हावाहुरीको महिना प्रारम्भ भएको छ । यो बेला सुख्खा बढी हुने भएकाले आगलागीको जोखिम बढी हुने गरेको छ । मङ्गलबार मात्रै पाँचथरको कुम्मायक गाउँपालिका–५ को नरकटेमा जङ्गलमा आगो लाग्यो । बस्ती नजिकैको जङ्गलमा लागेको आगो प्रहरी, जनप्रतिनिधि र स्थानीय मिलेर केही समयपछि नियन्त्रणमा लिए । बस्ती जोगाउन स्थानीयबासी, प्रहरी, सशस्त्र प्रहरीले अठार घण्टा सङ्घर्ष गरेका थिए । जसबाट तीन दर्जनभन्दा बढी घरहरू जोगाउन सफल भएका थिए । त्यति लामो सङ्घर्षबाट आगो नियन्त्रणमा आयो । बस्ती पनि जोगियो । तर, यस्ता आगलागी मावनीय त्रुटिकै कारणले हुने गरेको तथ्य हामीले बिर्सनु हुँदैन । जङ्गलमा कसरी आगो फैलियो ? यसको कारण खोजिनुपर्छ । अन्यथा १८ घण्टाको प्रयास यसपटक त सफल भयो, आगामी दिनमा सफल नहुन सक्छ । विगतमा यस्ता घटनाहरू भएको यथार्थ भुल्नु हुँदैन ।
हावाहुरीमा महिनामा सबैभन्दा बढी सचेत हामीले हाम्रा बालबालिकाहरूलाई बनाउनुपर्छ । र, जो चुरोट, सूर्तीजन्य पदार्थ खानेहरूलाई सचेत गराउनुपर्छ । जङ्गलमा लागेको आगोलाई सामान्य रूपमा बुझ्नु हुँदैन । जङ्गल जैविक विविधताको पर्याय हो । जहाँ हजारौं जीवजन्तुहरू पनि हुन्छन् । सरीसृप, किटपतङ्गहरूको अस्तित्व रक्षा अहिलेको सबैभन्दा ठूलो चुनौती बन्दै गएको छ । वातावरण पर्यावरणलाई जोगाइ राख्न भूमिका खेल्ने यस्ता जीवहरूको रक्षार्थमा मानव सचेत नभए भोलिको अवस्था थप भयावह बन्नेछ । जङ्गलमा आगलागी भए सामान्य रूपमा लिने हाम्रो संस्कार नै गलत छ । केही समयअघि अष्ट्रेलियाको जङ्गलमा लागेको आगलागीलाई भुल्नु हुँदैन । त्यहाँको वस्तुस्थितिलाई नजरअन्दाज गर्न मिल्दैन । वनजङ्गलहरू हाम्रा अमूल्य निधि हुन् । कुम्मायक गाउँपालिकालाई हेर्ने हो भने १ सय २९ दशमलव ३० वर्गकिलोमिटरमध्ये आधा क्षेत्र वनजङ्गलले नै ढाकेको छ । हरेक वर्ष जङ्गल क्षेत्रमा ढडेलो लाग्ने गरेको छ । तर, त्यस विषयमा गम्भीर रूपमा बहस हुनै सकेको छैन ।
अहिले तीन तहको सरकार छ । हरेक तहको आ–आफ्नै जिम्मेवारीहरू छन् । वनजङ्गल संरक्षण गर्ने दायित्व स्थानीयको काँधमा पनि छ । अहिले धेरै जसो वनहरू सामुदायिक बनिसकेका छन् । कतिपय धार्मिक वनहरू पनि छन् । त्यसको संरक्षणका लागि हामी सचेत हुन आवश्यक छ । स्थानीय जनप्रतिनिधिहरूले पनि प्रत्येक नगरमा कम्तीमा एउटा वारुणयन्त्र खरिद गर्न आवश्यक छ । सुविधा र भोगविलासका लागि आफू चढ्ने सवारीभन्दा पनि वारुणयन्त्र खरिदमा ध्यान दिने हो भने यस्ता घटनालाई न्यूनीकरण गर्न सीमित समय मात्रै लाग्न सक्छ । न कि १८ घण्टा । हामी हाम्रो जिम्मेवारीमा गम्भीर बन्न आवश्यक छ । डढेलो होस् या आगलागी, दुवै खतराका सूचक हुन् । यसप्रति स्थानीय मात्रै हैन, राज्य गम्भीर बन्नुपर्छ ।