विश्वव्यापी महामारी अर्थात् पेन्डेमिक बनेको कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण फैलँदो क्रममा छ । शुरुमा हल्का रूपमा लिइएको कोरोनाले चीनको बुहानबाट शुरु गरेको यात्रा तीन महिनामा करिब करिब सबै देशलाई त्राहिमाम बनाएको छ । यस्तो त्राहिमाम यसअघिका विभिन्न महामारी जस्तै प्लेग, स्पेनिश प्mलु, कोलेरा र पछिल्लो समय सार्स र इबोलाको सङ्क्रमणमा देखिएका थिएनन् । कोरोना नै यस्तो भाइरस भएको छ जसले विश्वका शक्ति राष्ट्र कहलिएका अमेरिका र चीनका लागि चुनौती बनेका छन् । विश्वकै अब्बल स्वास्थ्य सेवा प्रणाली रहेको युरोप र पूर्वी एसियाली मुलुकलाई पनि धौधौ पारेको छ कोरोनाले । चीनका मध्यमा पर्ने बुहानबाट कोरोनाको हल्ला छिटफुट आउँदा चिनियाँ प्रशासनले शुरुमा खासै ध्यान नदिए पनि सङ्क्रमणको दर र मृत्युसङ्ख्या वृद्धि भएपछि रातारात हजार शैयाका अस्पतालहरू बनाएर कोरोनासँग एक्लै युद्धमा होमिदा अरू मुलुक रमिते बनेका थिए ।
चीनले सङ्क्रमित क्षेत्रका विभिन्न शहर पुरै लकडाउन गरेर आफ्ना नागरिकलाई घर बाहिर निस्कन नदिँदा युरोप र अमेरिकाले तानाशाही शासनले मौलिक अधिकारमाथि कोरोनाका नाम र वहानामा नाङ्गो हस्तक्षेप गरेको आरोप लगाउँदै सामाजिक सञ्जाल र मिडियामा कुर्लिए । एउटा शहरबाट अर्को शहरमा कोरोना भाइरस फैलन नदिनका लागि लकडाउन एकमात्र विकल्प थियो चीनसँग । शहरै लकडाउनले कोरोना फैलने चेन टुट्यो । र, लगातारको प्रयासपछि पछिल्लो समयमा शून्य सङ्क्रमण विन्दुमा पु¥याउन सफल भयो चीन । तर, युरोप पुगेको कोरोनाले मृत्युको सुनामी ल्यायो । इटली, स्पेन, फ्रान्स, जर्मन, इरान, बेलायतदेखि अमेरिकालाई इपिसेन्टर नै बनाइरहेको छ । अहिले ती मुलुकले चिनियाँले कोरोना नियन्त्रण गर्न अपनाएको शैलीलाई पच्छ्याउँदै छन् तर कतिपय मुलुकका लागि ढिलो पनि भएको छ । कोरोनाको सुनामी नथामिएको इटली र इरानमा चीनले सहयोगी भूमिका खेलिरहेको छ । युरोपियन युनियन भित्रको इटलीमा कोरोना सुनामी आउँदा सिमाना जोडिएका मित्र राष्ट्रहरूले बेवास्ता गरेर एक्ल्याएको महसुस गरिरहेको बेला चीनले सहयोगको हात बढाएर मानवताको साइनो गाँसेको छ । चीनले अरू मुलुकलाई पनि कोरोना सङ्क्रमण नियन्त्रण र रोकथाम गर्न सहयोग गरिरहेको छ ।
यसैबीच कोरोना भाइरसको निदान गर्न चीन, अमेरिका, युरोप, अस्ट्रेलिया र भारतका वैज्ञानिकहरू खटिरहेका छन् । कसले पहिला कोरोना विरुद्धको खोप आविष्कार गर्ने भन्ने होडबाजी नै चलिहरको छ । कोरोनाको खोप तयार भएमा वैज्ञानिक चमत्कारबाट पाउन सक्ने वाहवाही बटुल्दै पेटेण्ट राइट (बौद्धिक सम्पत्ति अधिकार) मा हक जमाउन र सफल खोपबाट पाउने आम्दानीकालागि ती मुलुकहरूबीच अप्रत्यक्ष प्रतिस्पर्धा चलेको छ । चीनमा एक हजार वैज्ञानिकहरू खोप विकासमा कार्यरत छन् । अमेरिकाले पनि खोप विकास गर्न अर्बौ धनराशी खर्च गरिरहेको छ । अष्ट्रेलियाको क्विन्सल्याण्डले पनि १७ मिलियन डलर धनराशिको घोषणा गरेको छ । वैज्ञानिकहरूले खोपको विकासका लागि जोसुकैले जहाँसुकै भए पनि तीव्र गतिका साथ पहल गर्नुपर्ने आवश्यकता भएको बताउँदै आएका छन् । एकपटक खोप प्रमाणीकरण (स्वीकृत) भएपछि विश्वका करोडौं जनतासमक्ष पु¥याउनु पर्नेमा वैज्ञानिकहरू सहमत रहेका छन् । ढिलोचाँडो डेढदुई वर्षमा कोरोनाको औषधि बन्ला तर त्यतिन्जेलसम्म नेपालमा कोरोना भाइरस फैलिए के होला कसैले कल्पना गरेको छ ? इटली जस्तो युरोपको सुन्दर सफा र स्वास्थ्य सेवा प्रणालीमै चुस्त दुरुस्त मानिएको मुलुक अहिले अस्तव्यस्त भएको छ भने साधन श्रोतकै अभाव भइरहेको नेपालका जनतासँग कोरोना पचाउने शक्ति भएर नदेखिएको हो त ? यद्यपि, अरू मुलुकमा जस्तो भटाभट कोरोनाले मान्छे नमारेर सुरक्षित र व्यवस्थित हुने समय भने पाएको हो । यसर्थ अब विकल्प भनेको मुलुक नै लक डाउन गरेर निर्धारित अवधिसम्म क्वारेन्टाइनमा बस्नेमात्र छ ।