एक महिना अघि नै विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले चीनमा कोरोना भाइरसको सङ्क्रमण फैलने बितिकै विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको थियो । कुनै पनि विष्यमा गम्भीर भएर लाग्न वा सबै संयन्त्र परिचालनका लागि आपतकाल घोषणा गरिन्छ । विश्व स्वास्थ्य सङ्गठनले विश्वलाई गम्भीर हुने एक महिना अघि नै सङ्केत गरिसेको थियो । तर, विश्व स्वास्थ्य सङ्गठनको यो अपिललाई चीनबाहेक विश्वका देशहरूले तत्काल सचेतना अपनाएको पाइएन । जसका कारण कोरोना त्रास विश्वभरि फैलिएको छ । कमजोर स्वास्थ्य प्रणाली भएका देशहरूमा यसको प्रकोप महामारीका रूपमा फैलिन सक्ने चेतावनी एक मिहना अघि नै पाए पनि त्यस्ता अल्पविकसित तथा विकसित मुलुकहरू गम्भीर नहुनु विडम्बना हो ।

यो भाइरस चीनबाहिर विश्वभर नै फैलिसकेको छ । कमजोर स्वास्थ्य प्रणाली भएका मुलुकमा फैलिएमा अवस्था झन् भयावह हुन सक्ने चिन्ता विश्व स्वास्थ्य सङ्गठनलाई एक महिना अघि नै भए पनि सम्बन्धित मुलुकहरूमा भने चिन्ता नहुनु त्यस देशका लागि विडम्बना हो । पछिल्लो समय डब्लुएचओले नेपाललाई उच्च जोखिममा राखेको छ । नेपाल चारैतिर खुल्ला सिमाना भएको मुलुक हो । झन् भाइरसको उद्गम स्थल चीनको छिमेकी मुलुक पनि भएकाले त्यसै पनि नेपाल उच्च जोखिमको मुलुकमा पर्दछ । डब्लुएचओलाई नेपालको विषयमा जस्तो चिन्ता छ, त्यस्तो चिन्ता नेपालका शासकलाई नहुनुले नेपालीहरू यो भाइरसको खतरामा छन् । रोकथाम तथा सचेतनाका कार्यक्रम गर्न सरकार ढिलाइ गरिरहेको छ । राज्यको तह–तप्काका व्यक्तिले यसलाई गम्भीरताका साथ नलिए नेपालको स्थिति भयाभह नहोला भन्न सकिदैन।

नेपाल जुनसुकै कुरामा तयारीमा ढिलाइ हुने गरेको छ । रोग लागेर औषधि खानु भन्दा रोग नै लाग्न नदिनु भन्ने उक्ति नेपाली शासकले बुझ्न सकेका छैनन् । रोग लागे पछि मात्र नेपालीहरू उपचारको खोजीमा हिँड्ने बानी लागेको छ । कोरोना भाइरसको पनि सङ्क्रमणको फैलावट पर्खेर नेपाल बसिरहेको अवस्था हो । स्रोत र साधान भए पनि सचेतना नअपनाउनु भनेको काल पर्खनुभन्दा अरू केही होइन । सरकारले कोरोनाको विषयमा सचेतनाको कार्यक्रम घोषणा त ग¥यो तर यो निकै ढिलो भएको छ । प्रदेश १ सरकारका स्वास्थ्यमन्त्री जीवन घिमिरेले केही दिन अघिदेखि मात्र कोरोनाबारे चासो देखाउन थालेका छन् । यस अघि सरकारका मन्त्रीहरू बढिजसो रिवन काट्नमा नै व्यस्त हुने गरेका थिए । सरकारले पछिल्लो समय गरेको काम ‘सङ्क्रमण अघि अघि तयारी पछि पछि’ जस्तो भएको छ । यो सङ्क्रमण नेपालमा फैलने हो भने स्थिति भयाभह हुने कुरालाई मध्य नजर गरेर सरकारले अन्तर्राष्ट्रिय उडान एक महिनासम्म सिल गर्नुपर्छ । चारैतिरका नाकामा कडाइ गरी एक महिनासम्म आवतजावत भीडभाड ठप्प पारी नेपाललाई सुरक्षित गर्न सकिन्छ । त्यसबीचमा आउने समस्याको पूर्व तयारी गर्न सरकारले नागरिकलाई आह्वान गर्न ढिलाइ गर्नु हुँदैन । सचेत नागरिकले पनि जाने बुझेसम्म सुरक्षा उपाय अवलम्बन गर्न बेवास्ता गर्नु हुँदैन । होइन भने नेपाली नागरिकले अनाहकमा मृत्यु रोज्नुभन्दा अरू विकल्प छैन ।