जताततै फोहोर । घरभित्र घाँस थुपारिएको साँघुरो कोठा । यो पक्कै पनि पशु पाल्न बनाइएको गोठ अर्थात् घर हुन सक्छ । यो प्रयोजन बाहेक अरू कल्पना गर्न सकिदैन । तर, यही साँघुरो फोहोर थुप्रिएको कोठामा मानव बसोवास गरेको सुन्दा अनौठो लाग्छ । बाख्रासँगै त्यो फोहोर कोठामा दुई मानव बसोवास गर्दै आएको समाचार सार्वजनिक भएको छ । यो समाचारले गरिबका लागि आवास, असहायका लागि साहार भन्ने सरकारको नारा झुट्टा सावित भएको छ । तीन तहका सरकार भएको मुलुकमा दुई प्राणी बाख्राको जस्तो जीवन बिताउनु विडम्बना हो ।

यो व्यथा ८० वर्षीया वृद्धा देवीमाया बुढाथोकी र उनका ५१ वर्षीय छोरा शेरबहादुर बुढाथोकीको हो । यस्तै कोठामा बाख्रा बाँध्ने ठाउँमा जीवन बिताउँदै आएका छन् । उनीहरूको दुख सुखका साथी ती बाख्रा भएका छन् । त्यही बाख्रा बाँध्ने खोर उनीहरूको लागि आलिसान महल भएको छ ।सायदै पूर्वको विकट ठाँउ पाँचथरको कुम्मायक गाउँपालिका–१ स्थित बुढाथोकी बस्ती भएकै कारण यी आमा छोरा राज्यको नजरमा नपरेको होला । सिंहदरबार गाउँमै आएका बेला त्यहाँका वडाका जनप्रतिनीधिहरूले समेत नदेख्नु विडम्बना हो । सिंहदरबार गाउँमा आएको सायदै यी दुई आमा छोरालाई भेउ छैन । त्यो बाख्राको खोरबाट फुत्त निस्किएर बाहिर आउने उनीहरूमा न हैसिय नै न हिक्मत नै छ। सरकारले ७० वर्ष पुगेपछि ज्येष्ठ नागरिकता दिँदै आएको छ । तर, यी देवीमाया ८० वर्ष पुग्दासमेत राज्यले आफ्नो नागरिक बनाउन सकेको छैन । स्थानीय तहमा सरकार बनेको अढाई वर्ष काटेको छ । यी वृद्धालाई नागरिकता बनाइ दिन स्थानीय जनप्रतिनिधिले अझै भेउ पाएनन् ।

८० र ५१ वर्षका यी आमा छोरा अनागरिक जीवन बिताइरहँदा दुई तिहाईको सरकारलाई गिज्याइरहेको भान हुन्छ । सायदै यी आमा छोरा कुनै दलका कार्यकर्ता परेनन् की ? होइन भने ८० वर्षको उमेर पुग्दासमेत नागरिकता किन पाएनन् ? नागरिकताविहीन यि अनागरिकलाई राज्यको सेवा सुविधा पाउनबाट वञ्चित गराउने दोष त्यहाँका स्थानीय जनप्रतिनिधिमा जान्छ । बाख्राको खोरमा रात गुजार्दै मागेर जीविकोपार्जन गर्ने यी आमा छोराको व्यवस्थापन गर्ने दायित्वबाट स्थानीय सरकार पन्छिनु हँुदैन । गरिब, विपन्न, असक्तहरूका लागि लोकप्रिय योजनाहरू ल्याएको नेकपाको सरकार भएका बेला यस्तो अवस्थामा जनता हुनु किमार्थ उचित होइन । जमिन ओच्छाएर आकाश ओडेर जीवन बिताउने यस्ता परिवारलाई राज्यले उचित व्यवस्थापन गर्नु पर्दछ । मुलुकका नागरिक समृृद्ध नभई देश समृद्ध हुँदैन भन्ने कुरा राज्यले हेक्का राख्नुपर्दछ । पशुसरह जीवन बिताइरहेका यी आमा छोराको नागरिकता र हेरचाहको तत्काल व्यवस्थापन गर्नुपर्दछ ।