बाबाको दुई पैसे जागिर
काला कोटे सरकारी
सपना पूरा भएन
मेरी आमाको
लाउने धोको तिलहरी
गायक तथा सङ्गीतकार उमेश रेग्मी पछिल्लो समय सङ्गीतकर्ममा सक्रिय बनिरहेका छन् । उनको सङ्गीतमा विश्व नेपालीको स्वर रहेको यो गीत सङ्गीतकार उमेशले नै लेखेका हुन् र सङ्गीत पनि उनकै हो ।
एउटा सामान्य परिवारका श्रीमान्–श्रीमतीको सामान्य सपनालाई छोराको नजरबाट हेरेर लेखिएको यो गीत भर्खरै मात्र गोत्र इण्टरटेन्मेण्टको युट्युब च्यानलबाट सार्वजनिक भएको हो । रङ्गकर्ममा जमेका कलाकारहरू विजय बराल र लुनिभा तुलाधरले अभिनय गरेको यो गीतको भिडियो हेर्नेहरूले मर्मस्पर्शी गीत भन्दै प्रतिक्रिया दिएका छन् । भिडियोमा निकिता भट्टराईले प्रतिक्रिया दिएकी छन्, ‘अति राम्रो शब्द, हजारौं मानिसको आफ्नै गीत । मर्म उसले बुझ्छ, जसले भोग्छ तर गीतले सबैलाई बुझाइदियो ।’
हुन त केही समययता उमेशले लगातार नयाँ गीतका भिडियो सार्वजनिक गरिरहेका छन् । उनी आफै गाउने, लेख्ने र सङ्गीत भर्ने क्षमता राख्छन् । तर पछिल्लो समय उनले सङ्गीत र शब्दमा जोड दिइरहेका छन् । केही महिनाअघि मात्र उनको नयाँ गीत ‘एक्का बास्सा मिस्सी’ को भिडियो बजारमा आएको थियो । जसमा उमेशको सङ्गीत अनि विश्व नेपाली र अञ्जु पन्तको स्वर थियो । शब्द मिलन रेग्मीले लेखेका थिए । गीतको भिडियोमा निराजन प्रधान, अलिसा शर्मा, सुनिल क्षेत्री, कविता नेपालीलगायतका कलाकारले अभिनय गरेका थिए ।
त्यसअघि उनले ‘वैशाख नि बित्यो’ बोलको अर्को भिडियो सार्वजनिक भएको थियो । जसमा विश्व नेपाली र मेलिना राईको स्वर रहेको थियो । यो गीतको भिडियोमा दिलिप रायमाझीले पनि अभिनय गरेका थिए । त्यसैगरी उमेशकै सङ्गीत र टीका प्रसाईंको स्वरमा रहेको गीत ‘मेरो याद’ को भिडियो पनि सार्वजनिक भएको थियो । यो गीतमा उमेशले पनि टीकालाई स्वरमा साथ दिएका थिए । यो गीतको भिडियोमा पनि निराजन प्रधान, अलिशा र सुनिल क्षेत्रीले अभिनय गरेका थिए ।
लामो समय धरानलाई कर्मक्षेत्र बनाएका उमेश हाल अमेरिकामा बस्छन् । अमेरिकाको व्यस्त जीवनशैलीमा पनि उनी भने सङ्गीत कर्ममा व्यस्त छन् । आफै राम्रा शब्द र मीठो सङ्गीत भर्ने उमेशले २०६५ सालमै गीत रेकर्ड गराएका थिए ।
उनले पहिले आफ्नै ठाउँको नाममा ‘सुनसरी इनरुवा’ एल्बम् निकालेका थिए । त्यो एल्बम्मा २ वटा गीत समावेश थिए । त्यसपछि उनले धरानमै ६ वटा गीतको एल्बम् ‘युमेश’ बजारमा ल्याए । अमेरिकाबाटै उनले ५ गीत समेटेर ‘मेरो याद’ एल्बम् पनि ल्याए ।
उनले हालसम्म डेढ दर्जन गीतमा शब्द, सङ्गीत र स्वर दिइसकेका छन् । उनले सङ्गीत मात्र भरेका गीतको सङ्ख्या पनि दर्जन बढी छ । उनको सङ्गीतमा वरिष्ठ गायक दीप श्रेष्ठदेखि अञ्जु पन्त, विश्व नेपाली, मेलिना राई, बानिका प्रधान, नवीन रनपालले स्वर दिएका छन् ।
त्यसबाहेक उमेशको सङ्गीतमा नवीन के भट्टराई, रामकृष्ण ढकाललगायत धेरै गायक गायिकाले स्वर भरिसकेका छन् ।
पछिल्लो समय बाबाको दुई पैसे जागिरबाट चर्चा कमाइरहेका उमेश सङ्गीतबाट टाढा हुन नसक्ने बताउँछन् । नेपालबाट टाढाको अमेरिकामा रहे पनि नेपाली गीत सङ्गीतको औधी माया लाग्ने बताउँदै उनी भन्छन्, ‘जहाँ पुगे पनि नेपाली भएरै चिनिन चाहन्छु ।’