लकडाउन निकै खुकुलो भएको छ । सार्वजनिक यातायात र शैक्षिक संस्थाबाहेक प्रायः अरू संस्था, व्यवसाय, उद्योग कारखाना, पसलहरू खुलेका छन् । हातमा सेनिटाइजर दलेर मुखमा मास्क लगाएपछि घरबाट निस्कँदा मनमनै कतै कोरोना त सर्दैन ? भन्ने चिन्ता र तनाव जोकोहीलाई हुन्छ । कसैले अचानक छोइहाले पनि कोरोना त सरेन ? भनेर मन र मस्तिष्क एकसाथ तरङ्गित हुन्छ । कसैले नदेखेको, नभोगेको भविष्यप्रति पनि मानवीय मनहरू डरलाग्दो कल्पना गर्दै कुन बेला कोरोना सरेर मरिएला भन्ने अर्को पिर साथै लिएर राति विस्तरामा पनि त्रसित हुन्छन् । यो कोरोनाको त्रासले हामीलाई मात्र तर्साएर आतङ्कित बनाएको छैन, समग्र मुलुक, महादेश हुँदै संसारभरिका मानव सभ्यतालाई चुनौती दिएको छ । कोरोना भाइरसको खोप अहिलेसम्म आविष्कार नभएकाले खोप आविष्कार गर्न दुनियाँभरका वैज्ञानिकहरू रातदिन खटिरहेका छन् । मानवीय स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर प्रत्येक मुलुकका सरकारले आ–आफ्ना नागरिकलाई कोरोनाको महामारीबाट बचाउन विभिन्न उपाय अपनाइरहेका छन् ।
विदेशबाट स्वदेश फर्केका आफ्ना नागरिकलाई औकातले भ्याएससम्म विश्व स्वास्थ्य सङ्गठनको (डब्ल्युएचओ) को प्रोटोकलअनुसार व्यवस्थित क्वारेण्टिनमा राख्ने, पिसिआर जाँच गर्ने, पोजेटिभ नतिजा आएमा आइसोलेसनमा राख्ने, आइसियुमा राखेर उपचार गर्ने जस्ता जिम्मेवारी र दायित्व बहन गरिरहेका छन् । आफ्ना नागरिकलाई उद्धार गर्नु, सङ्क्रमणबाट बचाउनु यो महामारीको बेला सरकारको पहिलो कर्तव्य हो । आमनागरिकले पनि यही आशा, विश्वास, भरोसा आफ्नो सरकारबाट गरेका हुन्छन् । नागरिकले आशा, भरोसा गर्दागर्दै पनि नागरिकको विश्वासमाथि घात गर्दा सरकारको काम गर्ने तरिका नागरिकको हित विपरीत हुनपुग्छ । पछिल्लो समय यस्तै भएको छ । कोरोना महामारी नियन्त्रण गर्ने बहानामा तीन महिला यता सरकारले १० अर्ब रुपैयाँ खर्च गरिसकेको छ । त्यो १० अर्ब रुपैयाँले सरकारले पिसिआर मेसिन, आरडिटी, भिटिएम, किट, आवश्यक औषधि र अन्य मेडिकल उपकरणहरू आइसियु, भेण्टिलेटर खरिद गर्दा खर्च भएको सरकारले बताउँदै आएको छ । यस्तै कोरोना सङ्क्रमितबाट अर्को व्यक्तिमा सर्नबाट जोगाउनका लागि क्वारेण्टिन र आइसोलेसन निर्माण, उपचारका लागि कोभिड–१९ अस्पताल निर्माण गर्नमा खर्च भएको बताइसकेको छ । १० अर्ब रुपैयाँ खर्च हुनु नेपालको लागि सानो रकम होइन ।
तर विदेशबाट स्वदेश आएका नेपाली नागरिकले शुल्क तिरेर होटल क्वारेण्टिनमा बस्नुपरेको छ । नेपाली नागरिकहरू वैदेशिक रोजगारका लागि सबैभन्दा बढी खाडी मुलुकका कतार, साउदी अरेबिया र दक्षिणी एशियाको मलेशियामा गएका छन् । बाँकी युरोपियन मुलुक, कोरिया र अमेरिकामा छन् । करिब ५५ लाख युवाहरू वैदेशिक रोजगारमा गएका छन् । अहिले ती मुलुकलाई पनि नेपालमा भन्दा बढी कोरोनाको महामारीले आक्रान्त बनाएको छ । यस्तो अवस्थामा दलाल एजेण्टलाई लाख रुपैयाँभन्दा बढी तिरेर वैदेशिक रोजगारीमा जानेहरूले नियमित गर्दै आएका काम पनि प्रभावित भएको छ । काम प्रभावित भएपछि मालिकले वा कम्पनीले घर पठाउनु स्वभाविक हो । यहीबेला नेपाल सरकारले भने विदेशबाट फर्केर आउने नेपाली नागरिकमध्ये होटल क्वारेण्टिनमा बस्नेले शुल्क तिरेर बस्न सक्ने सूचना जारी गरेको छ । यसको अर्थ सरकारले करोडौं रुपैयाँ खर्चेर कोरोनाको नाममा मुलुकभरि बनाएको भनिएका क्वारेण्टिनमाथि प्रश्न उठ्नु हो । शङ्का उपशङ्का उत्पन्न हुनु हो । विदेशमा बसेर आएको भन्दैमा पैसाको कुम्लो बोकेर आउँछ भन्ने सोचले सरकारले होटल क्वारेण्टिनको अवधारणा राखेको होला । तर यो अवधारणा गलत भएको छ । विदेशबाट आएकाहरू सरकारले बनाएको क्वारेण्टिनमा किन बस्दैनन् त ? उनीहरूलाई नै लक्षित गरेर सशुल्क होटल क्वारेण्टिन बनाउनुले सरकारले कोरोना क्वारेण्टिनको नाममा खर्च गरेर बनाएको क्वारेण्टिनमा सुरक्षा, खाना, पानी, शौचालयको उचित व्यवस्था छैन भन्ने सहजै बुझ्न सकिन्छ । कोरोना महामारीका बीच योभन्दा बेथिति अरू के हुनसक्छ ? यद्यपि अझै थोरै भए पनि समय छ । अव्यवस्थित क्वारेण्टिनलाई गुणस्तरीय, सुरक्षित र व्यवस्थित बनाउन सरकारले चाहेमा सक्छ । जहाँ भारत र तेस्रो मुलुकबाट आएका नेपाली नागरिकले निःशुल्क रूपमा क्वारेण्टिनमा बसेर सरकारको गुणगान र प्रशंसा गर्न सकुन् ।