चीनमा गत वर्षको डिसेम्बरमा फैलिएको कोरोना भाइरसको प्रभाव शुरूमा केही एशियाली मुलुकमा देखिए पनि पछिल्ला दिनहरूमा आइपुग्दा यूरोप हुँदै अमेरिकासम्म पु¥यो । कोभिड–१९ को सङ्क्रमणका कारण अहिलेसम्म पाँच हजार ५४७ व्यक्तिको मृत्यु भइसकेको तथ्याङ्क सार्वजनिक भएको छ । चीनबाट शुरु भएको कोरोना सङ्क्रमण यूरोपमा पुग्दा सबैभन्दा धेरै इटालीमा फैलिएको छ । चीनपछि बढी प्रभावित मानिएको इटली र इरानमा सङ्क्रमणका कारण क्रमशः एक हजार २६६ र ६११ व्यक्तिको मृत्यु भएको छ । केही समय पहिले चीनको वुहान शहर कोरोना भाइरसको केन्द्रविन्दु मानिएको थियो तर प्रभावितहरूको सङ्ख्या निकै वृद्धि भएपछि विश्व स्वास्थ्य सङ्गठनले हालको अवस्थामा यूरोपलाई सङ्क्रमणको केन्द्रविन्दु मानेको छ । सङ्क्रमितको सङ्ख्या निरन्तर बढ्दो क्रमले विश्वमा नै भयावह हुने अवस्था नहोला भन्न सकिँदैन ।
कोरोना सङ्क्रमणको प्रभाव विश्वव्यापी बन्दै जाँदा यसका कारण छोटो समयका लागि आर्थिक मन्दी हुनसक्ने सम्भावनाहरू देखिएका छन् । युरोपेली केन्द्रीय बैङ्क (ईसीबी)ले कोरोनाको प्रभावका कारण विश्व अर्थतन्त्र र व्यापारिक गतिविधिमा व्यापक प्रभाव पर्ने प्रक्षेपण गरेको छ । संयुक्त राज्य अमेरिका, चीन र जर्मनीलगायतका मुलुकले भाइरस सङ्क्रमणका कारण प्रभावित भएका व्यावसायिक वातावरणलाई उठाउनका लागि आवश्यकता अनुसार ऋण प्रवाह गर्ने बताइसकेका छन् । यूरोपेली धनी राष्ट्रहरूमा त पूर्व तयारी गरिसकेकाले अल्प विकसित राष्ट्रहरूमा यसको प्रभाव झन् बढी पर्छ नै । नेपालजस्ता अल्पविकसित मुलुकहरूमा यो सङ्क्रमण फैलिने बित्तिकै व्यापक बन्ने भएकाले पूर्व तयारी वाञ्छनीय हुनेछ । राज्य बेलैमा तयारीमा लाग्नुको विकल्प छैन ।
अमेरिका जस्तो मुलुकमा अतालिएर उपभोग्य सामाग्रीहरूको हारालुछ गरेर किनमेल गरेको दृश्य मिडियामा आएको छ । सामान सकिएको र मानिसले हारालुछ गरेर किनिरहेको दृश्य अन्तर्राष्ट्रिय मिडियामा हेरेर हामी पनि त्यस्तै हुन किञ्चित् आवश्यकता छैन । ती विकसित मुलुक र हाम्रो देशको समाज, खानपानलगायत कुरा फरक छ । यूरोपिली मुलुकहरूमा सामान छोटो समयका लागि उपलब्ध हुन्छन् । हरेक कुरा निश्चित समयका लागि उपलब्ध हुने गर्छन् । हाम्रो जस्तो खाद्य वस्तु भण्डारण गरेर राखिने चलन छैन। जतिखेर चाहियो त्यतिखेर किनेर खाने चलन छ । तर, हामी कहाँ उनीहरूको जस्तो सिष्टम छैन । भण्डारण गरेर, आलपालो, ऐंैचोपैंचो चलाएर हामी उपभोग गर्छाैं । कविशिरोमणि लेखनाथले भने जस्तो ‘म खाऊँ मै लाऊँ सुखसयल वा मोज म गरुँ’ भने जस्तो हाम्रो संस्कार र पद्धति किमार्थ होइन । त्यसैले आत्तिएर पसल नै खाली हुने गरी सामान किनी हाल्नु जरुरत छैन । बजारमा सामान लुकाएर महँगी बनाउने काम झन् शोभनीय होइन । यद्यपि आम नागरिक सचेत भने हुनुपर्दछ । विशेष परिस्थिति आए त्यससँग लड्न भने तयार हुनुपर्दछ । तर, बजारमा क्राइसिस खडा गर्नु भने उचित होइन । यस्ता विषयमा सम्बन्धित सरोकारवाला पक्ष जिम्मेवार हुनुपर्दछ ।