ब्लाष्ट डेस्क / सुख्खायामसँगै आगलागी हुने सिजन शुरु भएको छ । आगलागीले बर्सेनि लाखौंको धनमाल क्षति हुने गरेको छ । बढी आवादी भएका सुनसरी, मोरङ र झापामै सबैभन्दा बढी आगलागीका घटना हुने गरेका छन् । तर आगलागी नियन्त्रण गर्ने संयन्त्र, दमकल, दक्ष जनशक्तिको भने अभाव छ । उपत्यकाबाहेक मुलुकमै सबैभन्दा बढी बसोबास र घरधुरी सङ्ख्या रहेका जिल्लाहरू पनि सुनसरी, मोरङ र झापा नै हुन् । स्थानीय तहमा आगलागी नियन्त्रण गर्ने दमकल र जनशक्तिको अवस्था हेर्दा तीनवटै जिल्ला ‘भगवान भरोसा’ मा रहेका छन् ।
खर र नलले छाएका घर बढी भएका गाउँघरमा आगोसँग लापरबाही गर्दा आगलागी हुने गरेका छन् । शहरी क्षेत्रमा विद्युत् सर्ट, ग्यास सिलिण्डर लिक भएर वा पड्किएर आगलागी हुने गरेको छ । आगलागी भएपछि धनमालको क्षति कम गर्न चाहिने दमकल (बारुण यन्त्र) र जनशक्ति भने कम र व्यवस्थित नभएको स्थानीय बासिन्दाले विकल्प खोज्न सकेका छैनन् ।
जनघनत्वअनुसार हरेक स्थानीय तहले दमकल र अग्निनियन्त्रक जनशक्ति चौबीसै घण्टा तयारी अवस्थामा राख्नुपर्नेमा त्यसो गर्नतिर ध्यान दिएको पाइँदैन । बरु जनप्रतिनिधिहरू आफूलाई चाहिने महँगा सवारी साधन खरिद गर्न लालायित देखिएका छन् । एउटा दमकलको मूल्य करिब ४५ लाख रुपैयाँ देखि ५५ लाख रुपैयाँ पर्छ ।
मोरङका चार स्थानीय तहमा मात्र दमकल
१७ वटा स्थानीय तह रहेको मोरङका अधिकांश स्थानीय तहमा दमकल (बारूण यन्त्र) छैन । कुनै ठूलो आगलागी भए तत्काल नियन्त्रण गर्न दमकल नभएको पाइएको हो । विराटनगर महानगरपालिका, सुन्दरहरैंचा नगरपालिका, बेलबारी नगरपालिका र रङ्गेली नगरपालिकसँग मात्र दमकल रहेका छन् ।
विराटनगर महानगरपालिकामा चारवटा दमकलमध्ये एउटा बिग्रिएर दुई वर्षदेखि थन्किएको छ । भएको अर्काे एउटाले पानी मात्र तान्ने गर्दछ । एफबी ८ र एफबी ९ दमकल चालू अवस्थामा रहेको बारूण यन्त्र इञ्चार्ज भोला पौडेलले जानकारी दिए । उनले भने, ‘कहीँ आगलागी भए अहिले सञ्चालनमा आएका यिनै २ वटा दमकल जिल्लाभरि पुग्ने गरेका छन् ।’ विराटनगर बारूण यन्त्रमा पर्याप्त जनशक्ति नभएको उनले बताए ।
बारुण यन्त्र विभागमा २९ जनाको दरबन्दी भए पनि अहिले १५ जनामात्र छन् । पाँच जना चालक, ४ कमाण्डर र २० जना फायर मेनको दरबन्दी भए पनि हाल चारजना चालक, २ जना कमाण्डर र ९ जना फायर मेन रहेका छन् । पर्याप्त जनशक्ति अभावले काम गर्न समस्या आउने गरेको उनीहरूको भनाइ छ । पानी बोकेर घटनास्थलमा पुग्दा चालक र कमाण्डरसहित कम्तीमा आठ जनाको टिमको आवश्यक परे पनि अहिले भएको जनशक्तिले जेनतेन काम गर्दै आएको उनले बताए ।
