सोनुदेवी सदा अहिले १७ वर्षकी भइन् । तर, उनको काखमा डेढ वर्षको छोरी छ भने गर्भमा आठ महिनाको बच्चा । विवाहको सामाजिक र पारिवारिक अर्थ र महŒव बुझ्न नपाई १३÷१४ वर्षको उमेरमा विवाह गरेकी सुनसरीको कोशी गाउँपालिकाकी सोनु सदाको हातमा कापी किताब हुनुपर्ने हो तर उनी गृहिणी बनेकी छिन् । सोनु जस्तै १३ वर्षको उमेरमा बालविवाह गरेकी १६ वर्षीया अनन्दीदेवी ऋषिदेव दुई वर्षीय छोराको आमा बनिसकेकी छिन् । उनका साथी केली सदाको डेढ वर्षीया छोरी र एक महिने दुधे छोरा छन् । किनारीकृत वा सिमान्तीकृत मानिएको समुदायमा बालविवाहको चलनले कतिसम्म जरा गाडेको छ भन्ने यो ताजा उदाहरण हो । तथ्याङ्क हेर्ने हो भने नेपालमा २०६८ सालको जनगणना अनुसार १ लाख ३८ हजार १५ जनाले १० वर्ष नपुग्दै विवाह गर्ने गरेका छन् । झन् १० वर्ष उमेर नपुग्दै विहे गर्नेमा १ लाख १५ हजार १ सय ५० महिला छन् । तर पुरुषको सङ्ख्या जम्मा २२ हजार ८ सय ६५ मात्र छ । यसको अर्थ बालिकाको उमेरको दाँजोमा उमेर पुगेका पुरुषले कलिला किशोरी वा कालिकासँग विवाह गरेका छन् भन्ने देखिन्छ ।
तथ्याङ्कले बालक भन्दा बालिकाको विहेको अनुपात करिब पाँच गुणा बढी देखाउँछ । १० वर्षदेखि १४ वर्षको उमेर समूहमा १३ लाख ६३ हजार १ सय ७ जनाले विवाह गरेका छन् । यसमा पनि ११ लाख १ हजार ८ सय ८५ महिला छन् तर पुरुषको सङ्ख्या २ लाख ६१ हजार २ सय २३ जना मात्र छन् । १५ देखि १९ वर्ष उमेर समूह हेर्ने हो भने ४३ लाख ४० हजार ४ सय ९७ जना महिलाको विहे भएको छ । यो उमेर समूहमा पुरुषको सङ्ख्या २१ लख ७६ हजार ७ सय ८४ मात्र रहेको छ । उमेर समूह अनुसार पुरुषको उमेर बढ्दै गएको अवस्थामा भने विवाह गर्नेहरूको सङ्ख्यामा पुरुष धेरै र महिला कम देखिएका छन् । नेपाली समाजमा बालविवाह कानूनी रूपमै बन्देज लगाइएको छ । तर, किन समाजमा अझै पनि किन भइरहेछ बाल विवाह ? यसको उत्तर खोज्न अनुसन्धान नै गर्नु जरुरी छ । सामाजिक, सांस्कृतिक, धार्मिक चलनले बालविवाहलाई प्रश्रय दिँदै आएको छ । नेपालमा देखिएको बालविवाहको प्रश्रयले बाल अधिकारसम्बन्धी नेपालले बनाएका राष्ट्रिय कानून र अन्तर्राष्ट्रिय सन्धि महासन्धिमा जनाएको प्रतिबद्धता कागजी खोस्टा सावित भएका छन् । कानून भए पनि कार्यान्वयन हुन सकेको देखिदैन । रजस्वला नै नभएको अवस्थामा बालिकाको विवाह गरिदिने अभिभावक र विवाह गर्न तम्सिने वयस्क पुरुष आधुनिक कानूनी परिवेशमा अपराधी हुन् ।
यसमा गरिबीले भन्दा अशिक्षा र चेतनाको कमिले बढी भूमिका खेलेको छ । उमेर नपुग्दै कुनै पनि बालिका आमा बन्न्न पुग्दा तिनको शारीरिक, मानसिक स्वास्थ्यमा अनेक समस्या आउँछन् । आमा र बच्चाको मृत्यु दर बढ्छ । बाल विवाहका कारण महिलाको स्वास्थ्यमा गम्भीर असर पर्ने त छँदैछ भविष्यमा पारिवारिक समस्या पनि आउँछ । बालविवाहले बालबालिकाको शारीरिक मानसिक र संवेगात्मक विकासमा असर त पर्ने नै भयो, उसले सिक्ने, अध्ययन गर्ने, समाज र परिवार बुझ्ने बेलामा बालगृहिणी बन्दा चेतनाको आयाम सञ्कुचित हुन पुग्छ । विवाह गर्नु भनेको यौन सम्बन्धको आधिकारिकता वा वैधानिकतालाई समाज र परिवारले स्वीकृत गर्नु पनि हो । बालविवाह गरेर यौन सम्बन्ध कायम राख्दा शारीरिक स्वास्थ्य चेतनाको अभावले यौन रोग सङ्क्रमणको चपेटा पर्छन् । सरदर १० देखि १४ वर्षमा बालिकाको रजस्वला शुरु हुन्छ । रजस्वला हुनु भनेको गर्भाधान हुन सक्नु हो । किशोरवयमा यौन सम्पर्क गरेपछि चेतना अभावकै कारण गर्भवती हुने, त्यसपछि जन्मेको बच्चा रोगी हुने, आमा पनि शारीरिक र मानसिक रूपमा कमजोर हुने पाठेघर खस्ने, पाठेघरको क्यान्सर हुने जस्ता समस्या पनि भोग्नु पर्छ । बालविवाह रोक्नका लागि अन्तर्राष्ट्रिय सन्धि महासन्धिमा देखावटी हस्ताक्षर गरेर मात्र पुग्दैन । कडा कानून बनाएर मात्र पनि हुँदैन । ती सन्धिका बँुदालाई, आफैले बनाएका संविधानका धारालाई, कानूनका दफाहरूलाई व्यावहारिक रूपमा लागु गर्न समाजमा चेतना फैलाउनु जरुरी छ ।