हामी उभिरहेको धर्तीमा यो बेला मानव र बालीले फरक–फरक युद्ध लडिरहेका छन् तर यी दुई युद्ध मानवसँगै सम्बन्धित भने छ । मानवले कोरोना भाइरससँग युद्ध लडिरहेको छ । जित्ने वा हार्ने अनिश्चित छ तर कोरोनासँगको युद्धमा मानव अग्रमोर्चामा प्रयासरत छ । अर्को युद्ध भनेको बालीको अर्थात् फौजी किरासँगको युद्ध । हेर्दा बालीले युद्ध गरेजस्तो देखिए पनि सारमा यो युद्ध पनि मानवसँगै सम्बन्धित छ । किनकि बाली सप्रियो भने मात्रै मानवले दुई लडाइँ जित्न सक्छ । कोरोनाको महामारी र फौजी किराको प्रकोप उस्तै–उस्तै छन् । लडाइँ दुईबीचमै गरिरहनु परेको छ । कोरोनाको युद्ध जित्दा पनि मानवकै हित हुन्छ भने फौजी किरासँगको युद्ध जित्दा पनि फाइदा मानवलाई नै हुन्छ । केही वर्षयता फौजी किरा मकै बालीका लागि कोरोना महामारीभन्दा कम छैन । जसले मकैलाई सखाप बनाएको छ । हेर्दा मानवीय नलागे पनि फौजी किराको प्रकोप मानवीय अङ्गकै एउटा प्रारूप हो । यसलाई जित्न पनि मानव नै चलायमान हुनुपर्छ । अन्यथा हाम्रो दैनानुदिन जीवनमाथि अर्को प्रकोप आइलाग्ने निश्चित छ, त्यो हो भोकमरी ।

उदयपुरमा झण्डै साढे १९ हजार कृषक यतिबेला फौजी किराको प्रकोपबाट आहत बनेका छन् । उदयपुरमा ४ हजार ७ सय ८९ हेक्टरभन्दा बढी क्षेत्रफलमा फौजी किराले आतङ्क मच्चाएको छ । जिल्लामा ९ हजार ७ सय ८८ हेक्टर क्षेत्रफलमा मकै बाली लगाउँदै आइरहेका छन् । जहाँबाट बर्सेनि २४ हजार ७ सय १२ मेट्रिक टन मकै उत्पादन हुने गरेको तथ्याङ्क छ । तर, फौजी किराको प्रकोपले यो उत्पादनमाथि धावा बोल्ने स्थिति सिर्जना गरिदिएको छ भने कृषकले टाउकोमा हात राख्नुपर्ने परिस्थिति सिर्जना गरिदिएको छ । कोरोनाको महामारी झेलिरहेका उदयपुरका कृषकले थप अर्को प्रकोपको सामना गरिरहेका छन् । प्रदेश १ मा पहिलो पटक सबैभन्दा धेरै कोरोना सङ्क्रमित देखिएको उदयपुरका कृषकहरू फौजी किरासँगको युद्ध जित्न अहोरात्र खटिएका छन् । उनीहरू बालीविज्ञ, कृषि कार्यालयका प्रमुख र विभिन्न प्रकारका विषादीहरूसँग अभ्यस्त बनिरहेका छन् तर, निकास पाउन सकिरहेका छैनन् । राज्य यतिबेला कोरोनासँग पौंठेजोरी खेलिरहेको छ । किसानका पीरमर्कामा उसको उपस्थिति नगण्य नै छ । राज्य अनुपस्थित भएको बेला कृषक आफै चासो लिनुपर्छ ।

यही बेला विश्व बैङ्कले दक्षिण एशियामा १.५ देखि २.८ प्रतिशत आर्थिक वृद्धिदर मात्रै हुने प्रक्षेपण गरिसकेको छ । यो प्रक्षेपणलाई नेपालमा आर्थिक मामिलामा जानकारसमेत रहेका अर्थमन्त्री डा. युवराज खतिवडाले महसुस गरेकै होलान् । कोरोना महामारीले आर्थिक वृद्धिदरमा जुन अङ्कुश लाग्ने प्रक्षेपण विश्व बैङ्कले गरेको छ । यो भोलिको दिनमा थप सङ्कट निम्तिने अनुमान गर्न सकिन्छ । जसरी कोरोनाको महामारी छ, त्यसरी नै फौजी किराको प्रकोप पनि हरेक बालीनालीमा परेको छ । त्यसले उत्पादनमा ह्रास ल्याउने अनुमान गर्न कठिनाइ हुँदैन । सरकारले यो बेला नै फौजी किराको प्रकोपलाई कसरी नियन्त्रण गर्ने भन्नेबारे पनि गहन चिन्तन–मनन् गर्न जरुरी छ । फौजी किराको प्रकोप कोरोना महामारीभन्दा कम छैन । युद्ध दुईटैसँग हो । कोरोनासँग जति हो, फौजीसँग पनि त्यति नै हो भन्ने भुल्नु हुँदैन । किनकि बालीमा भइरहेको फौजी किराको प्रकोप मानवमा भएको कोरोना महामारी जस्तै हो । त्यसैले युद्ध दुवैसँग उस्तै गरी लड्नुपर्छ ।