मोरङको धनपालथान गाउँपालिकामा पनि दमकल छैन । यहाँ कुनै आगलागी भए विराटनगर र छिमेकी रङ्गेली नगरपालिकाबाट दमकल बोलाउने गरेको प्रशासकीय अधिकृत मनोजकुमार साहले बताए । अति आवश्यक पर्ने दमकल राख्न गाउँपालिकाले कुनै योजना बनाएको छैन । प्रशासकीय अधिकृत साहले भने, ‘दमकल र यसका लागि जनशक्ति राख्न धेरै खिर्चलो हुने भएकोले अहिलेसम्म दमकल राख्न योजना बनाएको छैन ।’ धनपालथान मात्र होइन, मोरङका अन्य स्थानीय तहहरू कानेपोखरी, जहदा, कटहरी, केराबारी, ग्रामथान, मिक्लाजुङ र बूढीगङ्गासहित आठवटा गाउँपालिका र रतुवामाई, उर्लाबारी, सुनवर्षी, लेटाङ र पथरीशनिश्चरे गरी पाँचवटा नगरपालिकामा दमकल नै छैन ।
सुनसरीमा नौ वटामात्र दमकल
सुनसरीका १२ स्थानीय तहमध्ये धरान उपमहानगरपालिकासँग चार, इटहरी उपमहानगरपालिकासँग २, इनरुवा नगरपालिका, वराहक्षेत्र, दुहबीसँग एक–एकवटा दमकल रहेका छन् । पूर्वमा पहिलो पटक दमकल प्रयोग गर्ने धरानसँग भएकामध्ये एउटामात्र नयाँ हो । बाँकी दमकलले २० वर्षे आयु काटिसकेका छन् । धरान उपमहानगरपालिकामा बारुण यन्त्र विभागमा १५ जना जनशक्ति रहेका छन् ।
बारुणयन्त्र विभागमा कार्यरत धरान उपमहानगरका सुवेदार रामबहादुर कार्कीले जिल्लाका स्थानीय तहमा दमकल अभाव भएकाले करिब १० हजार रुपैयाँ पर्ने अग्नि नियन्त्रण उपकरण स्टिङ्वीसर किनेर घरैमा राख्न सके आगलागीबाट हुन सक्ने ठूलो क्षतिबाट धनमाल जोगाउन सकिने बताए ।
वराहक्षेत्र नगरपालिकासँग गतवर्ष खरिद गरेको तीन हजार लिटर क्षमताको एउटामात्र दमकल रहेको नगरप्रमुख निलम खनालले बताए । वराहक्षेत्रमा बारुणयन्त्र शाखामा ७ जना जनशक्ति रहेका छन् । यसैगरी दुहबी नगरपालिकासँग दुई वर्षअघि किनेको एउटामात्र दमकल छ । नगरप्रमुख वेदनारायण गच्छदारले बजेट नभएकाले अर्को थप्न नसकिएको बताए । अग्नि नियन्त्रकका रूपमा ८ जनाको जनशक्ति दुहबी नगरपालिकामा रहेको प्रमुख गच्छदारले बताए ।
धरानका अग्नि नियन्त्रक रामबहादुर कार्कीका अनुसार सामान्य अवस्थामा यस्ता अग्निनियन्त्रण उपकरणले आगो निभाउन सकिन्छ । उनले भने, ‘स्टिङ्वीसर प्रयोग गर्दै थप मद्दतका लागि तत्काल दमकल बोलाउन सकिन्छ । तर त्यसका लागि जनचेतना फैलाउनु पर्छ ।’ कतिपय शहरका ठूला–ठूला भवन, अफिस, अस्पताल, बैङ्कहरूमा अग्निनियन्त्रण उपकरण भित्तामा राखिएका हुन्छन् । जिल्लामा भएका दमकलहरू पनि दुई तलाभन्दा अग्लो घर तथा भवनमा आगलागी भए पानीको फोहरा दिन नसक्नेखालका मात्र छन् ।
बढ्दो शहरीकरणसँगै बहुतले घर तथा भवन निर्माण भइरहेको अवस्थामा लिफ्ट भएको दमकलको जरुरी भइसकेको धरानका अग्नि नियन्त्रक देवल राईले बताए । उनले भने, ‘पाँच तला वा सात तला अग्लो घर तथा भवनमा आगलागी भए हामीसँग भएको दमकलले काम गर्न सक्दैन । यो विषयमा पनि स्थानीय सरकार, प्रदेश र सङ्घीय सरकारको ध्यान जानु जरुरी छ ।’ दमकल आकस्मिकको पनि ‘अति आकस्मिक’ सेवामा प्रयोग गरिने साधन भए पनि जिल्लाको रामधुनी नगरपालिका, बर्जु, हरिनगरा, गढी, भोक्राहा, कोशी र देवानगञ्ज गरी सात स्थानीय तहमा एउटा पनि दमकल छैन ।
