सङ्खुवासभाको सिलिचोङ गाउँपालिकामा सय वर्ष पुरानो बौद्ध स्तूपा फागुन ११ गते तोडफोड गरियो । तोडफोड भएको भोलिपल्टै त्यहाँभित्रका पुरातात्विक धातुहरू चोरी भएको खबर बाहिरिएको छ । स्तूपाको सुरक्षार्थ सिसुवाटारको प्रहरी चौकीको टोली नै खटिएको थियो । चौकीबाट दुई जना स्तूपाको सुरक्षार्थ प्रहरी खटिएका थिए । तोडफोड भएको भोलिपल्टै स्तुपाका पुराताŒिवक सम्पदाका सामग्रीहरू हराउनुले हाम्रो सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न तेर्सिएका छन् । प्रहरीले निगरानी गरिरहेको स्थलबाट चोरी हुनुले हाम्रो सुरक्षा व्यवस्था कति सबल र चुस्त छ भन्नेतर्फ इङ्गित गरेको छ । यसले गम्भीर आशङ्काहरू जन्माएको छ । स्थानीयले प्रहरीमा अनुसन्धानका लागि उजुरी दिँदासमेत सुनुवाइ नभएको जुन गुनासो छ, त्यसले पनि प्रहरीको कामकारबाहीप्रति शङ्का उब्जाएको छ ।
हाम्रा पुरातात्विक महच्वका वस्तुहरू चोरी भएको यो घटना पहिलो भने होइन । पुरातात्विक सम्पदाका वस्तुहरू राणाकाल तथा त्यसपछिका कालखण्डमा थुप्रै पटक चोरिएका र हराएका घटना सार्वजनिक भएकै हुन् । यस्ता ऐतिहासिक सम्पदाका वस्तुहरूको चोरीमा राज परिवार नै संलग्न थिए भनेर बारम्बार समाचारहरू सार्वजनिक भएको हामीले भुल्नु हुँदैन । यहाँका सम्पदाहरू विभिन्न देशका सङ्ग्रहालय तथा त्यस्ता केन्द्रहरूमा भेटिएको खबर पनि बाहिरिँदै आइरहेकै छ । काठमाडौं उपत्यका भित्रैबाट पनि थुप्रै पुराताŒिवक सम्पदाका वस्तुहरू चोरी भएको कयौं उदाहरणहरू छन् । सिलिचोङको स्तूपाको चोरीको घटना नौलो होइन । तर, प्रहरीकै अगाडि चोरी हुनु भनेको चाहिँ नौलो नै मान्नुपर्छ । निगरानी भइरहेको अवस्थामा चोरी हुनुले सुरक्षा व्यवस्थामाथि नै गम्भीर प्रश्न खडा गरेको छ । हाम्रो सुरक्षा व्यवस्था यति फितलो छ त ? भन्ने प्रश्न आममानिसमा उब्जिनुलाई नौलो मान्नु हुँदैन । वि.सं. १९९७ सालमा स्थापना भएको शताब्दीको हाराहारीमा पुग्न लागेको स्तूपाका महŒवपूर्ण सामग्री चोरी हुनु गम्भीर विषय हो ।
त्यहाँ वर्षौं पुराना मुद्रा, सुन–चाँदी, तामालगायतका धातुहरू रहेका थिए । ती वस्तुहरू हाम्रा सम्पत्तिहरू हुन् । मौलिक वस्तुहरू हुन् । ऐतिहासिक मूल्यमान्यतासँग जोडिएका यस्ता वस्तुहरूको चोरी हुनुलाई सामान्य रूपमा लिइनु हुन्न । अझ प्रहरीको निगरानीमा हुँदाहुँदै चोरी हुनुलाई पनि झनै सामान्य मान्नु हुँदैन । ती प्रहरी पनि अनुसन्धानको दायरामा आउनुपर्छ । पुराताŒिवक सम्पदाका वस्तुहरू जसरी विदेशिने गरेका छन्, त्यस्ता गिरोहको पनि खोजी हुन जरुरी छ । हाम्रा सम्पदाहरू विदेशीका सङ्ग्राहलयमा हुनु सामान्य विषय होइन । यी हाम्रो देशको परिचायक पनि हुन् । हाम्रा ऐतिहासिक धातुहरूको खोजीमा राज्य पनि गम्भीर बन्नुपर्छ । राज्यले यस्ता पुरातात्विक महत्वका चिजहरूमा हुने गरेको घटनामा गम्भीर भएर अनुसन्धानका लागि सम्बन्धित निकायलाई निर्देशन दिनुपर्छ । हाम्रो सम्पत्ति जोगाउने जिम्मा हाम्रै हो । देश समृद्ध बनाउन बाटोघाटो, र विकासले मात्रै सम्भव छैन । त्यसका लागि हाम्रा ऐतिहासिक पहिचान र चिनारीहरूलाई पनि जीवन्त राखिनुपर्छ ।