हिजो मार्च ८ तारिख अर्थात् अन्तर्राष्ट्रिय नारी दिवस विश्वका मुलुकहरूले तामझामका साथ सभा उत्सव गरेर मनाउन पाएनन् । ३६४ दिन महिला निरन्तर हिंसाको सिकार भए पनि ८ मार्चका दिन भने हिंसामा परेका महिलाहरूको विषयमा सभा सेमिनारहरूमा चासो व्यक्त गरिन्छ । यो वर्ष पनि त्यही प्रवृत्तिले निरन्तरता पाउने सम्भावना प्रबल थियो । तर, यो वर्ष विश्वमा फैलिरहेको कोरोना भाइरसको त्रासले सरकारले नै उत्सव नगर्न भन्दै निर्देशन जारी गरेपछि सभा, सम्मेलन हुन सकेनन् । तर, केही स्थानमा भने ८ मार्चकै दिन महिलाहरू हिंसाको शिकारमा परे । प्रदेश ५ को कपिलबस्तुमा तेजाव प्रहार गरेर महिलालाई गम्भीर घाइते बनाइयो । अन्तर्राष्ट्रिय महिला दिवस मनाइरहँदा भएको यो घटनाले फेरि एक पटक महिला हिंसाको अवस्थालाई बाहिर ल्याइदियो । हाम्रो समाजमा अहिले पनि महिलामाथि कुनै न कुनै हिंसा भइरहेकै छन् । त्यो सानो रूपमा होस् या ठूलो रूपमा । यस्ता घटनाहरू जसरी निर्मूल भएर जानु पर्ने हो त्योअनुरूप हुन नसकेको यथार्थ हाम्रो सामु लुक्न सकेको छैन ।
उत्सवहरूको सट्टा हिजो नेपालमा भने कोरोनाको सचेतना पर्चाहरू बाँडेर श्रमिक महिला दिवस मनाइएको छ । विभिन्न महिलावादी सङ्घ, संस्थाहरूले विगत वर्षहरूजस्तै उत्सव गरेर मनाएनन् । घरघरमा कोरोना भाइरसबारे चेतनामूलक पर्चा पम्प्लेटहरू बाँडेर मनाएका छन् । विश्व स्वास्थ्य सङ्गठनले नेपाल कोरोनाको उच्च जोखिम भएको देशको रूपमा राखेपछि सरकारले पनि भेला, उत्सव, सेमिनार तथा भीडभाड नबढाउने निर्देशन जारी गरेको थियो । सोही कारण निर्धारित उत्सवका कार्यक्रमहरू स्थगित गरी जनचेतनामूलक कार्यक्रमहरू भए । सामाजिक सङ्घ, संस्थाहरूले गरेको यस्तो कार्य सराहनीय छ । आगामी वर्षहरूमा पनि उत्सव छाडेर महिलाहरूकै लागि सचेतना कार्यक्रम गर्नु उचित हुनेछ । त्यसतर्फ सङ्घ, संस्थाहरूले ध्यान पु¥याउनु वाञ्छनीय हुनेछ ।
वर्षमा एक पटक महिलाहरूको लागि उत्सव हुने गरेको छ । ती उत्सवमा सुकिलामुकिला महिलाहरू भाषण गर्छन् । महिलाहरूको मुक्तिका कुरा गर्छन् । त्यो मुक्ति केवल भाषणमा मात्र सीमित हुन्छन् । यो सीमितता कसरी प्रमाणित गरेको छ भने महिलाको नाममा उत्सव भेला गरे पनि घरेलु हिंसा, लैङ्गिक हिंसा, महिलामाथि हुने यातनाको अङ्क गणित ज्यामितीय दरमा बढ्दो छ । महिलामाथि हुने हिंसा न्यूनीकरण गर्न अब उत्सव भेला होइन, आ–आफ्नो घरबाट प्रतिबद्धता जनाउँदै सचेतना कार्यक्रम गर्नु जरुरी छ । यो वर्ष गरिएको कोरोना सचेतना जस्तै सामाजिक सङ्घ, संस्थाहरूले महिला हिंसाविरुद्ध वर्षभरि नै सचेतना कार्यक्रम गर्नुपर्दछ । सरकारले पनि आधा आकाश ढाकेका महिलाहरूलाई समानता र न्यायका लागि संविधानमा दिएको मौलिक अधिकारलाई अवसरका रूपमा प्रदान गर्नु अधिकार र अवसरको सृजना गर्नु वाञ्छनीय हुनेछ ।