवश्यक सामान खरिद गर्दासमेत भ्रष्टाचार भएको छ । महामारीका बेला यस्तो अपराधमा संलग्नहरू यिनै दलका नेता र उनीहरूका आफन्तहरू छन् । भ्रष्टाचार र अनियमिततामा चुर्लुम्म डुबेका नेता, कार्यकर्ताहरूलाई जोगाउँदैमा नेकपाको समय बितिरहेको छ । तर यसबेला भ्रष्टाचारमा संलग्न जो सुकै भए पनि कारबाहीको दायरामा ल्याउनुपथ्र्यो ।
दुईतिहाइ जनमत पाएका बेला देश विकास र जनताको आर्थिक अवस्था उकास्न महŒवपूर्ण कामहरू गर्न सक्ने अवस्था थियो नेकपाको तर नेताहरूले आफ्नो र आफन्तको मात्र समृद्धिमा ध्यान दिँदा देश र जनता दिनदिनै समस्यामा फसिरहेका छन् । देशको विकास गरेर आफ्नो दललाई पनि चिरकालसम्म लोकप्रिय बनाउने अवसर पाएको नेकपालाई केही नेता, कार्यकर्ताको लोभलालचले भड्खालोमा पु¥याएको छ । नेता, कार्यकर्ताका यस्तै खिचातानी र स्वार्थीपनले पार्टीको बदनामी बढिरहेको छ । कम्तिमा देश समस्यामा फसिरहेका बेला आन्तरिक खिचातानी र कुर्सीको राजनीति गर्नु हुँदैनथ्यो । तर यही बेला नेकपा समस्यामा फसिसकेको छ । नेकपाको साख फर्काउने हो भने जनभावनाअनुरूप काम गर्नुको विकल्प छैन ।