झापामा ६ वटामात्र
झापाको आठ नगरपालिकासहित १५ स्थानीय तहमध्ये मेचीनगर, भद्रपुर, बिर्तामोड, गौरादह नगरपालिकासँगमात्र एक–एक वटा र दमक नगरपालिकासँग मात्र २ वटा दमकल रहेको छ । अन्य स्थानीय तहमा दमकल नरहेको पाइएको छ । दमकल नभएका नगरपालिकाहरूमा अर्जुनधारा, कन्काई, शिवसताक्षी र गाउँपालिकाहरूमा कचनाकवल, कमल, गौरीगञ्ज, झापा, बाह्रदशी बुद्धशान्ति र हल्दिबारी रहेका छन् ।
दमकल भए पनि कहिले पानी भरेर तयारी नराखिनु, चालक भएर पनि फायर मेन नहुनु जस्ता समस्याप्रति स्थानीय तहका जनप्रतिनिधिहरूले ध्यान दिन सकेका छैनन् । दमकलका कर्मचारी सुरक्षाकर्मीजस्तो अलर्ट नरहने भएका कारण यस्ता समस्या आउने गरेको सरोकारवालाको भनाइ छ ।
झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले जिल्लाको बाह्रदशी गाउँपालिकालाई आगलागीको उच्च जोखिम भएको स्थानीय तहका रूपमा सूचीकृत गरिएको बताए । फुसको र कच्ची घरहरूको सङ्ख्या बढी भएको स्थानीय तह भएका कारण बाह्रदशी आगलागीको उच्च जोखिममा रहेको उनले बताए । उनले आगलागीको प्रकोप शुरु हुन लागेको हुनाले जिल्लास्थित विपद् व्यवस्थापन समितिको बैठक बसेर नियन्त्रणका लागि योजना बनाउन लागेको जानकारी दिए । प्रजिअ राना मगरले सामुदायिक वनमा हुन सक्ने डढेलो नियन्त्रणका लागि वन समितिसँग पनि समन्वय गरिने बताए ।
शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्माले दमकल उपलब्ध गराउन विपद् व्यवस्थापन विभागमा पत्राचार गरेको बताए । उनले भने, ‘यो वर्ष विभागले दमकल दिन्छ । दिएन भने आगामी वर्ष हामी आफै खरिद गर्छांै ।’ उनले नगरपालिकामा दमकल नभए पनि आगो नियन्त्रणका अन्य उपकरण तयारी अवस्थामा राखेको बताए ।
जिल्लाभरमा एउटा दमकल
पाँचथरमा आठवटा स्थानीय तह रहेका छन् । तर हालसम्म फिदिम नगरपालिकाले मात्र दमकल खरिद गरेको छ । सिङ्गो जिल्लामा एउटै मात्र दमकल हुँदा कतै आगलागी भइहाले आगो नियन्त्रण गर्न समस्या हुने गरेको छ । पहाडी भू–भाग भएकाले आगलागी भएको स्थानसम्म दमकल पुग्न ढिलाइ हुँदा ठूलो क्षति हुने गरेको सरोकारवाला बताउँछन् । जिल्लाको तुम्बेवा र कुम्मायक गाउँपालिका सुख्खाग्रस्त क्षेत्र हुन् । सुख्खा क्षेत्रमा आगलागीको जोखिम बढी हुने गर्दछ । सुख्खाग्रस्त क्षेत्रमै बारुणयन्त्र छैन ।
आगलागी नियन्त्रणका लागि उपकरण खरिदबारे अहिलेसम्म कुनै निर्णय नभएको कुम्मायक गाउँपालिकाका कार्यवाहक अध्यक्ष सीता आचार्यले बताइन् । विपद् न्यूनीकरणका लागि भने सचेतनामूलक कार्यक्रमहरू भइरहेको आचार्यको भनाइ छ । बर्सेनि आगलागीबाट क्षति हुँदै आएकाले बारुणयन्त्र खरिदका लागि गाउँपालिकाले सोच्नुपर्ने बेला आएको कुम्मायक–४ रानीगाउँका पदम सम्बाहाम्फेले बताए ।
(विराटनगरबाट अनिल श्रेष्ठ, बिर्तामोडबाट प्रेम आचार्य, पाँचथरबाट सन्देश सुब्बा)