धरान/ धरानमा जारी औद्योगिक व्यापार मेलामा ‘पहिलो स्कुल डान्स आइडल’ शुरु भएको छ ।

धरानका विभिन्न विद्यालयमा कक्षा ५ देखि १० सम्म अध्ययन गर्ने विद्यार्थीहरूबीच प्रतिस्पर्धा हुने डान्स आइडलको शनिबार सम्पन्न पहिलो अडिसनमा २८ विद्यार्थी सहभागी थिए ।

उनीहरूको प्रस्तुति तथा भेषभूषाको आधारमा १५ जना छानिएका छन् । छानिएकाहरूमा सिद्धिका राई, सञ्जल राई, रिञ्छिन गुरुङ, प्रज्वल राई, स्वेता राई, डिना लिम्बू, करिस्ता राई, इशान विक, तोषी सुनुवार, रिश्ता याक्खा, सोनिया राई, आस्था अर्याल, रोहण मगर, विनिषा राई र बिमस पौडेल रहेका छन् । कार्यक्रमको प्रमुख निर्णायकमा नृत्य निर्देशक निका मोक्तान रहेकी छन् ।

यही फागुन २३ गतेभित्रमा विभिन्न चरणको कार्यक्रम गर्दै उत्कृष्ट १०, उत्कृष्ट ५ गरी अन्त्यमा विजेताको घोषणा गरिनेछ । मन परेका प्रतियोगीहरूलाई भोट दिन मेला आयोजनास्थलमा प्रवेश टिकटमा राखिएको फारमबाट भोट दिने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ भने निर्णायकको भूमिका पनि महŒवपूर्ण हुने डान्स आइडल व्यवस्थापक युनाइटेड डान्स एकेडेमीका सञ्चालक सन्तोष तामाङले बताए ।

स्कुल डान्स आइडल २०७६ को विजेताले ५० हजार ५ सय ५१ रुपैयाँ, फस्ट रनर अपले २५ हजार ५ सय ५१ र सेकेण्ड रनर अपले १५ हजार ५ सय ५१ पुरस्कार पाउनेछन् । औद्योगिक व्यापार मेलामा केही नयाँपन दिने अभिप्रायले विद्यार्थीहरू समेटेर कार्यक्रम आयोजना गरिएको संयोजक शिवराज श्रेष्ठले बताए ।